पर्वतको मोदी गाउँपालिकाको आगामी बजेट रु. ७५ करोड १९ लाख - News site from Nepal
पर्वतको मोदी गाउँपालिकाको आगामी बजेट रु. ७५ करोड १९ लाख

पर्वत, ९ असार : पर्वतको मोदी गाउँपालिकाले आगामी आर्थिक वर्ष वि.सं. २०८३/०८४ का लागि रु.७५ करोड १९ लाख रुपैयाँको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
मंगलवार आयोजित गाउँपालिकाको १९औँ गाउँसभामा उपाध्यक्ष बिमल लामिछानेले बजेट प्रस्तुत गर्दै पुर्वाधार, पर्यटन, शिक्षा, स्वास्थ्य, महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा सामाजिक समावेशीकरणका कार्यक्रमलाई प्राथमिकतामा राखिएको जानकारी दिनुभयो ।
प्रस्तुत बजेटमध्ये चालुतर्फ रु.५३ करोड १३ लाख ८० हजार रुपैयाँ र पुँजीगततर्फ रु.२२ करोड ५ लाख रुपैयाँ विनियोजन गरिएको छ । बजेट संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने समानीकरण, सशर्त, समपूरक र विशेष अनुदान तथा आन्तरिक आयलाई आधार मानेर तयार गरिएको गाउँपालिकाले जनाएको छ ।

शिक्षा क्षेत्रतर्फ प्रारम्भिक बालविकास शिक्षक, सामुदायिक सिकाइ केन्द्रका सहजकर्ता तथा विद्यालय कर्मचारीको मनोबल वृद्धि गर्न थप सुविधा उपलब्ध गराइने भएको छ । विद्यालयमा पाठ्यपुस्तक तथा शैक्षिक सामग्रीको उपलब्धता, शिक्षकको पेशागत क्षमता विकास, आधारभूत शिक्षा परीक्षा व्यवस्थापन, विद्यार्थी दिवा खाजा कार्यक्रम र स्थानीय पाठ्यपुस्तक विकासलाई निरन्तरता दिइनेछ ।

त्यसैगरी आवासीय विद्यालयको विकास तथा विस्तार, राष्ट्रपति रनिङ शिल्ड, स्काउट गतिविधि, ‘पढ्दै कमाउँदै–सिक्दै रमाउँदै’ कार्यक्रम तथा डिजिटल र प्रविधिमैत्री शिक्षण प्रणालीको विस्तारका लागि २ करोड ७९ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ।

महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिका लागि सामाजिक सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने भएको छ। महिला नेतृत्व विकास, क्षमता अभिवृद्धि, सीप विकास तथा आयआर्जन प्रवद्र्धन, बालमैत्री स्थानीय शासन, ज्येष्ठ नागरिक सम्मान तथा अपाङ्गता भएका व्यक्तिको सशक्तीकरणलाई समेत बजेटले प्राथमिकता दिएको उपाध्यक्ष लामिछानेले जानकारी दिनुभयो ।

उपाध्यक्ष लामिछानेले प्रस्तुत गरेको बजेटले शिक्षा सुधार, सामाजिक विकास, महिला सशक्तीकरण तथा समावेशी विकासलाई केन्द्रमा राख्दै स्थानीय तहको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने लक्ष्य लिएको बताउनुभएको छ ।
यस अघि गाउँपालिकाको आगामी वर्षको नीति तथा कार्यक्रम अध्यक्ष हिरादेवी शर्माले प्रस्तुत गर्नुभएको थियो । आगामी वर्षको नीति तथा कार्यक्रममा गाउँपालिकाको समृद्धिका लागि सडक पुर्वाधार, पर्यटन विकास, कृषिलाई व्यावसायिकरण गर्दै युवा रोजगार, महिला उद्यमशीलता, सहकारी सुधारलाई प्रमुख प्राथमिकतामा राखिएको अध्यक्ष शर्माले बताउनुभयो ।

नीति तथा कार्यक्रम अनुसार घरेलु तथा महिला उद्यमलाई विशेष प्राथमिकता दिइएको छ । स्टार्टअप सञ्चालनका लागि ब्याज सहुलियत तथा अनुदानको व्यवस्था गरिने र महिला उद्यमीलाई आवश्यक सहयोग उपलब्ध गराइने उल्लेख छ । गाउँपालिकाले सहकारी संस्थाको प्रभावकारी अनुगमन तथा नियमनलाई पनि प्राथमिकतामा राखेको छ ।

युवासँग उपाध्यक्ष कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै रोजगारमूलक तथा सीपमूलक तालिम सञ्चालन गरिने कार्यक्रममा उल्लेख छ । वैदेशिक रोजगारीबाट फर्किएका तथा स्वरोजगार बन्न चाहने युवालाई स्टार्टअप पूँजी उपलब्ध गराउने व्यवस्था मिलाइने गाउँपालिकाले जनाएको छ ।

बेरोजगार युवालाई समेटेर प्रत्येक वडामा वडा स्तरीय विकास दस्ता गठन गरिने भएको छ । उक्त दस्तालाई विपद्का समयमा उद्धार, राहत, पुनर्स्थापना तथा पुनर्निर्माण कार्यमा परिचालन गरिनेछ भने विभिन्न क्षेत्रमा सीपमूलक तथा व्यावसायिक तालिम प्रदान गरिनेछ ।
त्यसैगरी गाउँपालिका स्थापना भएयता भएका विकास निर्माण तथा अन्य गतिविधिको डिजिटल अभिलेख तयार गरी संस्थागत स्मरणका रूपमा संरक्षण तथा प्रचारप्रसार गरिने भएको छ ।

वित्तीय अनुशासन, पारदर्शिता र सुशासन प्रवद्र्धनका लागि महालेखा परीक्षकको प्रतिवेदनमा औँल्याइएका बेरुजु फछ्र्योटलाई प्राथमिकतामा राख्ने तथा वित्तीय व्यवस्थापन प्रणालीलाई थप प्रभावकारी बनाइने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!