पर्वत- पर्वतको बिहादी गाउँपालिकाले आधुनिक कृषि प्रणालीलाई प्रवर्द्धन गर्ने उद्देश्यले ‘हाइटेक टनेल निर्माण कार्यक्रम’ अन्तर्गत कृषकहरूलाई ठूलो रकम अनुदान दिने भएको छ। गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ को स्वीकृत वार्षिक कार्यक्रम र संघीय विशेष अनुदान अन्तर्गत कृषकहरूलाई ८० प्रतिशत अनुदान उपलब्ध गराउन लागेको हो। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत थमन बहादुर रेश्मीका अनुसार यस कार्यक्रमका लागि कुल १ करोड ८० लाख रुपैयाँ बराबरको बजेट विनियोजन गरिएको छ। यो कार्यक्रममार्फत गाउँपालिकाभित्रका व्यावसायिक कृषक, कृषि सहकारी, कृषक समूह र कृषि फर्महरू प्रत्यक्ष लाभान्वित हुनेछन्।
हाइटेक टनेल निर्माण गर्न इच्छुक र योग्यता पुगेका कृषक तथा संस्थाहरूलाई सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र अर्थात् २०८३ भदौ २३ गतेसम्म आवेदन दिन गाउँपालिकाले आह्वान गरेको छ। आवेदन फारम विहादी गाउँपालिकाको कार्यालय वा सम्बन्धित वडा कार्यालयहरूमा उपलब्ध हुने र तोकिएको ढाँचामा भरेर रितपूर्वक बुझाउनुपर्ने व्यवस्था गरिएको छ।
अनुदान प्राप्त गर्नका लागि आवेदकहरूले विभिन्न आवश्यक प्रक्रिया र कागजातहरू पुरा गर्नुपर्ने शर्त राखिएको छ। इच्छुक कृषक वा संस्थाहरूले तोकिएको ढाँचा अनुसारको निवेदनका साथमा संक्षिप्त व्यावसायिक कार्ययोजना र सम्बन्धित वडा कार्यालयको सिफारिस अनिवार्य रूपमा पेश गर्नुपर्नेछ। यसका साथै आवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि वा कृषक वर्गीकरण परिचयपत्र, लालपुर्जा तथा जग्गा करारनामा लिएको प्रमाणपत्रको प्रतिलिपि पनि आवश्यक पर्नेछ। कृषकहरूले हालसम्म यस्तो प्रकृतिको अन्य कुनै अनुदान नलिएको स्वघोषणा पत्र समेत समावेश गर्नुपर्ने नियम बनाइएको छ। यदि आवेदन दिने पक्ष समूह वा सहकारी हो भने कार्यक्रम माग गर्ने सम्बन्धी समूहको निर्णयको प्रतिलिपि चाहिन्छ भने फर्म वा समूहको हकमा संस्था दर्ता, नवीकरण र कर चुक्ता गरेको प्रमाणपत्रको प्रतिलिपि समेत अनिवार्य रूपमा पेश गर्नुपर्ने गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाले रित नपुगेका वा तोकिएको म्याद नाघेर प्राप्त हुन आएका प्रस्तावहरूलाई छनोट प्रक्रियामा समावेश नगर्ने स्पष्ट पारेको छ। परम्परागत खेती प्रणालीलाई आधुनिक प्रविधिमा रूपान्तरण गरी गाउँपालिकाभित्र कृषि उत्पादन र उत्पादकत्व बढाउन यो कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।






