पर्वत,साउन २ – जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार गण्डकी प्रदेशसहित देशका विभिन्न क्षेत्रमा शनिबार र आइतबार मनसुनी गतिविधि थप सक्रिय भई मध्यमदेखि भारी वर्षा हुने सम्भावना रहेपछि जिल्ला प्रशासन कार्यालय पर्वतले जिल्लावासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पौडेलद्वारा जारी अत्यन्त जरुरी सूचना तथा स्थानीय तहलाई पठाइएको पत्रमार्फत सम्भावित बाढी, पहिरो, डुबान, भू–क्षय तथा सडक अवरुद्ध हुने जोखिमलाई मध्यनजर गर्दै आवश्यक पूर्वतयारी गर्न निर्देशन दिइएको हो।
प्रशासनले अत्यावश्यक कामबाहेक रातिको समयमा लामो दूरीको यात्रा नगर्न, यात्रा गर्नै परे जल तथा मौसम विज्ञान विभागका आधिकारिक सूचना नियमित रूपमा हेर्न र जोखिमयुक्त क्षेत्रमा विशेष सावधानी अपनाउन आग्रह गरेको छ। बाढी तथा पहिरोको उच्च जोखिम रहेका नदी किनार र पहाडी बस्तीका नागरिकलाई आवश्यक परे सुरक्षित स्थानमा सार्ने व्यवस्था मिलाउन पनि स्थानीय तह र सुरक्षा निकायलाई अनुरोध गरिएको छ।
यस्तै, जोखिमयुक्त क्षेत्रका बासिन्दालाई आपत्कालीन अवस्थाका लागि आवश्यक लत्ताकपडा, औषधि, महत्वपूर्ण कागजात तथा अन्य अत्यावश्यक सामग्रीसहितको झोला तयारी अवस्थामा राख्न सुझाव दिइएको छ।
प्रशासनले मध्यपहाडी लोकमार्ग, कालीगण्डकी करिडोर तथा अन्य जोखिमयुक्त सडक खण्डमा पहिरो वा अवरोध हटाउन आवश्यक पर्ने डोजर, एक्साभेटर लगायतका हेभी उपकरण तत्काल परिचालन गर्न मिल्ने गरी तयारी अवस्थामा राख्न सम्बन्धित कार्यालय, स्थानीय तह तथा निजी क्षेत्रलाई निर्देशन दिएको छ।
यसैगरी सबै स्थानीय तह, नेपाल रेडक्रस सोसाइटी, सुरक्षा निकाय, साझेदार संस्था, निजी क्षेत्र, नागरिक समाज तथा अन्य सरोकारवाला निकायलाई विपद् पूर्वतयारी र आवश्यक प्रतिकार्यका लागि समन्वयसहित तयारी अवस्थामा रहन आग्रह गरिएको छ।
प्रशासनले सबै स्थानीय तहलाई छुट्टै पत्राचार गर्दै नागरिकलाई समयमै सूचना प्रवाह गर्न, जनप्रतिनिधि तथा विपद् स्वयंसेवकलाई तयारी अवस्थामा राख्न, जोखिमयुक्त बस्तीका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने व्यवस्था मिलाउन तथा सडक अवरुद्ध भए तत्काल डोजर, एक्साभेटरजस्ता उपकरण परिचालन हुने गरी आवश्यक प्रबन्ध गर्न निर्देशन दिएको छ।
कुनै पनि विपद्जन्य घटना भएमा तत्काल स्थानीय तह, नजिकको प्रहरी कार्यालय वा सुरक्षा निकायलाई जानकारी गराउन तथा जिल्ला विपद् आपत्कालीन सम्पर्क नम्बरमार्फत सम्पर्क गर्न प्रशासनले आग्रह गरेको छ। प्रशासनले नागरिकलाई अफवाहमा विश्वास नगरी आधिकारिक सूचना मात्र पछ्याउनसमेत अनुरोध गरेको छ।






