होमस्टे पर्यटन विकास सम्बन्धी तालिम फलेवासमा सम्पन्न - News site from Nepal
होमस्टे पर्यटन विकास सम्बन्धी तालिम फलेवासमा सम्पन्न


माधब पराजुली,पर्वत
पर्वतको फलेवास नगरपालिका वडा नं. ५ खानिगाँउमा ३ दिने होमस्टे पर्यटन विकास सम्बन्धी आधारभुत तालिम सम्पन्न भएको छ । स्थानीयवासीलाई होमस्टे सञ्चालन र विभिन्न किसिमका परिकार बनाउन सहयोग पु¥याउने उद्देश्यका साथ फलेवास सामुदायिक होमस्टे खानिगाँउमा आयोजित तिन दिने तालिम शनिवार सकिएको हो ।
तारागाँउ विकास समितिले ३० जना भन्दा बढी व्यक्तिहरुलाई होमस्टेको तालिम प्रदान गरेको हो ।
पाहुना स्वागत तथा सत्कार गर्ने तरिका, स्थानीय उत्पादित बस्तुका परिकार, अर्गानिक खाना,बासको व्यवस्था र नेपाली संस्कृति लगाएतकाबारेमा तालिम प्रदान गरिएको थियो ।
फलेवास होमस्टे तत्काल सञ्चालनमा आउने तयारीमा छ । अब यहाँ आउने पर्यटकहरुले बासको कुनै पनि समस्या भोग्नु पर्ने छैन ।

तालिम समापनका अवसरमा गण्डकी प्रदेशका उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री विकास लम्सालले गाँउ पर्यटनको अभिन्न अंग मानिने होमस्टेको माध्याम बाट प्राकृतिक र सांस्कृतिक रुपले सम्पन्न फलेवासलाई अब आर्थिक रुपले समृद्ध बनाउनुपर्ने बेला आएको बताउनुभयो । गाँउ पर्यटन प्रवद्र्धनका लागि प्रदेश सरकारले गण्डकी प्रदेशमा ३ सय होमस्टे निर्माण गर्ने लक्ष्यका साथ ३० करोड बजेट विनियोजन गरेको बताउनुभयो । उहाँले होमस्टेले ग्रामिण क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्दै ग्रामिण क्षेत्रका जनतालाई पर्यटन व्यवसायमा सहभागी गराई जीवनस्तरमा समेत ठुलो सुधार ल्याउने बताउनुभयो । स्वरोजगार प्रदान गर्ने प्रदेश सरकारको लक्ष्य अनुरुप होमस्टे बाट रोजगारीका अवसर सृजना गर्नुपर्नेमा जोड दिनुभयो । होमस्टेलाईसही तरिकाले सञ्चालन गर्न सके स्थानीयवासीको आयआर्जनमा ठूलो सहयोग पुग्ने मन्त्री लम्सालको भनाई थियो ।
ग्रामिण पर्यटनमा रमाउने पर्यटकहरुलाई सुलभ,सरल र सहज वातावरणमा स्थानिय परिकार,रितीरिवाज,कला,संस्कृतिको उत्कृष्ट अनुभव प्रदान गर्दै स्थानियवासीहरुले गाँउका ऐतिहासिक,धार्मिक र रमणिय स्थानका बारेमा जानकारी दिनुपर्नेमा समेत मन्त्री लम्सालको जोड थियो ।
फलेवास नगरपालिकाकी उपमेयर मञ्जु अधिकारीले युवायूवतीहरुलाई आत्मनिर्भर गराई स्वदेशमै आयआर्जन गर्न तथा सक्षम बनाउनका लागि यस्ताखाले तालिमले ठुलो सहयोग पुग्ने धारणा राख्नुभयो । फलेवास नगरपालिकाले बेलाबेलामा व्यवहारिक तथा सिपमुलक तालिम प्रदान गर्दै आईरहेको बताउदै यस्ता किसिमका तालिमले महिलाहरुलाई परनिर्भरता त्यागी आत्मनिर्भर बन्ने ढोका समेत खुल्ने गरेको बताउनुभयो ।

प्रशिक्षार्थीहरुले आफुले तालिममा सिकेको सिप र ज्ञानलाई पूर्णरुपमा पालना गर्दै होमस्टेलाई नमुना बनाउने बताए । कार्यक्रममा सहभागिहरुलाई प्रमाण पत्र समेत प्रदान गरिएको थियो ।
फलेवास सामुदायिक होमस्टेकी अध्यक्ष केशा परियारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडाध्यक्ष दिपक शर्मा पौडेल,फलेवास नगरकार्यपालिका सदस्य नेत्र विक लगाएतले बोलेका थिए । कार्यक्रमको सञ्चालन लकाश सुवेदीले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!