पर्वतमा लागु औषध सेवन कर्ताहरु बढ्दै, अनुगमन बढाउन सुझाव  - News site from Nepal
पर्वत, ६ असार :  पर्वतमा लागु औषध सेवन कर्ताहरुको संख्या दिन प्रतिदिन बढ्दै गएको पाईएको छ । विशेषगरी विद्यालय तहका किशोर तथा युवाहरुले लुकिछिपि लागु औषधको प्रयोग गर्ने गरेको गुनासो चुलिएको छ ।
लागुऔषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा पर्वतमा आयोजित साताव्यापी कार्यक्रमको शुभारम्भमा सहभागि विभिन्न क्षेत्रका प्रतिनिधिहरुले लागुऔषध प्रयोगकर्ताको संख्या बढ्दै गएको पाईएको हो ।
त्यस्तो प्रयोग कर्ताहरुले स्थानीय औषधी पसल तथा अस्पताल लगायतका ठाउँहरुवाट सिरिन्ज समेत किन्ने गरेको पाईएको छ ।
जिल्ला प्रहरी कार्यालयमा परेका उजुरी संख्यामा कमी आएपनि प्रयोगकर्ताहरु भने बढ्दै गएका हुन् । विशेषगरी कुश्माबजारको बसपार्क, बान्द्रेबिडि, खरेहाको डिलसाईड, शिवालयचोक, बडागाउँ क्षेत्र, बञ्जिसाईड तथा गुप्तेश्वर गुफा तथा राजमार्ग भन्दा एक/किलोमिटर भित्री भागमा लागु औषध प्रयोग कर्ताहरु छ्यापछ्याप्ती भेटिने गरेको सरोकारवालाहरुले बताएका छन् ।
जिल्ला प्रहरी कार्यालयमा यस वर्ष लागु औषध सम्वन्धी दुईवटा मात्र मुद्धा दर्ता भएका छन् । तर लुकिछिपि विक्रिवितरण र प्रयोग गर्नेको संख्या उल्लेख्य रहेको छ । कार्यक्रममा सहभागि उद्योगी, व्यावसायी, नागरिक समाज, गैरसरकारी निकाय र संघ संस्थाका प्रमुखहरुले जोखिमपुर्ण क्षेत्रमा लागु औषध प्रयोगकर्ताहरुको निगरानी र अनुगमन गर्न सुझाव दिएका छन् ।
गाउँ गाउँमा विभिन्न जिल्ला जोड्ने नाकाहरु खुला रहेकाले त्यता तर्फ पनि प्रयोगकर्ता हुनसक्ने अनुमान गरिएको छ । पछिल्लो समय विद्युतीय सिग्रेट भेपको बढ्दो प्रयोग र सुईमार्फत प्रयोग गर्नेहरु समेत बढ्दै गएका छन् । अन्तरक्रियामा जोखिमयुक्त क्षेत्रमा अनुगमन कार्यलाई विशेष जोड दिईने सहमति भएको छ । सुरक्षाकर्मीले मात्र नभई सरोकारवाला निकायहरु सवैको सहभागितामा अनुगमन गर्नुपर्ने सामुदायिक सेवा समाजका अध्यक्ष मानकुमारी गिरीले बताउनुभयो ।
विशेषगरी जिल्लामा कहाँबाट लागु औषध भित्रिन्छ भन्ने पत्ता लगाउन सकेमा नियन्त्रण गर्न सहज हुने उनिहरुको भनाई रहेको छ । अबैध रुपमा ओसारपसार, विक्रिवितरण गर्नेलाई समेत कडा कारबाही गर्नुपर्ने उनिहरुको माग छ ।
कार्यक्रममा प्रहरी नायब उपरिक्षक बिजय यादबले पर्वतमा लागु औषधको प्रयोग तथा ओसारपसारको अवस्थाका बारेमा जानकारी दिनुभयो । यस्तै प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पौडेलले सप्ताहब्यापी रुपमा मनाईने यो दिवसमा विद्यालयस्तरीय, समुदायस्तरीय तथा लक्षित युवा युवतिहरुलाई केन्द्रीत गरेर सचेतनामुलक कार्यक्रमहरु गराईने जानकारी दिनुभयो । आफ्‌ना बाबुनानीहरु यस्तो कुलतमा लागेका छन् वा छैनन् भन्ने बारेमा अभिभावकहरु पनि विशेष सचेत हुनुपर्ने उहाँको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!