फलेवासमा ४० विद्यार्थीलाई न्यानो कपडा वितरण - News site from Nepal
फलेवासमा ४० विद्यार्थीलाई न्यानो कपडा वितरण

पर्वत –  पर्वतको फलेवास नगरपालिका–१० कुर्घामा अवस्थित सरस्वती आधारभूत विद्यालयमा अध्ययनरत ४० जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ। जाडो मौसममा विद्यार्थीहरूको पठनपाठन सहज बनाउने उद्देश्यले समाजसेवी एवम् शैक्षिक सुधार अभियान्ता तथा नेपाली काँग्रेस पर्वत–काठमाडौँ सम्पर्क समितिका अध्यक्ष ओम शर्मा चापागाईंको सहयोगमा न्यानो कपडा उपलब्ध गराइएको हो। यस अवसरमा विद्यालयमै आयोजित एक कार्यक्रममा अभिभावकको समेत उपस्थितिमा विद्यार्थीहरूलाई कपडा वितरण गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि एवम् कुर्घाका वडाअध्यक्ष अम्बर बहादुर क्षेत्रीले यस्ता सहयोगात्मक कार्यले समुदायमा सकारात्मक सन्देश प्रवाह हुने उल्लेख गर्दै सहयोगीदाता तथा कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गर्नुभयो।

न्यानो कपडा सहयोग उपलब्ध गराउने ओम शर्मा चापागाईंले आफ्नो सानो सहयोगले विद्यार्थीहरूमा पढाइप्रति थप प्रेरणा जागोस् भन्ने कामना गर्दै विद्यालयको शैक्षिक सुधारका लागि सधैं साथ रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

त्यसैगरी नेपाली काँग्रेसका सभापति मेघराज शर्माले शुभकामना मन्तव्य व्यक्त गर्दै यस्ता मानवीय तथा अनुकरणीय कार्यका लागि सहयोगीदाताप्रति आभार प्रकट गर्नुभयो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कालिदास चापागाईंको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नगर उपसभापति नन्दलाल शर्मा तथा नेकपा एमालेका पूर्व उपाध्यक्ष गोविन्द बहादुर क्षेत्री लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको सुरुवातमा विद्यालयका शिक्षक रामप्रसाद शर्माले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!