
पर्वत ः पर्वतको कुश्मा नगरपालिका वडा नं. १२ ठूलीपोखरीका झण्डै २ सय ५० जना ६० वर्ष उमेर नाघेका जेष्ठ नागरिकलाई गाउँमै पुगेर परिचय पत्र वितरण गरिएको छ ।
परिचय पत्र लिनका लागि सदमुकाम कुश्माबजारमा रहेको नगरपालिकाको कार्यालयसम्म आउन जान नसक्ने र आर्थिक रुपमा पनि विपन्न समुदायलाई लक्षित गरि गाउँमै पुगेर शिविर संचालन गरिएको कुश्मा नगरपालिका महिला विकास शाखाकी प्रमुख डिलकुमारी शर्माले जानकारी दिनुभयो ।
ठुलीपोखरीको वडा कार्यालयमा दुई दिनसम्म शिविर संचालन गरी स्थानीय जेष्ठ नागरिकलाई परिचय पत्र वितरण गरिएको वडा अध्यक्ष राजेन्द्र पौडेलले जानकारी दिनुभयो । नगरपालिकाको कार्यालय सम्म पुगेर परिचय पत्र लिन नक्सदा राज्यका विभिन्न सेवा सुविधाबाट बञ्चित हुनुपरेको गुनासो बृद्धबृद्धाहरुले गरेपछि गाउँमै शिविर संचालन गरेर वितरण गरिएको अध्यक्ष पौडेलले जानकारी दिनुभयो ।
नगरपालिकाको सामजिक विकास शाखाको आयोजनामा २ दिने कार्यक्रम संचालन गरिएको थियो । शिविरमा ६० वर्षदेखि ९५ वर्ष उमेर समुह सम्मका बृद्ध बृद्धाहरुलाई परिचय पत्र वितरण गरिएको वडाध्यक्ष पौडेलले बताउनुभयो । यससँंगै जेष्ठ नागरिक कार्यबिधि अनुसार ज्येष्ठ नागरिकहरुलाई सरकारबाट उपलब्ध हुने सेवा सुविधा सजिलैसँग लिन सजिलो हुने भएको छ । कुश्मा नगरपालिकाले सदरमुकाम भन्दा टाढा रहेका अन्य बस्तीहरुमा पनि शिविरनै खडा गरी परिचय पत्र वितरणको कार्यक्रम संचालन गर्ने तयारी गरेको शाखा अधिकृत नविन सुवेदीले जानकारी दिनुभयो । यस अघि आयोजित कार्यक्रमको संचालन वडा कार्यालय सहायक रमेश पौडेलले गर्नुभएको थियो ।