पर्वत – : पर्वतका विभिन्न क्षेत्रमा लगाईको कोदो खेतीमा गबारो किरा र डडुवा रोगको प्रकोप फैलिएको छ ।
जिल्लाका उच्च पहाडी र लेकाली क्षेत्रमा गरिएको कोदो खेतीमा गवारो र डडुवा रोगको प्रकोप एकैपटक बढेपछि कृषकहरु चिन्तित बनेका छन् । विशेषगरी जिल्लाको दुर्लुङ, खुर्कोट, पाङ, चुवा लगायतका क्षेत्रमा लगाइएको कोदो खेतीमा पहेँलो र रातो हुने, पात सुक्दै जाने बिस्तारै बोट मर्ने समस्या देखिएको कृषि विकास कार्यालय पर्वतका बाली संरक्षण अधिकृत सोविता सुवेदीले जानकारी दिईन ।
कोदो रोपेको एक देखि डेढ महिनाकै अवधिमा गवारो र डडुवा रोग लागेपछि बृद्धि विकासमा समेत समस्या हुनुका साथै उत्पादनमा समेत ह्रास आउने अवस्था देखिएको हो । यो क्षेत्रका कृषकहरुले दैनिकजसो कोदो खेतीमा समस्या देखिएको भन्दै बाली उपचारका लागि आउने क्रम बढेको सुवेदीले बताउनुभयो ।
पछिल्ला चार वर्ष यता गवारो किराको प्रकोप देखिएकोमा अहिले रोपेको केहि समयमै देखिन थालेको कृषकहरुले गुनासो गरेका छन् । यो किराले हुर्कदै गरेको कोदोको बिरुवाको काण्डमा गवारोले छेड्छ । त्यसको असरले पसाउन पाउँदैन । बिस्तारै बोट पहेँलो हुँदै मर्दै जाने जस्ता लक्षण देखिने उनले बताईन ।कार्यालयका बाली संरक्षण अधिकृत सुवेदीले डढुवा र गबारो रोगको निदानका लागि कार्टाप हाइड्रोक्लोराईड र कपर अक्सिक्लोराईड औषधी सिफारीस गरिएको छ । तत्काल यसको प्रयोग गरेर प्रकोप नियन्त्रण गर्न सकिने उनले बताईन ।
अन्य क्षेत्रवाट भने अहिलेसम्म गुनासो आएको छैन । जिल्लाभर नै फैलिएको खण्डमा बाली उपचार शिविर नै राखेर प्रकोपको निदानका लागि पहल गरिने उनले बताईन । गवारोको प्रकोप बढ्नुको कारण जलवायु परिवर्तनसँगै बारीमा गरिने सरसफाइको अभाव, बिऊको उपचार नगर्नु र पुरानै रैथाने बिऊको पटक पटक प्रयोग गर्नु भएको उनको भनाई छ ।
जलवायु परिवर्तनले बालीका मित्र जीवलाई भन्दा शत्रु जीवलाई उपयुक्त हुने वातावरणको विकास भएकाले हरेक बालीमा फरक फरक समस्याहरू देखिने उनको भनाई छ ।
बारीका कान्ला वा कोदो रोपिएकै ठाउँमा पनि सरसफाइको आवश्यकता हुन्छ । तर कान्लाभरि झाडी छ, बारीका पाटा पनि सफा नहुँदा रोगको जीवाणुले आश्रय पाइरहेको उनले बताईन ।
बाली संरक्षण अधिकृत सुवेदीले पुरानो रैथाने बिऊमा वर्षेनी समस्या आउने गरेकाले आगामी वर्षदेखि कोदोको बिऊ उपचार गरेर मात्र खेती गर्न वा लुम्ले–१ र ओख्ले –१ जातको बिऊ लगाउन सुझाव दिईन ।
पर्वतको दोस्रो मुख्य बालीको रुपमा रहेको कोदो आठ हजार तीन सय ५० हेक्टर क्षेत्रफलमा खेती हुने गरेको छ । त्यसबाट करिब ११ हजार मेट्रिक टन कोदो उत्पादन हुँदै आएको कार्यालयले जनाएको छ ।
तस्विर पनि छ ।






