पर्वत २१ साउन : पर्वतको फलेवास नगरपालिकाले गत आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रगति समीक्षा गोष्ठी सम्पन्न भएको छ ।
“कृषि, पर्यटन, जलस्रोत र पूर्वाधार–फलेवासीको समृद्धिको आधार“ भन्ने मुख्य संकल्पका साथ आयोजित उक्त गोष्ठीमा नगरपालिकाको समग्र आर्थिक, भौतिक, सामाजिक तथा प्रशासनिक प्रगतिको विस्तृत विवरण सार्वजनिक गरिएको छ । कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोलाप्रसाद चापागाईं र योजना शाखा प्रमुख प्रकाश शर्मा लम्सालले संयुक्त रूपमा नगरको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
नगरपालिकाले गत आर्थिक वर्षमा वित्तीय व्यवस्थापन, भौतिक पूर्वाधार निर्माण, राजस्व संकलन र सामाजिक सुरक्षा लगायतका क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गर्न सफल भएको छ । नगरपालिकाले गत आर्थिक वर्ष २०८२/८३ को कुल ७० करोड ४१ लाख ७० हजार रुपैयाँ बजेट मध्ये चालुतर्फ ४५ करोड ४८ लाख २९ हजार तीन सय ६७ रुपैयाँ अर्थात् ८५.७३ प्रतिशत खर्च भएको छ भने पूँजीगततर्फ १३ करोड १७ लाख २३ हजार पाँच सय ४७ रुपैयाँ अर्थात् ७५.८८ प्रतिशत बजेट खर्च भएको जनाएको छ । कुल बजेट मध्ये ५८ करोड ६५ लाख ५२ हजार नौ सय १५ रुपैयाँ खर्च गर्दै समग्रमा ८३.२९ प्रतिशत वित्तीय प्रगति हासिल गरेको जनाएको छ ।
गत वर्ष नगरपालिकाको वास्तविक वार्षिक कुल आय ६४ करोड ८३ लाख ५८ हजार १३८ रुपैयाँ रहेको छ । आन्तरिक राजस्व संकलनको क्षेत्रमा फलेवास नगरपालिकाले उल्लेख्य सफलता प्राप्त गरेको छ । नगरमा कुल ९ हजार पाँच सय ५७ जना व्यक्तिगत करदाता र तीन सय २० जना व्यावसायिक करदाता स्थानीय राजस्वको दायरामा आबद्ध रहेका छन् ।
भौतिक पूर्वाधार तथा योजना कार्यान्वयनतर्फ गत वर्ष कुल दुई सय ३२ वटा योजनाहरू स्वीकृत भएका थिए । जसमध्ये उपभोक्ता समिति मार्फत २ सय ८ वटा योजना र ठेक्का तथा कोटेशन मार्फत २४ वटा योजनाहरू कार्यान्वयन प्रक्रियामा लगिएका थियो । योजनाहरू मध्ये फलेवास नगरपालिकाको प्रमुख प्रशासकीय भवन निर्माण कार्य शतप्रतिशत सम्पन्न भएको छ । त्यस्तै, १० शैयाको नगर अस्पताल भवन निर्माणको कार्य ६० प्रतिशत सम्पन्न भएको छ ।
वडाको पूँजीगत बजेटबाट सञ्चालित ५७ वटा वडा स्तरीय योजनाहरू मध्ये ५१ वटा योजनाको निर्माण कार्य पूर्ण रूपमा सम्पन्न भइसकेको र ६ वटा योजना सम्झौता भए पनि काम सुरु हुन नसकेको प्रमुख प्रशासकिय अधिकृत भोलाप्रसाद चापागाईले जानकारी दिनुभयो ।
नगरपालिकाले शिक्षा क्षेत्रलाई थप प्रभावकारी बनाउन नगरपालिकाले सुत्केरी सट्टा शिक्षक व्यवस्था, कक्षा ६ देखि ८ सम्म दिवाखाजाको थप व्यवस्था, स्थानीय पाठ्यक्रमको कार्यान्वयन र कक्षा १ देखि ५ सम्म अंग्रेजी माध्यममा पढाइ जस्ता मुख्य क्रियाकलापहरू सञ्चालन गरिरहेको छ । स्वास्थ्यतर्फ नगरभित्र १ प्रादेशिक अस्पताल, १ सामुदायिक अस्पताल, १० वटा स्वास्थ्य चौकी, ५ वटा बर्थिङ सेन्टर र ३१ वटा गाउँघर क्लिनिक मार्फत नागरिकलाई स्वास्थ्य सेवा प्रवाह भइरहेको प्रमुख प्रशासकिय अधिकृत चापागाईले बताउनुभयो । यी स्वास्थ्य संस्थाहरूमा ९७ जना महिला स्वास्थ्य स्वयंसेविका र ४ वटा एम्बुलेन्स सेवा परिचालन गरिएका छन ।
सामाजिक सुरक्षा र लक्षित वर्गको कल्याणका लागि नगरपालिकाले वार्षिक रूपमा ठूलो रकम लगानी गरेको छ । लक्षित वर्गका कुल ४ हजार एक सय ७ जना लाभग्राहीहरूलाई १६ करोड ३ लाख ६८ हजार नौ सय ३७ रुपैयाँ सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । जसमा ६८ वर्षमाथिका २ हजार चार सय ३४ जना ज्येष्ठ नागरिकले सबैभन्दा धेरै ११ करोड ८८ लाख ६६ हजार १६२ रुपैयाँ बराबरको भत्ता प्राप्त गरेका छन् ।
गत आर्थिक वर्षमा २१ परिवारका ५३ जना नागरिक बसाइँ सरेर फलेवास आएका छन् भने एक सय ४२ परिवारका चार सय ७३ जना नागरिक फलेवासबाट अन्यत्र बसाइँ सरेर गएका छन् । गत वर्ष नगरमा दुई सय ८६ वटा विवाह दर्ता र ३६ वटा सम्बन्ध विच्छेदका घटना न्यायिक अभिलेखमा दर्ता भएका छन् ।
नगरले हालसम्म आफ्नो कार्यसञ्चालनका लागि १७ वटा ऐन, ८ वटा नियमावली, २९ वटा कार्यविधि र २ वटा निर्देशिका सहित कुल ५७ वटा कानुनहरू निर्माण गरिसकेको छ । नगरपालिकाले आगामी दिनमा आफ्नो नीति तथा कार्यक्रम मार्फत कृषिको व्यावसायीकरण, दुर्गम क्षेत्रमा स्वास्थ्यको पहुँच विस्तार, वस्तीबाट नगर केन्द्र जोड्ने सडकको स्तरोन्नति, भूक्षय नियन्त्रण र जनमैत्री सेवा प्रवाहलाई पूर्ण रूपमा प्रविधिमैत्री बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।
समिक्षा कार्यक्रममा नागरिकहरुले विकास निर्माण, सुशासन, शिक्षा क्षेत्रमा भएका कमी कमजोरी तथा विभिन्न खालका अनुदानमुलक र सिपमुलक तालिम लगायतका विषयमा गुनासाहरु राखेका थिए ।
कार्यक्रममा नगरप्रमुख गंगाधर तिवारीले सिमीत श्रोत र साधनका बाबजुत नागरिकहरुका आवश्यकता र चाहना पुरा गर्न लागि परेको बताउनुभयो । कतिपय योजनाहरु लाभग्राहीसम्म पुग्न नसक्नुमा स्थानीयको चासो समेत कम रहेको भन्दै कुन ठाउँका कुन खालको विकास वा कार्यक्रम आवश्यक छ भनेर नगरपालिकासँग माग गर्न पनि उहाँले आग्रह गर्नुभएको छ । नागरिकलाई सेवा प्रवाहलाई चुस्त दुरुस्त पार्नुका साथै घरदैलोमै स्थानीय सरकारको पहुँच पुर्याउन कुनै कसर बाँकी नराख्ने नगरप्रमुख तिवारीले बताउनुभयो ।
कार्यक्रममा नगर उपप्रमुख शोभाकुमारी क्षेत्रीले न्याययिक समिति तथा आफुले योजना अनुगमनका क्रममा देखेका विषयबस्तुका साथै नागरिकका बढ्दो खालका अपेक्षामा सिमीत श्रोत र साधनले पारेको प्रभाव लगायतका बारेमा बोलनुभएको थियो । कार्यक्रममा राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, कृषक, शिक्षक, पत्रकार लगायतले विभिन्न जिज्ञाशा राख्नुभएको थियो ।






