काठमाडौं : एमालेमा अध्यक्ष र महासचिवबाहेक पदाधिकारी नरहने भएका छन्। वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सबैलाई जिम्मेवारीबाट हटाइएको छ। प्रधानमन्त्री निवास बालुटारमा शुक्रबार बसेको बैठकले नेपालपक्षीय नेताहरूको जिम्मेवारी खोस्नेदेखि पार्टीमा आएका माओवादी केन्द्रका नेताहरूलाई जिम्मेवारी दिन विधान संशोधनको निर्णय गरेको हो।
बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीनिकट केन्द्रीय सदस्य सहभागी थिए। प्रधानमन्त्री ओलीले नवौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी हटाएर अध्यक्ष र महासचिव पद मात्र कायम गर्ने निर्णय बैठकमा सुनाएको जनाइएको छ।
‘पार्टी अध्यक्ष र महासचिव मात्र कायम राखेर महाधिवेशनमा जाने निर्णय भएको छ’, केन्द्रीय सदस्य खगराज अधिकारीले अन्नपूर्ण पोस्ट्सँग भने। बैठकले दसौं महाधिवेशन मंसिर २ देखि ६ गतेसम्म गर्ने निर्णय गरेको नेता अधिकारीले बताए।
अध्यक्ष ओलीले केन्द्रीय कमिटी बैठक भने चैत ७ गते बोलाएका छन्। तर, त्यसअगावै ओलीले आफू र महासचिवबाहेक पदाधिकारीको जिम्मेवारी हटाउनेदेखि आफूनिकट नेताहरूलाई महत्वपूर्ण जिम्मेवारी तोकेका हुन्। वरिष्ठ नेता नेपालले सम्हाल्दै आएको विदेश विभाग प्रमुखको जिम्मेवारी डा. राजन भट्टराईलाई दिइएको छ। प्रचार विभाग प्रमुख तथा प्रवक्ताको जिम्मेवारी प्रदीप ज्ञवालीलाई दिइएको छ। पूर्ववत् एमालेमा योगेश भट्टराईलाई यो जिम्मेवारी थियो।
स्कुल विभाग प्रमुखको जिम्मेवारी ओलीले लिएका छन्। संगठन विभाग प्रमुख विष्णु पौडेल, सम्पर्क कमिटी, कोष तथा आर्थिक विभाग प्रमुख छविलाल विश्वकर्मा, संसदीय विभाग प्रमुख सुवास नेम्बाङ, निर्वाचन विभाग प्रमुख विष्णु रिमाललाई बनाइएको छ।
यस्तै, प्रदेश इन्चार्जको जिम्मेवारी पनि हेरफेर गरिएको छ। प्रदेश १ मा सुवास नेम्बाङ, प्रदेश २ मा सत्यनारायण मण्डल, बागमती प्रदेशको इन्चार्ज रामबहादुर थापा, गण्डकीमा पृथ्वीसुब्बा गुरुङ, लुम्बिनीमा शंकर पोखरेल, कर्णालीमा यमलाल कँडेल र सुदूरपश्चिममा लेखराज भट्टलाई इन्चार्ज तोकिएको छ। पूर्ववत् एमालेमा प्रदेश १ मा भीम आचार्य, वागमतीमा अष्टलक्ष्मी शाक्य, कर्णालीमा युवराज ज्ञवाली र सुदूरपश्चिममा भीम रावल इन्चार्ज थिए। नेपालनिकट चारै जना इन्चार्जको जिम्मेवारी खोसिएको छ।
यस्तै बैठकले पार्टीका प्रदेश अध्यक्ष र सचिव पनि हेरफेर गरेको छ। प्रदेश १ अध्यक्षमा देवराज घिमिरे र सचिव विनोद ढकाल, प्रदेश २ अध्यक्षमा प्रभु साह र सचिव सुमन प्याकुरेल, बागमती अध्यक्षमा आनन्द पोखरेल र सचिव खेम लोहनी तोकिएका छन्। गण्डकी अध्यक्षमा जगत विश्वकर्मा र सचिव भूमि त्रिपाठी, लुम्बिनी अध्यक्षमा लीला गिरी र सचिव खेममान खड्का, कर्णाली अध्यक्षमा गुलाबजंग शाह र सचिव धर्मराज रेग्मी अनि सुदूरपश्चिम अध्यक्षमा कर्ण थापा र सचिव राजेन्द्रसिंह रावल तोकिएका छन्।
बैठकले माओवादीबाट आएका २३ जनालाई केन्द्रीय सदस्यको जिम्मेवारी दिएको छ। रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणिचन्द थापा, प्रभु साह, टंक आङबुहाङ, पासाङ शेर्पा, ज्वाला साह, टेकबहादुर बलामी, कमल जंग, मनोज थापा, विषमलाल अधिकारी, लीलाबहादुर थापा, दधिराम न्यौपाने, दिनेश पन्थी, नवीन रोका एमाले केन्द्रीय सदस्यमा थपिएका छन्। यस्तै, धर्मराज रेग्मी, डम्बर विष्ट, गौरीशंकर थारु, झपट बोहरा, गिरधरी लाल, दावा लामा र चन्द्रबहादुर खड्का पनि केन्द्रीय सदस्य थप गरिएको केन्द्रीय सदस्य खिमलाल भट्टराईले बताए।
ओलीले साविकको नेकपा विभाजित हुँदाका बखत आफ्नो पक्षले गरेका निर्णयलाई निरन्तरता दिने निर्णय बैठकमा सुनाएका थिए। ओलीले चैत ७ को बैठकमा वरिष्ठ नेताद्वय नेपाल, झलनाथ खनाललगायतलाई बोलाउन महासचिव ईश्वर पोखरेललाई निर्देशन दिएका छन्। पदाधिकारी खारेजदेखि महाधिवेशन तोक्नेसम्मका निर्णय गरेपछि ओलीले अर्को बैठकमा नेपाल, खनालसहितका केन्द्रीय सदस्यलाई बोलाउन निर्देशन दिएको एक नेताले बताए ।
नवौं महाधिवेशनबाट निर्वाचित एमाले पदाधिकारी
पार्टीको नवौं महाधिवेशनबाट अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्षमा विद्यादेवी भण्डारी, वामदेव गौतम, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र भीम रावल निर्वाचित भएका थिए। यस्तै, महासचिवमा ईश्वर पोखरेल, उपमहासचिवमा विष्णु पौडेल र घनश्याम भुसाल तथा सचिवमा पृथ्वीसुब्बा गुरुङ, प्रदीप ज्ञवाली, भीम आचार्य, योगेश भट्टराई र गोकर्ण विष्ट निर्वाचित भएका थिए। बैठकले प्रदेशमा मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव फिर्ता लिन पार्टीका सांसदलाई निर्देशन दिइएको छ।
नेपाल–खनालको असन्तुष्टि
एमाले नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले अध्यक्ष केपी शर्मा ओलीले एकलौटी र गुटगत निर्णय गरेको भन्दै त्यसलाई अस्वीकार गर्ने जनाएको छ। पार्टीको विधि विधान, पद्धति र नवौं महाधिवेशनको नीति निर्देशनविपरीत गुटको भेलाबाट ओलीले एकलौटी निर्णय गरेको भन्दै नेपाल–खनालले असन्तुष्टि जनाएका हुन्। उक्त पक्षले जिल्ला तहदेखि नै समानान्तर कमिटी बनाउने निर्णय गरेको छ।
‘एमालेलाई फुटाउने दुराशयबाट यो काम गरेको देखिन्छ’, नेपाल पक्षका स्थायी समिति सदस्यको आकस्मिक बैठकपछि नेता भीम रावलले भने, ‘एमालेका देशभरका नेता, कार्यकर्तालाई पार्टी एकताका पक्षमा सशक्त भूमिका खेल्न आह्वान गरेका छौँ। पार्टी एकता जोगाउन हामी प्रयत्नशील छौँ।’
अध्यक्ष ओलीले स्वेच्छाचारी, विधानविपरीत र नवौं महाधिवेशनको नीति–निर्देशनविपरीत गुटगत भेलाबाट एकपक्षीय निर्णय गरेको भन्दै त्यसलाई अस्वीकार गर्ने निर्णय आफ्नो पक्षले गरेको रावलले बताए। ‘सर्वोच्च अदालतको आदेशले जसरी केपी ओली एमाले हुनुभयो हामी पनि त्यसैगरी एमाले भयौँ’, रावलले भने, ‘एमाले विभाजित नहोस्, जनताका आकांक्षामाथि कुठाराघात नहोस् हामी एकताको पक्षमा लागेका छौँ।’ अर्का नेता रघुजी पन्तले अध्यक्ष ओलीले एमालेलाई विभाजनतर्फ लैजाने उद्देश्यले एकलौटी निर्णय गरेको आरोप लगाए। ‘ओलीजीले एमालेलाई विभाजन गर्न खोजेको भन्नेमा सबैको समान धारणा रह्यो’, नेता पन्तले भने, ‘आफूलाई इच्छा लागेको मान्छेको भेला गरेर गरिएका निर्णय हामी मान्दैनौँ।’
ओलीले पार्टीलाई विसर्जनतिर लगेको भन्दै जिल्ला तहदेखि नै समानान्तर कमिटी गठन गरिने निर्णय भएको नेपाल–खनाल पक्षका नेता बेदुराम भुसालले बताए। ‘चैत ४ गते राष्ट्रिय भेला गरेर पार्टी पुनःसंरचनाको अभियान सुरु हुन्छ’, नेता भुसालले भने।
अन्नपुर्णबाट