पर्वत–पर्वतको मोदी गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र जनप्रतिनिधिबीच शनिवार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
गाउँपालिले आगामी आर्थिक वर्षका लागि बजेट, नीति तथा कार्यक्रम ल्याउने तयारी गरेका बेला सत्तारुढ दलका नेता र जनप्रतिनिधिबीच छलफल भएको हो । सो अवसरमा आगामी आर्थिक वर्षका लागि संघीय सरकारबाट प्राप्त भएको रु साढे ४३ करोड मध्ये पुँजीगत तर्फको १४ करोड ७० लाख रुपैयालाई कस्ता कस्ता योजनाहरुमा बिनीयोजन गर्ने भन्ने बारेमा छलफल गरिएको थियो । छलफलका क्रममा टुक्रे योजनाहरुलाई न्यूनिकरण गरि स्थायी र दिर्घकालीन योजनाहरुलाई प्राथमिकता दिनुपर्ने सुझाव दिएका छन् ।
कार्यक्रममा बोल्दै मोदी गाउँपालिकाका अध्यक्ष प्रेम पौडेलले गाउँपालिकाका बासिन्दाहरुको आवश्यकता र धेरै नागरिकहरु लाभान्वित हुने किसीमका योजनाहरुमा आगामी आर्थिक वर्षको बजेट केन्द्रित गरिने बताउनुभयो । उहाँले गाउँस्तरबाट आएका योजनाहरुलाई एकीकृत गरि दिर्घकालीन र प्रत्यक्ष फाईदा पुग्ने खालका योजना छनौट गरिने पनि बताउनुभयो । उहाँले राम्रो र प्रभावकारी बजेट ल्याउन आवश्यक सुझाव दिन समेत आग्रह गर्नुभयो ।
सो अवसरमा नेकपाका प्रदेश कमिटि सदस्य प्रेम कुमार लामिछाने, नेकपाका जिल्ला नेता भक्त कुँवर लगायतले मोदी गाउँपालिकाको बिकास निर्माणको अवस्था र आगामी आर्थिक वर्षको बजेटले प्राथमिकता दिनुपर्ने क्षेत्रका बारेमा सुझाव दिनुभएको थियो ।
नेकपा मोदी गाउँकमिटिका अध्यक्ष तेजबहादुर पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मोदी गाउँपालिकाकी उपाध्यक्ष सेती महत, वडा अध्यक्षहरु र नेकपाका गाउँ कमिटिका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको नेकपा गाउँ कमिटिका सदस्य समिर मल्लले जानकारी दिनुभयो ।






