कालीगण्डकीको बाढीले पर्वत बागलुङ जोड्ने मालढुंगा पुलमा क्षति - News site from Nepal

पर्वत २१ साउन : कालीगण्डकी नदिमा आएको उच्च बहाबले कटान गर्दा पर्वत र बागलुङ जिल्लालाई जोड्ने मालढुङ्गास्थित मोटरेबल पुलमा क्षति पुगेको छ ।

नदी कटानका कारण पुलको पर्वत तर्फको भागमा ठुलो क्षति पुगेको हो । पुलको एकातर्फको पहुँचमार्ग (एबटमेन्ट)मा क्षति पुगेको हो । गएराति नदीको सतह बढेसँगै पुलको जगमा क्षति पुगेको र हाल पनि जग क्षेत्रबाट माटो खसिरहेको सडक डिभिजन कार्यालय बागलुङले जनाएको छ ।

पुलको अवस्थाबारे प्रारम्भिक निरीक्षणपछि सडक डिभिजन कार्यालय बागलुङले थप प्राविधिक मूल्याङ्कनका लागि डिभिजन सडक कार्यालय पोखरालाई जानकारी गराएको कार्यालयका प्रमुख इन्जिनियर हरी सुवेदीले जानकारी दिए । तत्काल मर्मत तथा पुल संरक्षणको काम नगर्ने हो भने जुनसुकै बेला सवारी आबागमन बन्द हुने जोखिम देखिएको छ ।

मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा–बागलुङ सडक खण्डमा पर्ने मालढुङ्गा पुल यसअघि पनि नदीको धार परिवर्तन र कटानका कारण जोखिममा पर्दै आएको थियो । पुलको जग संरक्षणसंगै थप क्षति हुन नदिनका लागि निर्माण गरिएको पर्खाल भत्किएपछि यात्रुबाहक तथा मालवाहक सवारीसाधन सावधानी अपनाएर मात्र सञ्चालन गर्न दिइएको जिल्ला प्रहरी कार्यालय पर्वतले जानकारी दिएको छ । धेरै लोड नपर्ने गरी आलोपालो सवारीहरु संचालन भैरहेको प्रहरीले जनाएको छ ।

सडक डिभिजन कार्यालयका अनुसार पुलको माथिल्लो भाग पाँच सय मिटर र तल्लो भाग एक किलोमिटरसम्म नदीजन्य पदार्थ उत्खनन गर्न नपाइने कानुनी व्यवस्था भए पनि पुल आसपास नदी दोहन र नदीजन्य सामग्रीको उत्खनन हुँदै आएको छ । यसले पुलसँगै मालढुङ्गा बस्तीसमेत थप जोखिममा परेको कार्यालयको भनाइ छ ।

हाल नदीमा पानीको बहाव उच्च रहेकाले तत्काल मर्मत कार्य सुरु गर्न सम्भव नभएको सडक डिभिजन कार्यालयले जनाएको छ । बहाव कम भएपछि पुलको विस्तृत प्राविधिक परीक्षण गरी आवश्यक मर्मत तथा संरक्षणका काम अघि बढाइने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!