भु– तथा जलाधार व्यवस्थापन कार्यालयका योजनाहरुको अनुगमन, ९० प्रतिशत प्रगति - News site from Nepal
पर्वत– भु तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतद्धारा गत आर्थिक वर्षमा संचालित योजनाहरुको अनुगमन तथा समन्वय गोष्ठि सम्पन्न गरिएको छ । बहुसरोकारवाला निकायको सहभागितामा योजनाहरुको अनुगमन गरिएको हो । प्राकृतिक श्रोतको संरक्षण, पहिरो तथा भुक्षय रोकथाम, पोखरी तथा इनार संरक्षण तथा बाढीको असर न्यूनिकरणका लागि पर्वतका विभिन्न क्षेत्रमा गरिएका योजनाहरु अनुगमन गरिएको हो ।
भु तथा जलाधार कार्यालय पर्वतका प्रमुख शम्भुकुमार मिश्रका अनुसार गत आर्थिक वर्षमा निर्धारित योजनाहरु अधिकांस सम्पन्न भएको बताउनुभयो । पाँच जिल्ला कार्यक्षेत्र रहेको उक्त कार्यालयका अधिकांस योजना पुरा भएका हुन् । केहि योजनाहरु उपभोक्ता समितिको ढिलासुस्ती, जग्गा विवाद र अन्य केहि कारणले संचालननै हुन नसकेको उहाँले बताउनुभयो ।
मिश्रका अनुसार गत आर्थिक वर्षमा पाँच जिल्लामा गरी ९४ स्थानमा गल्छी, पहिरो नियन्त्रण, ४९ स्थानमा खोला किनार संरक्षण, ६ वटा सिंचाई कुलो संरक्षण, १३ वटा पोखरी संरक्षण गरिएको छ ।
यसैगरी चारवटा पानी मुहान संरक्षण, तीनवटा पुर्वाधार संरक्षण, तीन स्थानमा भु संरक्षण प्रदर्शन स्थल निर्माण, एक हजार ९ सय २५ वटा बाँसका विरुवा वितरण, ५० हजार डालेघाँस विरुवा उत्पादन तथा वितरण, दुई वटा कम खर्चिलो प्रविधि तालिम गरी एक सय ७२ वटा योजना सम्पन्न भएको कार्यालय प्रमुख मिश्रले जानकारी दिनुभयो ।
कार्यालयले गत आर्थिक वर्षमा समग्र भौतीक प्रगति ९० प्रतिशत र वित्तिय प्रगति ८१ प्रतिशत सम्पन्न गरेको छ ।
यसैगरी संघीय योजना तर्फ भौतीक प्रगति ८० प्रतिशत र वित्तिय प्रगति ७९ प्रतिशत गरेको जनाएको छ ।
अनुगमनमा जिल्ला समन्वय समितिका उपप्रमुख सोम जिसी, प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पौडेल, मोदी गाउँपालिकाका अध्यक्ष हिरादेवी शर्मा लगायत जनप्रतिनिधि, विभिन्न कार्यालयका कर्मचारी, पत्रकार लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!