पर्वत, २८ असार : कास्की र पर्वत हुँदै बग्ने मोदीखोलामा आएको अत्याधिक ठुलो बाढीले प्रसिद्ध पर्यटकीय क्षेत्र घान्द्रुक जोड्ने नयाँपुल–बिरेठाँटी– घान्द्रुक सडक अवरुद्ध बनेको छ ।
कास्कीको अन्नपुर्ण गाउँपालिका वडा नं. ११ किम्रुङमा आइतवार बिहानदेखि भैरहेको भारी वर्षाका कारण विभिन्न ठाउँमा पहिरो जाँदा मोदीखोलाको बहाब अत्याधिक मात्रमा उर्लिएको हो । बाढीले कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं. ८ र वडा नं. १० को सिमाना सेउलिबजार नजिकै सडक कटान गर्दा घान्द्रुक जोड्ने सडक पुर्ण रुपमा बन्द भएको हो ।
यसैगरी सोहि ठाउँमा रहेको स्थानीय दिपिल गुरुङको रेस्टुरेन्ट तथा घर पुर्ण रुपमा बगाएको छ भने जगन पुनको रेस्टुरेन्टमा क्षति पुगेको छ । कास्कीको अन्नपुर्ण गाउँपालिका अन्तर्गत खोला किनारका विभिन्न घरहरू समेत जोखिममा रहेको अन्नपुर्ण गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष भरतमान गुरुङले जानकारी दिनुभयो ।
निरन्तर वर्षा भैरहेको र बाढी घट्ने संकेत नदेखिएको भन्दै उहाँले आवश्यक सुरक्षा सतर्कर्ता अपनाउन आग्रह गर्नुभएको छ । गुरुङको रेष्टुरेन्टवाट केहि सामाग्रीहरु भने स्थानीयको सक्रियतामा सुरक्षित स्थानमा सारिएको थियो । मानविय क्षति भने नभएको उहाँले बताउनुभयो ।
सडक अवरुद्ध हुँदा पर्यटकीय गाउँ घान्द्रुक, लान्द्रुक लगायतका ठाउँमा जाने सयौं गाडीहरु अलपत्र बनेका छन् । यसैगरी अन्नपुर्ण चक्रिय पदमार्गमा घुम्नका लागि आएका आन्तरिक तथा बाह्य पर्यटकहरु समेत प्रभावित बनेका छन् । कतिपय यात्रु तथा पर्यटकहरु पैदल हिडेर गन्तव्यतर्फ गैरहेको प्रहरीले जनाएको छ । तत्काल सडक खुलाउन सक्ने सम्भावना नरहेकोले केहि दिन सडक अवरुद्ध हुने प्रहरीले जनाएको छ ।
मोदीखोलामा दिउँसो ३ बजेदेखि पानीको सतह ह्वात्तै बढेपछि सतर्कता अपनाउन आग्रह गरिएको छ । जिल्ला प्रशासन कार्यालय पर्वत, जिल्ला प्रहरी कार्यालय पर्वत र मोदी गाउँपालिकाले तटीय क्षेत्रमा रहेका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन आग्रह गरका छन् ।
प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पौडेलले मोदीखोला किनारमा बसोबास गर्नेहरुले आवश्यक सावधानी अपनाउन आग्रह गरिएको बताए । उनले खोला किनारमा काठदाउरा निकाल्न, माछा छोप्न वा अन्य कुनै प्रयोजनका लागि नजिक नजान समेत आग्रह गर्नुभएको छ । यसैगरी मोदी गाउँपालिकाले समेत सामाजिक सञ्जाल मार्फत आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।
यसैबीच खोलामा अत्याधिक बहाब बढ्दा मोदीखोलामा संचालित चारवटै विद्युत गृहले उत्पादन बन्द गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्वतले मोदीखोलाका पर्वत खण्डमा सुरक्षा सावधानीका लागि प्रहरीहरु परिचालन गरिएको प्रहरी नायब उपरिक्षक बिजय यादबले जानकारी दिनुभयो ।






