
-याम नारायण चापागाई
सन २०१९ डिसेम्बर ३१ मा चीनको वुहान शहरबाट फैलिएको कोभिड–१९ महामारीको चरम उत्कर्षमा पुगेको छ । चीन महामारीको दुष्चक्रबाट बिस्तारै बाहिर निस्कन प्रयासरत छ भने अमेरिका र युरोपका विकसित देशहरुमा कोरोना भाईरस भुसको आगोसरि फेैलिरहेको छ । अहिले सम्म दक्षिण एसियाली राष्ट्रहरु तुलनात्मक रुपमा कम प्रभावित देखिएका छन् तैपनि पछिल्लो क्रममा कोरोना भाईरस दिन दुगुना रात चौगुनाका दरले बृद्दि भैरहेको छ । विश्व स्वास्थ्य संगठनले त यस अघि नै कोरोना भाईरस बिस्तारै दक्षिण एसियातिर गैरहेको जनाएको थियो । कोरोना भाईरसको औषधि हालसम्म पत्ता नलागेको हुनाले यसको असर कहिले सम्म रहन्छ र विश्वबाट यो रोग कहिले निर्मुल भएर जान्छ भन्ने कुरा प्रकृतिकै गर्भमा निहित छ ।
कोरोनाको चपेटाले थलिएका यूरोपेली देश हुन वा सुरुवाती चरणमा रहेका एसियाली र अफ्रिकी देशहरु सबैको एकमात्र ध्यान कोरोना भाईरसको प्रकोपबाट आफ्नो देश र नागरिकहरु लाई कसरी बचाउने भन्नेमा केन्द्रित छ भने अमेरिका, चीन, बेलायत जस्ता शक्ति राष्ट्रहरु एन्टिडोट निर्माण गरि विश्व बजारमा आफ्नो पकड कायम गर्ने होडबाजीमा लागेका छन् । सुरुवाती अबस्था हेर्दा समाजबादी वा साम्यबादी शासन व्यवस्था अंगालेका देशहरु कम प्रभावित देखिएका छन् । चीनले कडा प्रतिबन्धका बाबजुत कोरोना भाईरसको फैलावटलाई नियन्त्रणमा राख्न सफल देखिएको छ । उत्तर कोरिया, भियतनाम, लाओस, क्यूवा जस्ता एकदलीय वा निरंकुश शासन व्यवस्था भएका देशहरु अहिले सम्म अति कम प्रभावित देखिएका छन् । तर पूजीबादी तथा उदार शासकीय व्यवस्था अपनाएका देशहरुमा कोरोना भाईरसले अड्डा जमाइरहेको छ । आर्थिक बिकासको चरम उत्कर्षमा रहेका राष्ट्रहरुलाई कोरोना भाइरसले भने नराम्ररी थला पारेको छ । हरेक दिन हजारौं मासिहरुका मृत्युका खबरहरु अब सामान्य हुन थालेका छन् । कोरोना भाईरसको प्रकोप समाप्त भएपछि पनि जनजीवन सामान्य बनाई आर्थिक विकासको मार्गमा अगाडि बढ्न कयौँ बर्ष लाग्न सक्छ ।
यहि कोरोना संक्रमणको मौका छोपेर नेपालका केहि स्वघोषित बुद्दिजिबी र बेरोजगार बनेका बिष्लेशकहरु पूंजीबादी र लोकतान्त्रिक शासन व्यबस्था असफल भएको भन्दै समाजबादी वा साम्यबादी व्यवस्थाको वकालत गरिरहेका छन् । केहि बेरोजगारहरु लाई लकडाउनमा दिन कटाउने स्वादिलो मसला मिलेको छ र त्यसैले इम्युनिटि पावर बढाइरहेका छन् । कम्युनिज्म लाई नै एकमात्र संजिबनी बुटी ठानिरहेका छन् । तर त्यहि एकदलीय निरङ्कुश शासन व्यवस्था अंगालेको चीनको असाबधानीका कारण कोरोना भाइरस फैलिएको भन्न चाहि डराउछन् बरु अमेरिकाले बनाएर चीनमा फैलाएको हाईपोथेटिकल तर्क गर्छन् । कोरोना भाइरस निरन्तर फैलिरहेको र यसको औषधि वा खोप बनि नसकेको हुनाले अहिले कम असर परेका देशहरु पनि निकट वा सुदूर भविष्यमा भयानक विपत्तिमा फँस्न सक्ने प्रबल संभावना छ । तसर्थ अहिले नै कोरोना संक्रमण लाई कुनै पनि शासन व्यवस्थाको सफलता वा असफलता संग जोडेर हेर्नु बालापन मात्रै हुनेछ ।
वसन्त यामको यो सुन्दर र मनमोहक प्रकृतिलाई स्तब्ध पार्दै सम्पूर्ण मानब जगतलाई त्राहि त्राहि बनाइ आफ्नो नियन्त्रणमा राख्न सफल भएको यो कोरोना भाइरस प्राकृतिक उपज हो वा मानव निर्मित जैविक हतियार हो यो चाहिँ अहिले सम्म बहसकै बिषय छ । चीन, अमेरिका, बेलायत जस्ता शक्ति राष्ट्रहरु एक अर्कामाथि दोषारोपण गरिरहेका छन् । कुनै रोग वा महामारीको प्रकोपले धनी–गरीब, ठुलो–सानो, जात–भात वा कुनै राजनीतिक प्रणाली हेर्दैन त्यसैले ढिलो–चाँडो विश्वको जुनसुकै भूगोलमा फैलिने निश्चित छ । कोरोना भाइरसको महामारीमा सारा विश्व नै जुधिरहेको वर्तमान घडिमा नयाँ राजनीतिक व्यवस्थाको वकालत गर्नु बेमौसमी बाजा मात्रै हो । संकटको यो घडिमा राष्ट्र र नागरिकलाई सक्दो सहयोग गर्नुको सट्टा लोकतान्त्रिक व्यवस्था माथि नै प्रश्न उठाउनु आफ्नै घरमा आगलागि भैरहँदा खरानी किन्ने ग्राहक खोज्न बजारतिर कुद्नु जस्तै हो ।
विश्वका करिब एक हजार धनाढ्यहरुसंग विश्व अर्थतन्त्रको करिब आधा हिस्सा सम्पत्ति रहेको अनुमान छ । सुचना प्रविधि, संचार, बैंक, होटल व्यवसाय, पर्यटन, रियल स्टेट जस्ता क्षेत्रमा उनीहरुको पकड छ । जो मानिसहरु आज अथाह सम्पत्तिका मालिक छन् उनीहरु कसैको चोरेर वा लुटेर धनी भएका होइनन् । यो उनीहरुको बुद्दि, विवेक, क्षमता र धेरै बर्षको परिश्रमको प्रतिफल हो । आज बिल गेट्सले अमेरिका र विश्व स्वास्थ्य संगठन लाई करोडौ डलर सहयोग गरेका छन । चिनीयाँ धनाढ्य ज्याक मा ले संसार भरि औषधि र स्वास्थ्य सामाग्री सप्लाई गरिरहेका छन् । मेसी, रोनाल्डो जस्ता फुटवल खेलाडिले लाखौं डलर दान गरेका छन् ,आफ्ना नीजि होटल राज्यलाई दिएका छन् । भारतका मुकेश अम्बानी र रतन टाटाले सरकारलाई अरबौं रुपियाँ सहयोग दिएका छन् । अमिताभ बच्चनले हजारौं गरिब किसानहरुको ऋण तिरिदिए । सलमान खानले हजारौं मजदुरको गास र बासको जिम्मा लिएका छन् । केहि अपवाद बाहेक नेपालको नीजि क्षेत्र र नेपाली घनाढ्यहरुले पनि सरकारलाई सक्दो सहयोग गरिरहेका छन् । खाद्यान्न, औषधि तथा अन्य स्वास्थ्य सामाग्रीको सप्लाई गरिरहेका छन् । कोरिया, जापान र चीनका गैरआवासीय नेपालीहरुले ठूलो परिमाणमा स्वास्थ्य सामाग्री पठाएर सहयोग गरेका छन् ।
विश्वव्यापी संकट र महामारीको यो समयमा जस्ले मानव जातीको जीवन रक्षाका खातिर आफ्नो अरबौको नीजि सम्पत्ति खर्चिएका छन् उनीहरुलाई नै आज हामी पूँजीबादका खलनायक देखिरहेका छौं । हामी कति असहिष्णु भएका ।
अहिले हामी भन्दा बिदेशमा रहेका हाम्रा दाजुभाई, दिदिबहिनीहरु ब्ढि संकट र तनाबमा छन् सामाजिक संजालमा उछितो काढ्न बन्द गरौं । बिदेश जानु थोरै नेपालीको रहर र धेरै नेपालीको बाध्यता हो । त्यहि रेमिट्यान्सले लाखौं नेपालीको घरमा चुल्हो बलेको छ भने देशको अर्थतन्त्र समेत धानिएको छ । आज नेपालमा हजारौं श्रमिक मजदुरहरु भोकभकै दिन कटाउन बाध्य छन् । गरिब झन गरिब र धनी झन झन धनी बन्दै गैरहेका छन् । बेरोजगारी, हत्या, हिंसा, आतंक र भ्रष्टाचारले देशलाई खोक्रो बनाउँदै लगेका छन् । विगत लामो समयदेखि सत्तामा बस्नेहरुले राज्यको सम्पत्ति र ढुकुटिको दोहन गरिरहे । संबिधान लाई आफूखुसि प्रयोग गर्ने, आफ्नो स्वार्थ अनुकुलका कानुन बनाउने र संबैधानिक निकाय लार्इृ कार्यकर्ता भर्ति केन्द्र बनाउने क्रम निरन्तर चलिरहेको छ । सत्तामा हँुदा ब्रह्मलुट मच्चाउने र सत्ताबाहिर हँुदा पानीमाथिको ओभानो हुन खोज्ने प्रवृत्ति आज पर्यन्त जारी नै छ । यो केवल हाम्रो लोकतान्त्रिक शासन प्रणालीको कमजोरी होईन । यो त शासक बर्गमा भएको स्वेच्छाचारिता, अकर्मन्यता, असक्षमता र अदूरदर्शिताको परिणाम हो । योग्य व्यक्ति छनोट गरेर नेतृत्वमा पठाउन नसक्नु हाम्रो कमजोरी हो ।
लोकतान्त्रिका शासन व्यवस्थाका धेरै कमि कमजोरीहरु छन् तैपनि यसको विकल्प छैन । लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो न कि एकदलिय निरंकुशता वा कम्युनिज्म ।
शासन व्यवस्थामा भएका कमि कमजोरी लाई हटाएर लोकतन्त्रलाई सुदृढ ंगर्दै संबिधानको कार्यान्वयन गर्नु र दु्रततर आर्थिक विकास गर्न आजको प्रमुख आबस्यकता हो । यसका लागि सक्षम, सुदृढ र दूरदर्शी राजनीतिक नेतृत्व र सबल राजनीतिक प्रणाली स्थापित हुनुपर्दछ । आँफू समर्थित राजनीतिक दल र नेताहरुको दिसा पनि कुराउनी ठान्ने कार्यकर्ता, राजनीति लाई सेवा नभई व्यवसाय ठान्ने नेतृत्व, एक बोत्तल रक्सि र एक छाक मासुभातका भरमा भोट दिने जनता र चार जना क्यारिमबोर्ड खेल्दा चालिस जना हुटिङ्ग गर्ने बेरोजगार दर्शक रहिरहे सम्म न त राजनीतिक प्रणालीले सहि दिशा लिन सक्छ, न त सक्षम, सबल र उपयुक्त भिजन भएका व्यक्तिहरुले चुनाब जित्ने संभाबना नै रहन्छ। यसलाई परिबर्तन गर्न देशका दूर दराजमा शिक्षा, स्वास्थ्य, संचार, यातायात जस्ता विकासका पुर्बाधारहरुको सुनिस्चिता गनुपर्छ । कृषिको व्यबसायिकरण र आधुनिकिकरण, ग्रामिण पर्यटन, उर्जा, पूर्वाधार निर्माणका कार्यक्रम संचालन गरि व्यापक रोजगारी सिर्जना गर्दै जनतालाई स्वाबलम्बि र आर्थिक रुपले आत्मनिर्भर बनाउनु पर्छ । अनिमात्र जनताले कुशल नेतृत्व छान्ने हैसियत राख्दछन् र कुशल नेतृत्वले राजनीतिक स्थायित्व कायम हुन्छ ।
चाहे विपि कोईरालाको समाजबाद होस वा मदन भण्डारीको जनताको बहुदलीय जनबाद होस लोकतान्त्रिक शासन व्यवस्थालाई सबल बनाई जनतालाई शासनको मालिक बनाउने अभिप्रायले नै आएका हृन यी । तर आज केहि मानिसहरु समाजबादलाई कम्युनिज्मको अर्थमा मात्रै ब्याख्या गर्दै जनतालाई दास बनाउने निरङ्कुश शासनको वकालत गरिरहेका छन्। समाजबाद भनेको निरङ्कुशता होईन यो त लोकतन्त्रको सुन्दरता (beauty of democracy) हो, आदर्श हो, गन्तव्य हो । धरतीको सुख र स्वतन्त्रतालाई छोडेर कोहि किन कसैलाई मालिक बनाएर आँफू दास बन्न चाहन्छन् । विगत लामो समयदेखि विभिन्न स्वार्थ समूह र सत्तालिप्त प्रवृत्तिका कारण नेपाल एक अस्थिर राष्ट्रका रुपमा परिणत भैरहेको छ । विभिन्न बहाना बनाइ संविधान कार्यान्वयन हुन नदिने, एकपछि अर्को बखेडा झिक्ने र नयाँ व्यवस्थाको माग गर्दै जाने, देशलाई राजनीतिक प्रयोगशाला बनाउने र आफ्नो सत्ता स्वार्थ पूर्ति गर्ने खेल नेपालमा चलिरहेकै छन् । यसैको पछिल्लो उदाहरण हो कोरोनालाई पूँजिवाद संग जोेड्नु ।
कोरोना भाइरसको यो संकटको घडिमा नेपालमा पनि कमिसन र भ्रष्टाचारका खबरहरु बाहिर आइरहेका छन्। त्यसका लागि राजनीतिक दल, नागरिका समाज, पत्रकार, बुद्दिजिवि सबैले खबरदारी र निग्रानीको जरुरत पर्दछ । संबैधानिक निकायहरुलाई राजनीतिक हस्तक्षेप मुक्त गराई स्रोत साधन र अधिकार सम्पन्न बनाउनुपर्छ। राजनीतिक ईमान्दारिता र जवाफदेहिता कायम गरी गलत गर्नेलाइ दण्डित गरि असल नेतृत्वको विकास गर्दै जाँदा विकृत मानसिकता बोकेका व्यक्तिहरु आफैं राजनीतिबाट साईड लाग्नेछन् । कमिसन र घुसखोरी वा व्यक्तिगत आक्षेप तथा अफवाहका कारण कोरोना विरुद्दको महाअभियान लाई अन्यत्र मोड्ने काम पनि नगरौं । अहिलेका कमिसन र अपारदर्शिताका सबै सुचनाहरु डायरीमा नोट गरौं । कोरोनाको महामारी सकिएपछि सबैको हिसाब किताब मागौंला । भ्रष्टहरुलाई कारबाही गर्ने निकायहरु छन हाम्रो देशमा । आशा गरौं कोहि पनि उम्कन पाउने छैन, ढिलो चाँडो एकदिन सबै कानुनको कठघरामा उभिनेछन् र दण्डित हुनेछन् । अहिले लाई हामी सबै पूर्णरुपमा कोरोनाको नियन्त्रणमा केन्द्रित होउँ, प्रभावित र जोखिममा रहेका नागरिकलाई सक्दो सहयोग गरौं, सरकार लाई सहयोग गरौं, सरकारले जारी गरेका नियमहरु राम्रोसंग पालना गरौं र घरमैं बसौं । धमिलो पानीमा माछा मार्ने कोसिस नगरौं । यसैमा हामी सबैको कल्याण हुनेछ ।
देउपुर, पर्वत ।
twitter: @ync_ms