पर्वत -: पर्वतको मुख्य खाद्यान्न बालीको रुपमा रहेको धानवाली सत् प्रतिशत हुन सकेको छैन । यस वर्ष पनि लक्ष भन्दा पाँच प्रतिशत रोपाई न्यून भएको हो ।
साउन अन्तिम सातासम्म पर्वतमा झण्डै ९५ प्रतिशत खेतमा रोपाई भएको कृषि विकास कार्याल पर्वतले जनाएको छ । पाँच प्रतिशत खेतमा रोपाई हुन नसकेको हो । समयमै मनसुन शुरु हुन नसक्दा र पर्याप्त बर्षा नहुनु, जनशक्तिको अभाव र धान खेतीतर्फको न्यून आकर्षणका कारण सत्प्रतिशत खेतमा रोपाई नभएको कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार कुश्मामा ९३ प्रतिशत, फलेवासमा ९४ प्रतिशत, मोदीमा सत् प्रतिशत, जलजलामा ९५ प्रतिशत खेतमा रोपाई भएको हो । यसैगरी महाशिलामा पपनि ९५ प्रतिशत, विहादीमा ९५ र पैंयूँमा ९८ प्रतिशत खेतमा रोपाई भएको छ ।
यस वर्ष पर्वत जिल्लाभर सात हजार एक सय ६० हेक्टरमा धान रोपाई हुने अनुमान गरिएकोमा साउन अन्तिम साता सम्म छ हजार आठ सय दुई हेक्टरमा मात्र रोपाई भएको हो । अब यहाँ भन्दा रोपाईको क्षेत्रफल बढ्ने सम्भावना नरहेको कार्यालयले जनाएको छ ।
कार्यालयका बाली संरक्षण अधिकृत सोविता सुवेदीका अनुसार सिंचाईको सुविधा भएका र खोलानालाका आसपासमा रहेका अधिकांस स्थानमा असारको तेस्रो साताभित्रै रोपाई सकिएको थियो भने मकै र चैते धान लगाएका र ढिलो रोपाई हुने ठाउँमा रोपाई अन्तिम सम्म भएको थियो । मनसुन सक्रिय नभएका कारण जिल्लाका मुख्य धान हुने क्षेत्र पाङ, नाङलीवाङ, कटुवाचौपारी लगायतका ठाउँमा केहि कृषकहरुले रोपाई गर्न नसकेका हुन् ।
मोदी गाउँपालिकामा सत्प्रतिशत सम्पन्न भएको छ भने पैयुँ, फलेवास, विहादी र कुश्मा नगरपालिका केहि स्थानमा छिटफुट कृषकहरुको खेतमा रोपाई बाँकी रहेपनि अब बाँझै रहने सम्भावना देखिएको छ ।
पर्वतमा धान खेती हुनेमध्येको ४० प्रतिशत क्षेत्रफलमा मात्रै सिँचाइको प्रबन्ध रहेको भए पनि त्यो सबै क्षेत्रमा पनि सबै समयमा पानी उपलब्ध नहुने अवस्था रहेको छ । पर्वतमा गत वर्ष करिब २४ हजार मेट्रिक टन धान उत्पादन भएको थियो । पर्वतको फलेवास नगरपालिका, पैयुँ गाउँपालिका, जलजला गाउँपालिका र कुश्मा नगरपालिकामा धेरै धान खेती हुने गरेको छ । यस क्षेत्रमा सावित्री, राम धान, च्याम्पियन, मकवानपुर, आपझुत्ते, मानिसरा, मनसुली, अनदी, कालो मसिनो, यू.एस, महाराजा, होलसी, बहुबुडी, हर्दिनाथ, जेठो बूढो, पहेँले, गुर्दी, एक्ले, खुमल, गौरिया, झिनुवा, बिरमफूल, पोखरेली जेठो बूढो, गुर्जा, लुम्ले, माछापुच्छ्रे, जर्नेली, सुगन्ध, हाइब्रिड लगायतका जातका धान लगाउने गरिएको छ ।






