पर्वत एमालेका उम्मेदवार निस्किए प्रचार अभियानमा, माझफाँट र हुवासवाट घरदैलो र भेला शुरु - News site from Nepal

पर्वत – आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको प्रचारप्रसारका लागि नेकपा एमालेका उम्मेदवारहरु मंगलवारवाट गाउँ छिरेका छन् ।
एक प्रतिनिधि सभा र दुई प्रदेश सभा क्षेत्र रहेको पर्वतमा प्रतिनिधि सभा सदस्यका उम्मेदवार पदम गिरी र प्रदेश १ का उम्मेदवार भक्त कुँवरले जलजला गाउँपालिकाको माझफाँटवाट अभियान थाल्नुभएको छ । भने प्रदेश क्षेत्र २ का उम्ेमदवार मित्रलाल बस्यालले जन्मगाउँ पैंयु गाउँपालिकाको हुवासवाट अभियान शुरुवात गर्नुभएको हो । अभियान पूर्व मंगलवार विहान कुश्माको पार्टी कार्यालयमा तीनैजना उम्मेदवारको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै कात्तिक १८ गतेदेखि निर्वाचन आयोगले तोकेअनुसारका प्रचारप्रसारका कार्यक्रम गरिने र त्यस अघि घरदैलो तथा जनतासँग साक्षात्कारका लागि अभियान थालिएको निर्वाचन परिचालन कमिटिका संयोजक पदमपाणी शर्माले जानकारी दिनुभयो ।
सो अवसरमा बोल्दै प्रतिनिधि सभा सदस्यका उम्मेदवार पदम गिरीले आगामी निर्वाचनमा अघिल्लो पटक भन्दा बढि मतान्तरले बिजयी हुने उद्घोष गर्नुभयो । विगत पाँच वर्षको अवधिमा नेकपा एमाले नेतृत्वको साढे ३ बर्ष अवधिको सरकारले जिल्लामा थुप्रै विकास निर्माण र समृद्धिका लागि काम गरेको र कतिपय अधुरा रहेका योजनाहरुलाई पुरा गर्न पुनः चुनावी मैदानमा होमिएको बताउनुभयो । सडक कालोपत्रे, सिंचाई, खानेपानी, स्वास्थ्य, शिक्षा, मोटरवेल पुल लगायतका क्षेत्रमा असाधारण विकास भएको र अझै केहि कामहरुलाई पुणर्ता दिन बाँकी रहेको उहाँले बताउनुभयो । आगामी कार्यकालमा पर्वतको समृद्धिका लागि अझै सक्रिय भएर लाग्ने बताउँदै कालोपत्रे हुने बाँकी सडकहरु, सिंचित हुन बाँकी जमिन, धारा निर्माण गर्न बाँकी घरहरु, निर्माणाधिन अवस्थामा रहेका पुल, विद्यालय, अस्पतालहरुले पुन नेकपा एमालेकै नेतृत्वको सरकार खोजेको बताउनुभयो ।
सो अवसरमा उहाँले आफ्नो पाँच वर्षे कार्यकलमा भएका कामहरुको फेहरिस्त नागरिकसम्म बुझाउने पनि बताउनुभयो । एमाले केन्द्रीय सदस्य समेत रहनुभएका गिरीले गाउँमा विकासको मुल फुट्दै जाने तर नागरिकहरु रित्तिदै जाने अवस्था आउन थालेको भन्दै त्यसलाई रोक्ने आफ्नो पहिलो प्रयास हुने समेत बताउनुभयो ।
त्यसैगरी प्रदेश सभा क का उम्मेदवार भक्त कुँवरले आफ्नो उम्मेदवारीले पर्वतवासी नागरिक उत्साहित भएको बताउँदै जीत सुनिश्चित रहेको बताउनुभयो । उहाँले कृषि, पर्यटन, शिक्षा र स्वरोजगार मार्फत समृद्ध पर्वत बनाउने अठोटका साथ चुनावी मैदानमा होमिएको बताउँदै जिल्लाको समग्र विकासका लागि सुर्य चिन्हमा मत दिएर बिजयी गराउन आग्रह गर्नुभयो । उहाँले प्रदेश सरकारमार्फत आफुले पर्वतेली जनताले प्रत्यक्ष महसुस गर्नेगरी चौतर्फि विकासमा खटिने बताउनुभयो ।
कार्यक्रममा प्रदेश सभा ख का उम्मेदवार मित्रलाल बस्यालले हरेक सुविधाले भरिपुणर् भएपनि लामो समयदेखि क्षेत्र ख का नागरिकहरुले पिछडिएकै बस्तीको महसुस गरेको बताउँदै आफु उम्मेदवार बनेपछि त्यस क्षेत्रका नागरिक उत्साहित बनेको बताउनुभयो । उहाँले ग्रामीण सडकहरुलाई बाह्रैमास संचालन गर्न, गाउँमै गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा उपलव्ध गराउन र गाउँवाट बढ्दो नागरिकको पलायनदर रोकि समृद्ध नागरिक, समृद्ध परिवार, समृद्ध समाज र समृद्ध जिल्ला बनाउन आफु सक्रिय भएर लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!