पर्वत- १२ बैशाख २०७२ को गोरखा बारपाक केन्द्र विन्दु बनाएर गएको महाभूकम्पको सम्झनामा पर्वतमा विद्यालयको भवन हस्तान्तरण गरेर मनाइएको छ । राष्ट्रिय पुनः निर्माण प्राधिकरण मातहतका जिल्ला आयोजना तथा कार्यान्वयन इकाई अनुदान व्यवस्थापन तथा स्थानीय पुर्वाधार, शिक्षा र भवनले संयुक्त रुपमा कार्यक्रम सञ्चालन गरी गोरखा भुकम्प सम्झिएका हुन् ।
ईकाइले पर्वतको फलेवास नगरपालिकाको थापाठानामा भुकम्पबाट क्षतिग्रस्त विद्यालय भवन पुनःनिर्माण गरी विद्यालयलाई हस्तान्तरण गरेर दिवस मनाइएको हो । फलेवास नगरपालिका २ थापाठानाको जनजागृति आधारभूत विद्यालयलाई ३१ लाखको लागतमा ३ कोठे भवन प्रदान गरिएको छ ।

भवन निर्माण कार्यक्रममा बोल्दै पर्वतबाट निर्वाचित प्रतिनिधि सभा सदस्य पदम गिरीले गुणस्तरीय शिक्षाका लागि उपयुक्त भौतिक पुर्वाधार हुनुपर्नेमा जोड दिँदै विद्यालय भवन निर्माण पश्चात् बालबालिकाहरुको शिक्षामा समेत सकरात्मक प्रभाव पर्ने अपेक्षा व्यक्त गर्नुभयो । उहाँले महाभुकम्पलाई स्मरण गर्दै बालबालिकाहरु मानवीय क्षति हुनबाट जोगिए पनि भौतिक रुपमा धेरै विद्यालयहरुले क्षति व्यहोर्नु परेको कुरा औल्याउँदै पुनः निर्माणको क्षेत्रमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । सांसद पदम गिरीले उक्त विद्यालय भवनको चावी विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गर्नुभएको थियो ।
जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा)ले गत आर्थिक बर्ष २०७४।०७५ को कार्यक्रम अनुसार उक्त विद्यालयमा भवन निर्माण गरी सम्पन्न गरेको हो । स्थानीय अभिभावकहरुको भेलाबाट समिति गठन गरी उपभोक्ता समिति मार्फत गुणस्तरयुक्त भवन निर्माण गरिएको ईकाई प्रमुख खिमबहादुर भूजेलले जानकारी दिनुभयो । उक्त विद्यालय भवन निर्माणका लागि पहिलो चरणमा उपभोक्ताहरुबाट कमजोर मापदण्डका सामग्रीहरु प्रयोग भएको र उक्त कार्यलाई अस्वीकार गरी मापदण्ड अनुसार निर्माण गरिएको उहाँले बताउनुभयो ।
पर्वतमा एक सय ७५ विद्यालयका चार सय कक्षाकोठा भुकम्पबाट क्षति ग्रस्त भएका छन् । पुनः निर्माण कार्यक्रममा पहिलो बर्ष ०७३।०७४ मा सात विद्यालयका भवन निर्माण सम्पन्न भएका छन् भने ०७४।७५ मा स्वीकृत भई निर्माण कार्य थालनी भएका सात विद्यालय मध्ये दुई विद्यालय सम्पन्न भइसकेका छन् र अन्य निर्माणको चरणमा छन् । यसै गरी आयोजनाले चालु आर्थिक बर्षमा ३० विद्यालयमा भवन निर्माण कार्य शुरु गरिएको प्रमुख भूजेलले जानकारी दिनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख मनोहर बी पौडेल, नेकपाका नेता मेघनाथ सुवेदी, प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल, प्रहरी नायब उपरिक्षक स्यामु आर्याल लगायतले पनि बोल्नुभएको थियो ।






