विज्ञान तथा प्रविधि देश विकासका लागि अपरिहार्य क्षेत्रःमन्त्री लम्साल - News site from Nepal


माधब पराजुली,पोखरा
गण्डकी प्रदेशका उद्योग,पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले विज्ञान र प्रविधिको विकास बिना अन्य विकासहरु अधुरै रहने बताउनुभएको छ ।
शनिवार कम्प्यूटर एशोसियसन नेपाल,महासंघ कास्कीले आयोजना गरेको सुचना प्रविधिको वृहत मेलालाई समापन गर्दै मन्त्री लम्सालले विज्ञान र प्रविधिको भरपुर मात्रामा प्रयोग गर्न नजानेमा नयाँ नेपालको परिकल्पना गर्न नसकिने बताउनुभयो ।
सूचना र प्रविधिको प्रयोगमा सक्षम नभएसम्म समस्याहरुको समाधान गर्न नसकिने बताउदै वैज्ञानिक समाग्रीहरुको भरपुर प्रयोग गर्दै देशलाई शक्तिशाली बनाउनुपर्नेमा जोड दिनुभयो ।
विज्ञान तथा प्रविधि देश विकासका लागि अपरिहार्य क्षेत्र भएकाले यस क्षेत्रको विकासमा अझ सशक्त रुपमा क्रियाशील हुन सम्बन्धित संघ संस्थाहरुलाई आग्रह गर्नुभयो ।
प्रदेशलाई विज्ञान तथा प्रविधी मैत्री बनाउन गण्डकी प्रदेश सरकारले विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान स्थापना गर्न लागेको बताउदै मन्त्री लम्सालले प्रविधिको माध्यम बाट कामलाई सहज,छिटो र छरितो बनाउनेतर्फ लाग्नु पर्ने बताउनुभयो । विश्वका विकसित देशहरूको आर्थिक विकासको प्रमुख आधार विश्वविद्यालयको अनुसन्धानबाट प्रविधि विकास र प्रविधिलाई व्यापारीकरण गर्नु भएको बताउदै अनुसन्धानबाट कसरी आर्थिक समृद्धि हासिल गर्न सकिन्छ भन्ने पछिल्लो सबैभन्दा सफल उदाहरण गुगल कम्पनीलाई लिन सकिने उहाँको भनाई थियो ।
कम्प्यूटर एशोसियसन नेपाल महासंघ कास्कीका अध्यक्ष युवराज पौडेलले विज्ञान प्रविधिले मुलुकको सामाजिक, आर्थिक विकासमा अहम् भूमिका निर्वाह गर्ने बताउदै विज्ञान प्रविधिको समुचित विकासले नै गरिबी निवारण गर्न, कृषि व्यवसायको आधुनिकीकरण, रोजगारी सिर्जना गर्न सकिने हुदाँ सरकारले विज्ञान,प्रविधिको क्षेत्रमा बिशेष जोडदिनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!