पर्वत– सरकारद्धारा प्रतिवन्धित विप्लब समुहका पर्वत जिल्ला सदस्य प्रकाशजंग लामिछाने पक्राउ परेका छन् ।
गत साउन १५ गते पर्वत जिल्लाको मोदी गाउँपालिका वडा नं. ६ तिलाहारमा एनसेलको टावरमा भएको आगजनीमा संलग्न भएको आशंकामा लामिछानेलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय पर्वतले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका जिल्ला सदस्य लामिछानेलाई शनिवार मोदी गाउँपालिका वडा नं. ६ मा रहेको घरबाट नियन्त्रणमा लिएको हो । टावरमा आगजनी गर्नेहरुको खोजी गर्ने क्रममा उनिमाथि शंका रहेकोले उनलाई घरबाट नै नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिए ।
साउन १५ गते तिलाहारको थानाकोट मन्दिरको डाँडामा रहेको उक्त एनसेलको टावरमा आगजनी भएको थियो । आगलागीबाट टावरको केही भाग जलेर आंशिक क्षति भएको थियो । टावरमा कस्ले आगजनी गरेको भन्ने बारेमा थाहा नभए पनि विप्लव समूहको संलग्नता रहेको अनुमान गरेर संलग्न व्यक्तिहरूको खोजी गरिएको प्रहरी निरीक्षक रायमाझीको भनाइ छ ।
लामिछानेलाई आईतवार जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।






