पर्वतको पैंयू गाउँपालिकाको बजेट झण्डै ४३ करोड  - News site from Nepal
पर्वतको पैंयू गाउँपालिकाको बजेट झण्डै ४३ करोड 
पर्वत, ९ असार : पर्वतको पैयूँ गाउँपालिकाकोे १८औँ गाउँ अधिवेशन मंगलवार सम्पन्न भएको छ ।
गाउँसभाले आगामी आर्थिक वर्ष विं.सं.२०८३/०८४ का लागि झण्डै ४३ करोड बराबरको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँसभामा पालिका उपाध्यक्ष यामकुमारी रानाले ४२ करोड ७१ लाख छ हजार रुपैयाँको बजेट सार्वजनिक गरेकी हुन् ।
गाउँ सभाबाट सर्वसम्मत रूपमा पारित गरिएको उक्त बजेटमा चालु तर्फ ३२ करोड ३८ लाख ४२ हजार रुपैयाँ विनियोजन गरिएको छ । बजेट पारित भएसँगै गाउँ सभाबाट विभिन्न विषयगत क्षेत्रहरूमा रकम बाँडफाँड समेत गरिएको छ । जसअन्तर्गत कार्यालय सञ्चालन तथा प्रशासनिक कार्यका लागि आठ करोड ३४ लाख ५२ हजार रुपैयाँ, गाउँपालिका स्तरीय पूर्वाधार विकासका लागि चार करोड ६१ लाख १७ हजार रुपैयाँ र वडागत बजेटका लागि दुई करोड ४५ लाख रुपैयाँ विनियोजन गर्ने निर्णय सभाबाट अनुमोदन भएको हो ।
यसैगरी शिक्षा, स्वास्थ्य र सामाजिक विकासलाई प्राथमिकता दिँदै गाउँ सभाबाट सामाजिक विकासतर्फ दुई करोड २४ लाख ७७ हजार रुपैयाँ बिनीयोजन गरिएको छ । जसमा शिक्षा क्षेत्रका लागि मात्रै  एक करोड ४३ लाख २२ हजार र स्वास्थ्यका लागि ८१ लाख ५५ हजार रुपैयाँ रहेको छ । स्थानीय तहमा कृषि र पशु सेवाको विकासका लागि क्रमशः ३० लाख र नौ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको छ भने आर्थिक विकासका लागि ३९ लाख ५० हजार रुपैयाँ छुट्याइएको छ ।
वातावरण संरक्षण तथा विपद व्यवस्थापनका लागि रु.२५ लाख, संस्थागत विकास र सुशासनतर्फ १४ लाख ३० हजार, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकका लागि छ लाख ८० हजार, न्यायिक समितिका लागि रु.छ लाख र सहकारी संस्था नियमनका लागि  एक  लाख ५० हजार रुपैयाँको बजेट सीमालाई सभाले सर्वसम्मत पारित गरेको छ ।
१८औँ अधिवेशनमा प्रस्तुत नीति, कार्यक्रम र बजेटले पैयूँ गाउँपालिकाको समग्र विकास, सुशासन र जनताको आर्थिक जीवनस्तर उकास्न महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिईएको गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरीले जानकारी दिनुभयो । उहाँले आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नागरिकका चाहना अनुसारका कार्यक्रमहरु संचालन गरिएको बताए ।
सिमीत श्रोत र साधनको समुचित उपयोग गरि स्वरोजगार सिर्जना, पुर्वाधार विकाससँगै कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रलाई बढि मात्रामा प्राथमिकता दिएको उहाँको भनाई रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!