पर्वत – जिल्ला प्रशासन कार्यालय पर्वतको आयोजनामा जलजला गाउँपालिकामा सार्वजनिक सुनुवाइ, लागूऔषध नियन्त्रणसम्बन्धी सचेतनामूलक कार्यक्रम तथा समुदाय–प्रहरी साझेदारी कार्यक्रम सम्पन्न भएको छ।
मंगलबार जलजला गाउँपालिकाको केन्द्र लामाखेतमा आयोजित कार्यक्रममा आर्थिक वर्ष २०८२/८३ मा जिल्ला प्रशासन कार्यालय पर्वतले सम्पादन गरेका कामकारबाही, सेवा प्रवाह तथा उपलब्धिहरू सार्वजनिक गरिएको थियो। साथै सुरक्षा निकाय, प्रदेश सरकार र स्थानीय तहबीचको समन्वय तथा सहकार्यलाई प्रभावकारी बनाउने, लागूऔषधको बढ्दो दुव्र्यसन तथा ओसारपसार नियन्त्रण, शान्ति सुरक्षा सुदृढीकरण, समुदाय–प्रहरी साझेदारी, प्रभावकारी सार्वजनिक सेवा प्रवाह तथा सहभागितामूलक सुशासनका विषयमा अन्तरक्रिया गरिएको थियो।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लक्ष्मी प्रसाद पोखरेल, सहायक प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद पौडेल, सशस्त्र प्रहरी बलका प्रमुख क्षितिज क्षेत्री तथा प्रहरी नायब उपरीक्षक विजय यादवले आर्थिक वर्ष २०८२/८३ मा सम्पादन भएका काम, सेवा प्रवाह, शान्ति सुरक्षा तथा लागूऔषध नियन्त्रणका क्षेत्रमा भएका गतिविधिबारे प्रस्तुति दिएका थिए।
अन्तरक्रियाका क्रममा सहभागीहरूले सेवा प्रवाह, सुशासन, विकास निर्माण, शान्ति सुरक्षा, लागूऔषध नियन्त्रण तथा नागरिकका सरोकारसँग सम्बन्धित विभिन्न प्रश्न, सुझाव र गुनासाहरू राखेका थिए। उठाइएका जिज्ञासाको प्रमुख जिल्ला अधिकारी लक्ष्मी प्रसाद पोखरेल, प्रहरी नायब उपरीक्षक विजय यादव, सशस्त्र प्रहरी उपरीक्षक क्षितिज क्षेत्री तथा सहायक प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद पौडेलले जवाफ दिँदै सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।
कार्यक्रममा सहभागीहरूले लागूऔषधमुक्त, सुरक्षित र सभ्य समाज निर्माणका लागि सुरक्षा निकाय, स्थानीय तह, सरोकारवाला संस्था र समुदायबीचको सहकार्यलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिएका थिए। जिल्ला प्रशासन कार्यालयले यस्ता कार्यक्रममार्फत नागरिकसँग प्रत्यक्ष संवाद, सुशासन प्रवर्द्धन, पारदर्शिता अभिवृद्धि तथा नागरिक सहभागिता सुनिश्चित गर्ने उद्देश्य रहेको जनाएको छ।
सार्वजनिक सुनुवाइ तथा सचेतनामूलक कार्यक्रममा विभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधि, सुरक्षा निकायका अधिकारी, राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज, सञ्चारकर्मी, स्थानीय बासिन्दा तथा लक्षित वर्गका व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
जिल्ला प्रशासन कार्यालय, कुश्मा पर्वतको आयोजनामा, जलजला गाउँपालिकाको समन्वय तथा जिल्ला प्रहरी कार्यालय पर्वत र प्रहरी चौकी मिलनचोकको सहकार्यमा सम्पन्न कार्यक्रमको अध्यक्षता प्रमुख जिल्ला अधिकारी लक्ष्मी प्रसाद पोखरेलले गर्नुभएको थियो। जलजला गाउँपालिकाका अध्यक्ष राजु प्रसाद आचार्य प्रमुख अतिथि रहनुभएको कार्यक्रमको सञ्चालन जिल्ला प्रशासन कार्यालय पर्वतका भरत सापकोटाले गर्नुभएको थियो भने स्वागत मन्तव्य जलजला गाउँपालिकाका प्रशासन अधिकृत हरिकृष्ण आचार्यले व्यक्त गर्नुभएको थियो।






