पर्वत । जिल्लाको मोदी गाउँपालिकामा सीपमूलक तालिमहरु सञ्चालन हुन थालेका छन । गाउँपालिकाले सिटिइभिटिको सहयोगमा ब्यवसायीक तालिमहरुको सञ्चालन गरेको हो । गाउँपालिकाको वडा न १ भुक, वडा न २ देउपुर र वडा न ३ देउरालीका कृषकहरुलाई ब्यवसायीक पशुपालन तथा ब्यवसायीक कृषि सम्बन्धि तालिमको आयोजना गरेको छ ।
गाउँपालिकाका वडा न २ देउपुरमा आयोजना गरिएको उक्त तालिम कार्यक्रमको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष प्रेम पौडेलले तालिम सिकेपछि ब्यवसायीक बन्न कृषकहरुलाई अनुरोध गरे । उनले ब्यवसायीक कृषकहरुको सहयोगमा गाउँपालिका सधै तयार रहेको उल्लेख गर्दै तालिम लिएपछि ब्यवसायीक रुपमा कृषि पेशामा लाग्नेहरुलाई गाउँपालिकाबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत जनाए । गाउँपालिका भित्रका सवैजनालाई रोजगारीको अवसर सृजना गर्ने अभियानमा मोदी गाउँपालिका लागेको उल्लेख गर्दै अभियान अन्तर्गत नै तालिमको कार्यक्रम आयोजना गरिएको पौडेलको भनाई छ ।
उक्त अवसरमा वडा न २ का वडा अध्यक्ष विकास तिमिल्सीनाले अवको समय ब्यवसायीक कृषि प्रणाली मार्फत उत्पादनमा बृद्धि गर्नु रहेको बताए । उनले कृषकहरुले सिकेको ज्ञान दैनिक जीवनमा लागू गरेमा कृषि प्रणालीमा सुधार आउने विश्वास ब्यक्त गरे ।
त्यसैगरी गाउँपालिकाको वडा न ६ तिलाहारको गिज्यानमा पनि ब्यवसायीक कृषि तालिमको आयोजना गरिएको छ । उक्त तालिम कार्यक्रमका गाउँपालिका उपाध्यक्ष सेती महतले उद्घाटन गरेकी छिन । तालिम कार्यक्रमको उद्घाटन गर्दै उपाध्यक्ष महतले निर्वाहमूखी ब्यवसायलाई अव ब्यवसायीक बनाउनुपर्ने धारणा राखिन । उनले लघु उद्यम प्रवद्र्धनसंगै ब्यवसायीक कृषि र पशुपालनमा लाग्ने कृषकहरुलाई गाउँपालिकाबाट उचित सहयोग मिल्ने बताउँदै त्यस्तो कार्यमा लाग्न कृषकहरुलाई आगह गरीन । ६५ दिनसम्म सञ्चालन हुने दुवै तालिम कार्यक्रमहरुमा २०/२० जनाको सहभागीता रहेको छ ।
गाउँपालिका भित्र स्वरोजगारमूलक ब्यवसाय शुरुवातको लागि तालिम कार्यक्रम सफल हुने गाउँपालिकाका प्रवक्ता विमल लामिछाने बताउँछन । उनले सीपमूलक तालिम लिन इच्छुक सवै युवाहरुलाई सवै प्रकारका तालिमको अवसर प्रदान गर्न गाउँपालिका तयार रहेको भन्दै स्वेदेशमै केहि गर्ने जोश र जाँगर अव सवैमा आउनुपर्ने धारण ब्यक्त गरे । गाउँपालिकाले यस अघि पनि लघु उद्यमी प्रवद्र्धनका विभिन्न कार्यक्रमहरु मार्फत स्वरोजगारमूलक ब्यवसाय शुभारम्भको थालनी गरेको थियो ।