पर्वतका नदीनालावाट ढुंगा, बालुवा उत्खनन् गर्न भदौ मसान्तसम्मलाई रोक - News site from Nepal

पर्वत- पर्वत जिल्लाभर नदी तथा खानीजन्य पदार्थ उत्खननका लागि तीन महिना रोक लगाइएको छ ।

नदीजन्य तथा खानीजन्य पदार्थ जिल्ला अनुगमन समितिले असार १ गतेदेखि लागु हुनेगरी भदौ मसान्तसम्म उत्खनन रोक्ने निर्णय गरेको गरेको हो । अनुगमन समितिले जिल्लाका सातवटै पालिकामा पत्राचार गरि आ–आफ्‌नो क्षेत्राधिकार भित्र रहेका नदी, खोला वा अन्य खानीवाट ढुंगा, बालुवा, गिटी लगायतका पदार्थ उत्खनन् नगर्न पत्राचार गरेसँगै स्थानीय तहहरुले रोक लगाएका हुन् ।

ढुङ्गा, गिट्टी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थपन मापदण्ड, २०७७ बमोजिम वर्षायामका तीन महिना उत्खनन् गर्न नपाईने व्यवस्था छ । जिल्ला अनुगमन समितिले निर्णयलाई कडाइका साथ कार्यान्वय गर्न प्रदेश, स्थानीय तह र नेपाल सरकारका सरोकारवाला निकायहरूलाई निर्देशन दिएको छ । नदीजन्य तथा खानीजन्य पदार्थको उत्खनन तथा संकलन स्वीकृत मापदण्ड वातावरणीय प्रभाव मूल्यांकन प्रचलित कानुनबमोजिममात्र गर्ने, अवैध उत्खनन, अवैध संकलन तथा अनाधिकृत ओसारपसार पूर्ण रूपमा नियन्त्रण गर्न पत्राचार गरिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पौडेलले बताउनुभयो ।

पालिकाहरूले नदीजन्य खानीजन्य पदार्थको उत्खनन र संकलन गरिने क्षेत्र स्वीकृत वातावरणीय अध्ययन प्रतिवेदनले तोकेको स्थान र क्षेत्रमा कार्ययोजना तयार गरी गाउँ र नगरपालिकाबाट स्वीकृत गरेरमात्र गर्न, तोकिएको क्षेत्रमा स्वीकृत परिणामभन्दा बढी उत्खनन र संकलन हुन नदिन स्वीकृत दिइएको क्षेत्रमा सम्बन्धित गाउँनगरपालिकाले अनुगमन गर्ने र उत्खनन तथा संकलनको अभिलेख राख्न आग्रह गरिएको जिल्ला समन्वय अधिकारी बद्री तिवारीले बताउनुभयो ।

पूर्वस्वीकृति नलिई नदी तथा खोला किनार तथा छेउछाउमा कुनै पनि प्रकारका मेसिन तथा उपकरण (एक्साभेटर, ट्रिपर, ट्याक्टर आदि) राख्न तथा प्रयोग गर्न नपाइने उल्लेख गरिएको छ । त्यस्तै, नदीजन्य पदार्थ संकलन, ढुवानी तथा बिक्री–वितरणका कार्यसमेत नगर्न कुश्मा नगरपालिकाले सरोकारवाला सबैलाई आग्रह गरेको छ । कुश्मा नगरपालिकाले सूचनाको उल्लंघन गरी उपकरण प्रयोग गर्ने वा नदीजन्य सामग्री संकलन गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने चेतावनी दिएको छ ।

नगरपालिकाले वर्षायाममा सम्भावित प्राकृतिक विपद् न्यूनीकरण, जनधनको सुरक्षा तथा नदी प्रणालीको संरक्षणका लागि उक्त व्यवस्था लागू गरिएको जनाएको छ । यस निर्णयसँगै निर्माण व्यवसायी तथा नदीजन्य सामग्री व्यवसायमा संलग्न पक्षहरूले वैकल्पिक व्यवस्थापनमा ध्यान दिनुपर्ने अवस्था सिर्जना भएको छ ।

पर्वतमा कालीगण्डकी नदी, मोदीखोला, रतीखोला, पातीखोला, लमाएखोला, मल्यांङदीखोला, सेतीखोला लगायतका ठाउँहरुवाट नदिजन्य बस्तु उत्खनन् हुँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!