पर्वत – मगर समुदायको कला संस्कृति र ऐतिहासिक परम्परालाई संरक्षण गर्नका लागि पर्वतमा मगर संग्राहलय निर्माण गर्न थालिएको छ ।
पर्वत सदरमुकाम कुश्माबजारको दुर्लुङचोक नजिकै मध्यपहाडी राजमार्गको आडैमा सङ्ग्राहलय बनाउन थालिएको हो । मगर समुदायको संलग्नतामा स्थापना भएको पुन युवा क्लबको नेतृत्वमा सङ्ग्रहालय निर्माणको काम थालिएको हो । संग्राहलय भवनको बुधवार कुश्मा नगरपालिकाका नगर प्रमुख रामचन्द्र जोशीले शिलान्यास गर्नुभएको छ ।
सङ्ग्राहलय निर्माण गर्नका लागि पुन क्लबले अघिल्ला दुई वर्ष लगातार दुई पटकसम्म मगर महोत्सवको आयोजना गरेको छ भने यस पटकको तिहारमा देउसी भैलो खेलेर रकम संकलन गरेको छ । सोहि रकम र बाँकी विभिन्न सहयोगदातावाट संकलन गरेर झण्डै रु.१ करोडको लागतमा निर्माण गरिने युवा क्लवका अध्यक्ष कृष्ण पुनले जानकारी दिनुभयो ।
मगर जातीको कला, कौशल, प्रवद्र्धन लगायत कुरामा नेतृत्वदायी भूमिका खेल्दै आएको पुन क्लबले आफूसँग भएको बजेटबाट भवन निर्माणको काम सुरु गरेको क्लबका अध्यक्ष पुनले बताउनुभयो । मगर समुदाय लगायत अन्य जनजातीका ऐतिहासिक तथा पुरातात्विक बस्तुहरुको नमुना संकलन, ऐतिहासिक पाठ्यपुस्तक, धर्म संस्कृति र भाषाको संरक्षण, कला संस्कृति, रितिरिवाज तथा चालचलन, मगर समुदायका खानाका परिकार लगायत सवैखाले कुराहरुलाई समेटेर नेपालकै नमुना सङ्ग्राहलय बनाउने तयारी भएको छ ।
मगर समुदायको नेतृत्वमा सङ्ग्राहलय निर्माण गर्न लागिएकाले मगर जातिका कुराहरू मात्रै त्यहाँ रहन्छन् भन्ने लाग्न सक्ने भए पनि त्यसो नहुने अध्यक्ष पुनको भनाई छ । पर्वतमा रहेका सबै जातजातिका भाषा, भेषभुसा, उनीहरूले प्रयोग गर्ने सामग्री, दैनिकी झल्किने चित्र लगायतका बस्तुहरु राख्ने गरी समेत तयारी गरिएको छ ।
पुन क्लबकै आयोजनामा भएका दुई वटा महोत्सवबाट बचत भएको र गत तिहारमा देउसी भैलो खेलेको गरेर जम्मा भएको रु.२५ लाख रुपैयाँबाट निर्माण गर्न थालिएको र काम सुरु गरेपछि बिस्तारै सहयोग आउनेमा आफूहरु आसावादी रहेको क्लबले जनाएको छ ।
कुश्मा नगरपालिकाका प्रमुख जोशीले मगर समुदायको नेतृत्वमा सङ्ग्रहालय बन्ने भए पनि सबै जातजातिका पुरातात्विक महत्व बोकेका तथा विशेष प्रकारका सामग्रीहरू रहने भएकाले जिल्लामा बन्न लागेको पहिलो सङ्ग्राहलय सबैको साझा हुने उहाँको भनाई छ । त्यसको निर्माणका लागि तत्कालका लागि नगरपालिकाबाट आवश्यक सहयोग गरिने पनि जोशीको भनाई छ ।
नगरपालिकाकी उपप्रमुख स्वस्थानी रिजालले ऐतिहासिक महत्वका बस्तुहरुको संरक्षणमा सङ्ग्राहलय महत्वपूणर् हुने बताउनुभयो । पुराना पुस्ताको रहनसहन र जीवन शैलीलाई पछिल्लो पुस्तामा सार्नको लागि पनि सङ्ग्राहलय महत्वपूणर् हुने उहाँको भनाई छ ।
क्लबसँग भएको रकमबाट मात्रै निर्माण प्रारम्भ गरिएकाले बजेट अभाव हुन सक्ने र त्यसले यही मितिमा निर्माणको काम पूरा हुन्छ भन्ने यकिन नभएको भवन निर्माण समितिका संयोजक गुमबहादुर पुनले बताउनुभयो । रकम अभाव हुन नदिन सरकारी निकायमा पहल गर्नेदेखि आफूहरूले फेरि पनि देउसी भैलो तथा मगर महोत्सवलाई निरन्तरता दिने उहाँको भनाई छ ।






