जलजला काँग्रेसले आफ्नै भवन बनाउदै, देउवाद्वारा शिलन्यास - News site from Nepal
जलजला काँग्रेसले आफ्नै भवन बनाउदै, देउवाद्वारा शिलन्यास

पर्वत, फागुन २७–नेपाली काँग्रेस जलजला गाउँपालिका कार्य समितिको भवन निर्माणका लागि ९० लाख रुपैयाँ बराबरको जग्गा निःशुल्क प्राप्त गरेको छ । जलजला गाउँपालिका वडा नम्बर ४ मोहनचोकमा २०१५ सालको आम निर्वाचनका नेपाली काँग्रेसबाट उम्मेदवार भएका मोहनबहादुर मल्लको परिवारले उक्त जग्गा प्रदान गरेका हुन ।
मोहनबहादुर मल्लका छोराहरु प्रतापबहादुर, प्रकाशबहादुर, दिपकबहादुर र दिप मल्ले झण्डै १० आनाबढी जग्गा निशुल्क प्रदान गरेका हुन । प्राप्त जग्गामा मोहनबहादुर मल्ल स्मृति भवन निर्माण गर्ने र उक्त भवन जलजला गाउँ समितिको स्वामित्वमा रहने नेपाली काँग्रेस पर्वतका कोषाध्यक्ष एवम् जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लले जानकारी दिए । उनका अनुसार सडकसँगै जोडिएको जग्गाको मोहडा ३० हात रहेको छ । उक्त ठाउँमा प्रति हात तीन लाख रुपैयाँमा जग्गा किनबेच हुने गरेको छ ।
उक्त जग्गामा निर्माण हुने भवनको सोमबार नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले शिलन्यास गरे । देउवाले गाउँपालिका कार्य समितिले समेत आफ्नै भवन निर्माण गर्ने कुरा सामान्य नभएको बताए । उनले जग्गा प्राप्ती र भवन निर्माणको अभियान थालेकोमा नेपाली काँग्रेस पर्वतका कोषाध्यक्ष एवम् जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ललाई धन्यबाद दिए । जग्गा प्राप्तीका लागि मल्लले पहल गर्दै आएका थिए । मल्लले शिलन्यास भएको भवन निर्माण तत्काल थाल्ने पनि जानकारी दिए । देउवाले लाखौ मुल्य बराबरको जग्गा पार्टीका निम्ति समर्पित गरेकोमा मोहनबहादुर मल्लको परिवारलाई समेत धन्यबाद दिएका थिए ।
जलजला गाउँपालिका नेपाली काँग्रेसका सभापति चन्द्रबहादुर जिसीले ९० लाख मुल्यको जग्गा निशुल्क प्रदान गरेकोमा मोहनबहादुर मल्लका परिवारलाई धन्यबाद दिए । मोहनबहादुर मल्ल २००७ सालअघिदेखि निरन्तर रुपमा प्रजातन्त्रको पक्षमा सक्रिय रहदै आएका थिए । उनको २०३५ सालमा निधन भएको थियो । उनको परिवारले बाबुको सम्झनामा काँग्रेसलाई जग्गा निशुल्क प्रदान गरेका हुन । भवनसँगै नेपाली काँग्रेस जलजलाले मोहनबहादुर मल्लको शालिकसमेत निर्माण गर्ने भएको छ ।
भवन शिलन्यासका अवसरमा नेपाली काँग्रेसका प्रवक्ता बिश्वप्रकाश शर्मा, नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वसांसद अर्जुनप्रसाद जोशी, नेपाली काँग्रेस पर्वतका सभापति खिमप्रसाद भुसाल, पूर्वसभापति नवराज गुरुङ, महासमिति सदस्य भवानीशंकर पौडेल, जग्गादाता प्रकाशबहादुर मल्ल, नेपाली काँग्रेस जलजलाका काँग्रेस सचिव नविन जिसी, जलजला गाउँपालिकाका राजनीतिक सल्लाहकार यामप्रसाद शर्मालगायतले बोलेका थिए । कार्यक्रममा नेकपा परित्याग गर्ने एक सय ५५ बढीलाई देउवाले पार्टी सदस्यता प्रदान गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!