पर्वत– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली काँग्रेस पर्वतका उम्मेदवार अर्जुनप्रसाद जोशीको चुनावी अभियान बुधवारदेखि शुरु भएको छ ।
जोशीले पहिलो दिन जिल्लाको तीनवटा वडामा पुगेर स्थानीय पार्टी कार्यसमितिले आयोजना गरेका बैठकलाई सम्वोधन गर्नुका साथै भेटघाट र घरदैलो गर्नुभएको छ । एमालेको गढ मानिने कुश्मा नगरपालिका वडा नं. १० पिपलटारीवाट अभियान थाल्नुभएका जोशीले कटुवाचौपारी र खानीगाउँसम्म पुग्नुभएको हो ।
सो अवसरमा जोशीले पर्वत जिल्लाका समग्र विकास र समृद्धिका लागि यसपटक आफुलाई बिजयी गराउन आग्रह गर्नुभएको छ । यस अघिका तीन कार्यकालमा आफुले जिल्लाको विकासको रेखांकन गरेको, सडक, विद्युत, खानेपानी, सिंचाईका थुपै्र योजनाहरु अघि बढाएको र अझैपनि कतिपय योजनाहरुले पुर्णता पाउन नसकेको बताउँदै जिल्लाको विकास गर्ने मुख्य अर्जुनदृष्टि लिएर आफु निर्वाचनमा अघि बढेको बताउनुभयो ।
आफ्नो लामो राजनीतिक दौरानमा पर्वतवासी नागरिकका समस्या, चाहना र आवश्यकतासँग आफु परिचित रहेको बताउँदै अन्तिमपटक जनतासँग मत माग्न आएको बताउनुभयो । उहाँले नेपाली काँग्रेस नयाँ नेतृत्व र नयाँ सोचका साथ अघि बढेको बताउँदै जोशीले अब मुलुकलाई नयाँ दिशातर्फ लैजानका लागि, नेपाली नागरिकहरुको मुहारमा खुसी ल्याउनका लागि पनि काँग्रेसलाई बिजयी गराउन अपिल गर्नुभएको छ ।
उहाँले अबको पाँच वर्षमा जिल्लाका नागरिकका आवश्यक देखिएका सवै योजनाहरु पुरा गर्नेगरी आफु सक्रिय रहने बताउनुभयो । वडा र टोलसम्मका सडक स्तरोन्नती, सवै घरमा खानेपानीका धारा, गुणस्तरीय शिक्षा, बाँदरको समस्या समाधान, रोजगारी सिर्जना, गाउँमा रहेका स्वास्थ्य संस्थाहरुको स्तरबृद्धि गरी गुणस्तरीय स्वास्थ्यको पहूँच विस्तार, गरिब, निमुखा र असहायकोहरुको लागि विशेष प्याकेज कार्यक्रमहरु संचालन गर्ने कार्ययोजना बनाएको बताउँदै आफुलाई नेपाली काँग्रेस मात्र नभई साझा उम्मेदवारको रुपमा मत दिएर बिजयी गराउन आग्रह गर्नुभएको छ ।
कार्यक्रममा नेपाली काँग्रेस केन्द्रीय सदस्य मुना भुसाल, सनम बेगम, जिल्ला सभापति युवराज जोशी, गण्डकी प्रदेश सभा सदस्य रेखा गुरुङ, उपसभापति शिव सुवेदी, फलेवासका नगरप्रमुख गंगाधर तिवारी, नेता राम शर्मा पौडेल, ओम शर्मा चापागाई लगायत स्थानीय नेता तथा कार्यकर्ताहरुले काँग्रेको रुपान्तरण सँगै मुलुकको परिवर्तन र विकासका लागी रुख चिन्हमा मतदान गर्न आग्रह गर्नुभएको थियो ।
जोशीले आज कुश्मा नगरपालिका वडा नं. १२ र १३ मा भेटघाट, छलफल र अन्तरक्रिया गर्नुहुने भएको छ ।
पर्वतमा उम्मेदवारी दिएका नेकपा एमालेले माघ १७ गतेदेखि अभियान थाल्ने भएको छ भने नेकपाले १३ गतेदेखि र राश्वपाले १२ गतेदेखि नै चुनावी गतिविधि अघि बढाएका छन् । अन्य साना दलहरु समेत विभिन्न कार्यक्रम गरिरहेको जनाएका छन् ।






