पर्वत – पर्वतको मोदी गाउँपालिका बालमैत्री स्थानीय शासनयुक्त गाउँपालिका घोषणाको अन्तिम तयारीमा जुटेको छ। गाउँपालिकाभित्रका सबै आठवटै वडाहरूलाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिसकिएकाले अब सिंगो गाउँपालिकालाई नै घोषणा गर्ने कार्य अन्तिम चरणमा पुगेको हो।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पुरीका अनुसार बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका, २०७९ का सूचकहरूमा मोदी गाउँपालिकाले ८० प्रतिशतभन्दा बढी अंक प्राप्त गरिसकेको छ। घोषणाका लागि आवश्यक पर्ने सम्पूर्ण संस्थागत तथा प्रक्रियागत सूचकहरू पूरा भइसकेकाले अब औपचारिक घोषणाको चरणमा पुगिएको प्रमुख प्रशासकीय अधिकृत पुरीले जानकारी दिनुभयो।
गाउँपालिकाका अध्यक्ष हिरा देवी शर्माले बालबालिकाहरूको संरक्षण, सम्बर्द्धन र उनीहरूमाथि हुने जुनसुकै प्रकारका हिंसा, शोषण, दुर्व्यवहार, शारीरिक तथा मानसिक यातना र भेदभावको अन्त्य गर्नु स्थानीय सरकारको प्रमुख दायित्व रहेको बताउनुभयो। उहाँले बालबालिकाहरूलाई योजना तर्जुमादेखि बजेट कार्यान्वयनसम्मका हरेक प्रक्रियामा सहभागी गराउँदै लागिएको स्पष्ट पार्नुभयो।
गाउँपालिकाका विभिन्न आठ वडामा गरी कुल ७ हजार १ सय ३६ जना बालबालिकाहरू रहेका छन्। ती सबै बालबालिकाको नैसर्गिक अधिकार सुनिश्चित गर्न गाउँपालिकाका जनप्रतिनिधि, सबै राजनीतिक दल र सरोकारवाला निकायहरू प्रतिबद्ध रहेको गाउँपालिकाले जनाएको छ। मोदी गाउँपालिकाको यो कदमले बालबालिकाका लागि सुरक्षित, भयरहित र बालमैत्री वातावरणमा हुर्कने, पढ्ने र खेल्ने अधिकार सुनिश्चित गर्ने विश्वास लिइएको छ।






