पर्वत– पर्वत जेसीजले युवालाई खेलकुदमा आकर्षित गर्दै स्थानीय खेलाडीको प्रतिभा पहिचान तथा प्रवद्र्धन गर्ने उद्देश्यले एक लाख ११ हजार राशिको सेभेन ए साइड खुला फुटबल प्रतियोगिता गर्ने भएको छ ।
यहि साउन २८ गतेदेखि ३१ गतेसम्म पर्वत जिल्लाको कुश्माबजार स्थित बडागाउँ खेल मैदानमा संचालन हुने प्रतियोगिताको विभिन्न तयारीहरु भैरहेका छन् । पर्वत जेसीजको आयोजनामा हुने प्रतियोगितामा जिल्ला भित्र तथा बाहिरका विभिन्न फुटबल क्लब तथा टोलीको सहभागिता रहने आयोजकले जनाएको छ ।
पर्वत जेसीजका वर्ष २०२६ का अध्यक्ष शर्मिला शर्माका अनुसार प्रतियोगिता मार्फत् जिल्लामा फुटबल खेलको विकास गर्नुका साथै युवामा अनुशासन, नेतृत्व क्षमता र आपसी भाइचाराको भावना विकास गर्ने लक्ष्य राखिएको छ । प्रतियोगितामा राष्ट्रिय स्तरका उत्कृष्ट टोलीहरुको सहभागीता समेत रहनेछ ।
प्रतियोगिताको विजेता टोलीले एक लाख ११ हजार एक सय ११ नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेतालाई रु.५५ हजार ५ सय ५५ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र दिइनेछ । उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता, उदयीमान खेलाडी, फेयर प्ले टिमका लागि समेत विशेष पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । आयोजकका अनुसार अहिलेसम्म १६ वटा समुहले टिम दर्ता गरेका छन् भने झण्डै एक दर्जन सम्पर्कमा रहेका छन् ।
पर्वत जेसीजले शनिवार एक कार्यक्रमको आयोजना गरी जेसीज कपको शिल्ड, मेडल र जर्सीको अनावरण समेत गरेको छ । पर्वत जेसीज अध्यक्षीय क्लवका अध्यक्ष सिनेटर कृष्णप्रसाद श्रेष्ठले शिल्डको अनावरण गर्नुभएको थियो ।
चार दिनसम्म हुने प्रतियोगिताको सवैजसो तयारी अन्तिम चरणमा पुगेको खेलका मुल संयोजक एन्जल कर्माचार्यले जानकारी दिनुभयो । प्रतियोगिताको प्रथम पुरस्कार क्लवका पुर्व अध्यक्षहरुले सौजन्य गर्नुभएको छ भने उपबिजेतालाई अध्यक्ष शर्माका सासुससुराले सौजन्य गर्नुभएको हो । खेलाडीहरुका लागि निशुल्क खान बस्नको व्यवस्था समेत गरिएको छ । प्रतियोगिता संचालन गर्नका लागि रु. १० लाख रुपैया खर्च लाग्ने आयोजकले जनाएको छ ।
कार्यक्रममा पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष ठाकुर वि पौडेल, नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष लक्ष्मण सापकोटा लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा खेल संयोजक एन्जल कर्माचार्यले स्वागत र महासचिब रामचन्द्र सुवेदीले संचालन गर्नुभएको थियो ।






