पर्वत, ३० वैशाख : समुद्री सतहदेखि तीन हजार तीन सय मिटरको उचाईमा रहेको पर्वतको जलजला स्थित कालाञ्जरमा आयोजित एकवर्षे श्रीमद्भागवत ज्ञान महायज्ञ सम्पन्न भएको छ ।
ऐतिहासिक धर्मग्रन्थहरुमा उल्लेखित जलजला, कालाञ्जर, मृगसरोबर र हम्पाल क्षेत्रको धार्मिक, ऐतिहासिक तथा प्राकृतिक महत्व उजागर गर्ने उद्देश्यले जलजला गाउँपालिका–६ र मोदी गाउँपालिका–४ मा पर्ने हम्पालको धुरीस्थित कालाञ्जर क्षेत्रमा विगत एकबर्षदेखि महायज्ञ सञ्चालन गरिएको थियो ।
कालाञ्जरको प्रचार–प्रसार तथा धार्मिक महत्व विस्तारका लागि महायज्ञ आयोजना गरिएको जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले जानकारी दिनुभयो । आचार्यका अनुसार गतवर्ष वैशाख २४ गतेदेखि सुरु भएको महायज्ञलाई यस वर्ष वैशाख १५ देखि ३० गतेसम्म १५ दिने वृहत समापन तथा एक सय ८ पाठपरायण सहित पुर्णाहुती गरेर समापन गरिएको हो ।
समुद्री सतहदेखि ३,३०० मिटर उचाइमा अवस्थित कालाञ्जर क्षेत्रलाई ‘मृगसरोवर’ का रूपमा पनि चिनिन्छ । धार्मिक आस्थाका दृष्टिले महत्वपूर्ण मानिने यस क्षेत्रमा राजा भरतले तपस्या गरेको मुक्तिनाथ पीठाधीश्वर श्वामी कमलनयन आचार्यले जानकारी दिनुभयो । ‘कालाञ्जरको नाम उच्चारण गर्दा मात्र पनि सिद्धि प्राप्त हुन्छ’ आचार्यले भन्नुभयो, ‘विभिन्न पुराणमा समेत यसको महिमा उल्लेख भएकाले स्थानीय तहमा यसको पहिचान विस्तार आवश्यक भएको उहाँले वताउनु भयो ।
महायज्ञ अन्तर्गत अष्टोत्तरशत (१०८) श्रीमद्भागवत पाठपारायणसहित विभिन्न धार्मिक कार्यक्रम सञ्चालन भइरहेका छन् । महायज्ञ सुरु भएदेखि तीन जना पण्डित तथा तपस्वीले निरन्तर हवन र पाठपारायण गरिरहेका थिए भने समापन अवधिमा श्रद्धालु भक्तजनको सहभागितामा कार्यक्रमलाई थप व्यापक बनाइएको आयोजकले जनाएको छ । महायज्ञमार्फत सामाजिक तथा आध्यात्मिक चेतना अभिवृद्धि, धार्मिक पर्यटन प्रवद्र्धन र साधना केन्द्रको विकास गर्ने लक्ष्य राखिएको थियो ।
यसैगरी भ्यूप्वाइन्ट, खानेपानीको व्यवस्था, शौचालय निर्माण र सडक स्तरोन्नति लगायतको पूर्वाधार समेत निर्माण गरिसकिएको छ । हम्पाल र जलजलालाई पर्यटकीय स्थलका रुपमा विकास गर्न करिब रु.एक अर्बको लागत अनुमान गरिएको डिपिआर तयार पारी पूर्वाधार निर्माण गर्न थालिएको छ । जलजलामै विगत दुई वर्षदेखि होटल ब्यावसाय गर्दै आएका टिका पुनका अनुसार यहाँ १२ थरीका लालीगँुरास पाईन्छन् । लालीगुँरास हेर्नका लागि आउने पर्यटकले दैनिकजसो होटल भरिभराउँ रहेको बताए । दैनिक होटल बुकिङ्ग गर्नेको संख्या उल्लेख्य रहेको उनको भनाई छ ।
लालीगूँरास हेर्न आउनेहरु एक दिन हम्पालमै बसेर अर्को दिन पर्वतकै कोखेडाँडा, ताप्राङ र म्याग्दीको पुनहिल, घोरेपानी, मोहोरेडाँडातर्फ जाने गरेको पुनको भनाई छ ।
महायज्ञमा कथा वाचन, १०८ श्रीमद्भागवत पाठपारायण, भजन–कीर्तन, यज्ञ–हवन, रुद्राभिषेक, पूजा–अर्चना लगायतका कार्यक्रम समावेश गरिएको थियो । साथै, श्रद्धालुहरूले रु.एक हजार एक सय ५५ रुपैयाँदेखि रु.५१ हजार ५५५ रुपैयाँसम्मको सहयोगमा पाठपारायण गराउन सक्ने व्यवस्था गरिएको थियो ।
आयोजकका अनुसार महायज्ञ आर्थिक संकलनभन्दा बढी धार्मिक महत्व प्रवद्र्धनमा केन्द्रित गरिएको थियो । मुक्तिनाथ बाबा कमलनयनाचार्यको संकल्पमा आयोजना गरिएको महायज्ञमा प्रमुख वाचकका रूपमा उहाँकै अनुयायी पण्डित सुदर्शन प्रपन्नाचार्य रहनु भएको थियो । यसअघि पनि कमलनयनाचार्यकै संकल्पमा बागलुङको पञ्चकोटमा ठूला धार्मिक संरचना निर्माण भई धार्मिक पर्यटन आकर्षित भइरहेको छ ।
हाल कालाञ्जर क्षेत्रसम्म सडक सञ्जाल पुगिसकेको छ भने झण्डै एक करोड रुपैयाको लागतमा अतिथिगृह निर्माण कार्यसमेत अघि बढिरहेको छ । यसले भविष्यमा कालाञ्जरलाई महत्वपूर्ण धार्मिक पर्यटन गन्तव्यका रूपमा विकास गर्न थप सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
यहाँ मोदी र जलजला गाउँपालिकाले संयुक्त रुपमा लगानी गरेर गत मंसिरमा विद्युतीकरण समेत गरिसकेका छन् भने अब नेपाल टेलीकमको टावर निर्माण भएमा सञ्चारको पहुँच समेत पुग्ने व्यावसायि पुनले जानकारी दिए । जलजलाबाट हिमश्रृङ्खला, सुर्योदय, सुर्यास्त र मनोरम पहाडी भुगोलको अवलोकन गर्न सकिन्छ । धौलागिरि, अन्नपूर्ण, निलगिरि, गुर्जा, पुथा, माछापुच्छ्रे मनास्लु लगायत १६ भन्दा बढी हिमालका साथै पर्वत, बागलुङ, म्याग्दी, कास्की, स्याङ्जा, गुल्मी, पाल्पा, गोरखा, तनहुँ, लमजुङसम्मको भूगोल अवलोकन गर्न सकिने सुन्दर पर्यटकीय स्थल हो । जलजलामा ठूलो मैदान छ । सोही मैदान सम्याएर कृत्रिम तलाउ बनाउने योजना गाउँपालिकाले बनाएको छ ।







