पर्वत– सुचना तथा सञ्चार प्रबिधी मन्त्री गोकूल बास्कोटाले गलत समाचार लेखेर ब्यक्तिको चरित्र हत्या भएको प्रमाणित भएमा पत्रकारले क्षतिपुर्ती तिर्नु पर्ने गरी कानुन आउने बताउनुभएको छ ।
प्रेस संगठन पर्वतले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बास्कोटाले जवाफदेहिता सहितको पत्रकारितालाई स्थापित गर्न पनि गल्ती नगरेको ब्यक्तिलाई अपराधी बनाउने पत्रकारिताले अपराध ठहर नहुँदा क्षतिपूर्ति समेत भराउनपर्ने गरि कानुन आउनुपर्छ भन्नुभयो ।
‘ब्यक्तिलाई समाजिक रुपमा मुख नै देखाउन नहुने गरी समाचार लेख्ने पछि आरोप पुष्टि नभए पत्रकारले पनि जवाफदेहिता लिनुपर्छ!’ उहाँले भन्नुभयो ‘समाचार लेखेको भरमा कारबाही नहुने प्रचलनले अराजकता बढाएको छ, जवाफदेहिता र मर्यादित पत्रकारिता समाप्त भैरहेको छ’। उहाँले अवफाह फैलाउने गरी झुट्टा समाचार लेख्नेलाई कानून बमोजीम कारबाही र क्षतिपुर्ती भराउनका लागि अदालतबाट निर्णय हुने गरि कानुन बन्ने स्पष्ट पार्नुभयो । मिडिया काउन्सिलबाट फैसला गर्ने भन्दा पनि अदालत पुग्ने वातावरण बनाएर कानुनमा संशोधन हुने जानकारी दिनुभयो ।
उहाँले कारबाही गर्ने न्यायीक निकाय अदालतलाई तोकेर नयाँ कानून बन्न लागेको बताउँदै प्रेस काउन्सिल वा मिडिया काउन्सिलले भने पत्रकारलाई कारबाही गर्न सक्दैनन भन्नुभयो । पत्रकार महासंघ र प्रेस सम्बद्ध धेरै संस्थाले उठाएका मागहरु सम्बोधन भएपनि पत्रकार महासंघ बिग मिडिया हाउसको पक्षमा लागेका कारण समस्या भएको बताउनुभयो । ‘पत्रकार महासंघ श्रमजिबीका मुद्दा छाडेर मालिकको नोकर जस्तो भयो’ उहाँले भन्नुभयो ‘पत्रकारले समयमा तलब पाउने ब्यबस्था हुँदा मालिकका सामु घुंडा टेक्दा महासंघ कै गरिमा घटेको छ’
ठुला मिडिया हाउसका सम्पादकहरुले नेपाली कांग्रेसको पक्षमा राजनिती गरिरहेको बताउँदै राजनिती गर्ने भए पार्टी कार्यलय खोलेर बस्न र पत्रकारिता गर्ने भए जिम्बेवार हुन आग्रह गर्नुभयो । केही मिडीया हाउसहरु सरकारले जति राम्रो काम गरेपनि लुकाउने र सलसाना कुरालाई उछालेर बिबादित बनाउने उद्देश्य सहित लागेको भन्दै कार्यकर्ताहरुले त्यस्ता सञ्चार माध्यमको अफवाहका पछि नलाग्न आग्रह गर्नुभयो ।
अर्को प्रसंगमा बोल्दै मन्त्री बास्कोटाले नेपाली कांग्रेसले भ्रष्टचारमा आफुँ डुबेपछि अरुलाई भ्रष्ट देखाउने योजना बनाएर हल्ला फैलाउने काममा लागेको पनि आरोप लगाउनुभयो । सबैभन्दा बढी भ्रष्टचारी प्रमाणित भएको र भ्रष्टचारको मुद्दामा फैसला भएपछि जेलमा गएकालाई फुलमाला लगाउने पनि कांग्रेस नै हो भन्नुभयो ।
सरकारले सम्बृद्धिको जग बसालेको र संबिधान र गणतन्त्रको जग बलियो गरि बसालेको भन्दै पाँच बर्षमा यसका परिणाम देखिने स्पष्ट पार्नुभयो । सरकारले अहिले जग बसालेर छाड्ने र पछिल्लो पिंढीले त्यसका आधारमा सम्बृद्ध नेपाल बनाउने उहाँको भनाई थियो । सम्बृद्ध नेपाल र सुखी नेपालीका नारा सरकारको मात्रै नभई सिंगो मुलुकको कार्यक्रमको रुपमा स्थापित भैसकेको छ उहाँको भनाई थियो ।






