पोखरा
गण्डकी प्रदेश सरकारले प्रदेश भित्र रहेका होमस्टे(घरबास) सञ्चालकहरुलाई तालिम दिन थालेको छ । उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजसँगको सहकार्यमा होमस्टे(घरबास) समितिका सदस्यहरुको लागि पाँच दिने आवासिय होमस्टे तालीम मंगलबार देखि शुरु गरेको छ ।
चैत ३० गतेसम्म सञ्चालन हुने तालीममा होमस्टे समितिका ५० जना सहभागि छन् । सहभागिलाई पर्यटकको स्वागतसत्कार, सरसफाई, खानपान लगायतका विषयमा प्रशिक्षण दिने कार्यक्रम छ । मन्त्रालयले होमस्टेमा पर्यटकीय पूर्वाधार निर्माणका लागि अनुदान उपलव्ध गराउन सम्झौता गरेका २३२ समितिलाईनै क्रमश तालीम प्रदान गर्ने भएको हो । पहिलो चरण ५० जनालाई तालिम दिन थालेको र बाकीँ लाई विभिन्न चरणमा तालिम दिइनेछ । सरकारले चालू आर्थिक वर्षमा ३०० सय होमस्टेलाई अनुदान उपलव्ध गराउन रु. ३० करोड बजेट विनियोजन गरेको थियो ।
प्रत्येक होमस्टेलाई रु. १० लाख बजेट उपलव्ध गराउने नीति अनूरुप प्रश्ताव आह्वान गरिएकोमा आवेदन गरेका २३२ मध्ये १९० समितिसँग सम्झौता गरिएको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले जनाएको छ ।
होमस्टे(घरबास) समितिका सदस्यहरुको लागि पाँच दिने आवासिय होमस्टे तालीमको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्नुभएको हो । तालिमको उद्धघाटन गर्दै मुख्य मन्त्री गुरुङले तालिम बाट व्यवस्थापकीय सीप प्रयोग गरेर पाहुनाले खोजेको नयाँ र अर्गानिक परिकार उपलव्ध गराउन आग्रह गर्नुभयो ।
प्रदेशको समृद्धिमा योगदान गर्ने गरी सीप र जाँगर भएका पौरखी हातलाई सरकारले जस्तो सुकै सहयोग गर्न पनि तयार रहेको बताउनुभयो । उहाँले भन्नुभयो,‘सरकारले दिएको रु १० लाखबाट धेरै फाईदा र आर्जन लिन सक्नुहुन्छ, तपाईहरु जाँगर चलाउनुहोस्,सरकारले सामर्थ र क्षमताले भ्याएसम्म आर्थिक, भौतिक, नैतिक, प्राविधिक जस्तोसुकै सहयोग प्रदान गर्दछ ।’ होमस्टे आतिथ्यतामैत्री हुनुपर्ने र एकपटक पुगेको पाहुनालाई पटकपटक जाउँ जाउँ लाग्ने गरी स्वागत र आतिथ्यता प्रदान गरिनुपर्ने भन्दै मुख्यमन्त्री गुरुङले अतिथि देवो भवःको नेपाली मान्यतालाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो ।

उद्योग पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालले सरकारले घोषणा गरेको आन्तरिक पर्यटन वर्षलाई सफल बनाउन यातायात, होटल तथा साहसिक मनोरञ्जनका क्षेत्रमा कम्तिमा पनि २० प्रतिशत छुटको व्यवस्था गर्ने गरी छलफल चलिरहेको जानकारी दिनुभयो । उहाँले १५ लाख पर्यटक भित्राउने लक्ष्यका साथ प्रदेश सरकारले घोषणा गरेको भ्रमण वर्ष सफल बनाउन होमस्टेको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।
गाउँघरका परम्परागत खानेकुरालाई आधुनिक शैलीमा पस्किएर पाहुनाको सेवा गर्नु गरी आफूलाई परिर्माजित गर्नुपर्ने भनाई उहाँको छ ।
कार्यक्रममा मन्त्रालयका सचिव विष्णुप्रसाद भण्डारी, कलेजका अध्यक्ष अशोक पालिखे लगायतले बोल्नुभएको थियो ।






