पर्वत १४ साउन : दक्षिण पर्वतको पैयूँ गाउँपालिकाको कार्यालयदेखि पैैंयू आधारभुत अस्पताल जोड्ने सठक कालोपत्र गर्न थालिएको छ ।
गाउँपालिकाको कार्यालयदेखि हातेमालो चोक हुँदै पैयूँ आधारभूत अस्पतालसम्मको झण्डै दुई किलोमिटर सडक कालोपत्र गनेर्न लागिएको हो । पालिकाको मुख्य सडकलाई अत्याधुनिक अक्सफाल्ट प्रविधिबाट कालोपत्रे गर्ने कार्यलाई तीव्र बनाएको छ ।
गाउँपालिकाको आन्तरिक श्रोतवाट दुई करोडको लगानीमा निर्माण भइरहेको सडकमा गुणस्तरीय र दीर्घकालसम्म टिक्ने अक्सफाल्ट प्रविधि प्रयोग गरिएको गाउँपालिकाले जनाएको छ । सडक निर्माण सम्पन्न भएपछि प्रशासनिक केन्द्र, मुख्य बजार र आधारभूत अस्पतालबीचको आवागमन थप सहज, सुरक्षित र व्यवस्थित हुने अपेक्षा गरिएको छ ।
गाउँपालिका अध्यक्ष तोरण मल्ल ठकुरीले दीर्घकालीन पूर्वाधार विकास योजनाअन्तर्गत उक्त सडकलाई उच्च प्राथमिकतामा राखिएको बताउनुभयो । गुणस्तरीय सडक निर्माणमार्फत नागरिकलाई सुरक्षित, सहज र भरपर्दो यातायात सुविधा उपलब्ध गराउने लक्ष्यका साथ काम अघि बढाइएको उहाँको भनाइ छ । निर्धारित समयमै निर्माण सम्पन्न गरी स्थानीयवासीलाई विकासको प्रत्यक्ष अनुभूति गराउने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो ।
उपाध्यक्ष यामकुमारी रानाले गाउँपालिकाको प्रशासनिक केन्द्र, मुख्य व्यापारिक क्षेत्र र पैयूँ आधारभूत अस्पताललाई जोड्ने यो सडक दैनिक सेवाग्राही, विद्यार्थी, बिरामी तथा स्थानीयवासीका लागि अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो । सडक सञ्चालनमा आएपछि सरकारी सेवा प्रवाह थप प्रभावकारी बन्नुका साथै स्वास्थ्य सेवा र शिक्षामा नागरिकको पहुँच सहज हुने तथा स्थानीय व्यापार–व्यवसाय र आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पर्ने उहाँको विश्वास छ ।
निर्माण कार्य द्रुत गतिमा अघि बढिरहेको छ । आधुनिक प्रविधिबाट गुणस्तरीय सडक निर्माण हुन थालेपछि स्थानीयवासीमा उत्साह थपिएको छ । सडक सम्पन्न भएपछि पैयूँ गाउँपालिकाको मुख्य प्रशासनिक तथा सेवा केन्द्रबीचको आवागमन सहज बन्नुका साथै समग्र स्थानीय विकासले नयाँ गति लिने अपेक्षा गरिएको स्थानीयले बताएका छन् ।
सडक कालोपत्रको काम चालु आर्थिक वर्षभित्रै सम्पन्न हुने भएको छ ।






