राजकीय सम्मानका साथ मन्त्री अधिकारीको अन्त्येष्टि - News site from Nepal
राजकीय सम्मानका साथ मन्त्री अधिकारीको अन्त्येष्टि

पोखरा । ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परी दिवंगत हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीको आज उहाँको गृह जिल्ला कास्कीको रामघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । 

दिवंगत अधिकारीको पार्थिव शरीरमा उहाँकी श्रीमती विद्या भट्टराई र छोराहरु विराज र स्वराज अधिकारीले दागवत्ति दिनुभएको थियो । 

स्वर्गीय अधिकारीको सम्मानमा नेपाली सेनाको टोलीले सलामी अर्पण गरेको थियो । 

यसअघि, स्वर्गीय अधिकारीको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि पोखराको प्रदर्शनी केन्द्रमा राखिएको थियो ।

प्रदर्शनी केन्द्रमा स्व. अधिकारीका माताा लक्ष्मी अधिकारी र पिता इन्द्रप्रसाद अधिकारीले अल्पायुमै ज्यान गुमाउनुभएका जेष्ठ सुपुत्र रवीन्द्रको पार्थिव शरीमा श्रद्धासुमन अर्पण गर्नुभएको थियो । 

नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री इश्वर पोख्रेल र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले स्व. अधिकारीको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाउनुभएको थियो ।

यसैगरी, नेकपाका नेताहरु वामदेव गौतम र नारायणकाजी श्रेष्ठले पार्टीको स्वर्गीय अधिकारीको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाउनुभएको थियो ।

श्रद्धाञ्जलीपछि पोखराको नयाँबजार, महेन्द्रपुल, रानीपौवा, अस्पतालचोक र गीता मन्दिर हुँदै रामघाटसम्म करिव एक घण्टा शवयात्रा गरिएको थियो ।

स्वर्गीय अधिकारीको पार्थिव शरीर आजै काठमाडौंबाट पोखरा लगिएको हो । 

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!