कांग्रेसले जितको ह्याट्रिक गरिसकेको पर्वतमा एमाले पनि ह्याट्रिक पूरा गर्ने दाउमा - News site from Nepal

पर्वत- प्रतिनिधि सभाको आसन्न निर्वाचनलाई लिएर पर्वतमा दलहरू आ–आफ्नै रणनीति अनुसार जनताको विश्वास जित्न प्रयासरत छन् । पर्वतमा २०५६ को संसदीय निर्वाचन र संविधान सभाको दुवै निर्वाचन गरी लगातार तीन निर्वाचनमा निर्वाचित भएर कांग्रेसले ‘ह्याट्रिक गरिसकेको छ ।

त्यस यताको संसदीय निर्वाचनमा भने पर्वतमा कांग्रेसले ‘कम ब्याक’ गर्न सकेको छैन । २०७४ र २०७९ को संसदीय निर्वाचनमा विजयी भएको एमाले ‘ह्याट्रिक’ गर्ने दाउसहित मैदानमा उत्रिएको छ । यद्यपि, एमालेको ‘ह्याट्रिक’ पूरा हुन नदिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि युवा मतदाताको समर्थनमा आफ्नो अभियान अघि बढाइरहेको छ ।

एउटा मात्रै निर्वाचन क्षेत्र रहेको पर्वतमा विभिन्न दल तथा स्वतन्त्र गरी १७ जना उम्मेदवार छन् । १३ राजनीतिक दल र चार जना स्वतन्त्र उम्मेदवार यतिबेला मतदाता फकाउन व्यस्त छन् ।

यहाँ नेपाली कांग्रेसका उम्मेदवार अर्जुनप्रसाद जोशी पुरानै अनुहार हुन् । ०५६ सालको संसदीय निर्वाचन, ०६४ को पहिलो संविधान सभा निर्वाचन र ०७० को दोस्रो संविधान सभा निर्वाचनमा लगातार निर्वाचित भएर जोशीले ‘ह्याट्रिक गरिसकेका छन् ।

नेकपा एमालेका उम्मेदवार पदम गिरी पनि पुरानै अनुहार हुन् । उनले ०७४ को संसदीय निर्वाचनमा वाम गठबन्धनको सहयोगमा कांग्रेसका उम्मेदवार जोशीलाई पराजित गरे । ०७९ को निर्वाचनमा माओवादी, एकीकृत समाजवादी लगायतका पाँच दलीय गठबन्धनको साझा उम्मेदवार बनेका कांग्रेसका जोशीलाई एमालेका गिरीले दुई हजार २६३ मतान्तरले पराजित गर्दै दोस्रो जित हासिल गरेका थिए ।

अहिले गिरी जितको ‘ह्याट्रिक’ पूरा गर्ने दाउमा छन् । तर उनका सामु कांग्रेसकै सदावहार प्रतिस्पर्धी जोशीमात्र नभएर यस पटक परिवर्तनको लहरका साथ रास्वपाका उम्मेदवार सागर भुसालले समेत बलियो चुनौती दिएका छन् ।

नेपाली कम्युनिस्ट पार्टीले पर्वतमा मनहरि शर्मालाई उम्मेदवार बनाएको छ । यद्यपि विगतका निर्वाचन परिणाम हेर्ने हो भने यहाँ हाल नेपाली कम्युनिस्ट पार्टीमा एकीकृत भएका दलहरूको जनमत प्रतिस्पर्धायोग्य देखिँदैन ।

पर्वतमा ०७४ को निर्वाचनमा एमालेका गिरीले ३९ हजार २७५ मत प्राप्त गरेका थिए भने कांग्रेसका जोशीले २६ हजार ८१९ मत प्राप्त गरेका थिए । ०७९ को निर्वाचनमा पाँच दलीय गठबन्धनको साझा उम्मेदवार हुँदा पनि एमालेसँग दुई हजार २६३ मतान्तरले पराजित जोशीले २७ हजार ६०९ मत पाएका थिए भने एमालेका गिरी २९ हजार ८७२ मतसहित निर्वाचित भएका थिए ।

त्यस बेला राष्ट्रिय स्वतन्त्र पार्टीका जालबहादुर पुर्जा पुनले चार हजार १७३ मता प्राप्त गरेका थिए ।

०७९ को मत परिणाम अनुसार पर्वतमा समानुपातिकतर्फ नेकपा एमालेले २५ हजार ३१४, नेपाली कांग्रेसले १८ हजार ८१७ मत पाएका थिए । अहिले नेपाली कम्युनिस्ट पार्टीमा रहेको नेकपा माओवादी केन्द्रले ७ हजार ३६ र तत्कालीन एकीकृत समाजवादीले ८६१ मतमात्र पाएको थियो । रास्वपाले भने समानुपातिकतर्फ ९ हजार ६७९ मत पाएको थियो ।

पुरानालाई नयाँको डर, नयाँलाई युवाको भर

अन्य जिल्लामा जस्तै पर्वतमा पनि यसपालिको निर्वाचनमा नयाँ दलले पुराना दलहरूबिचको प्रतिस्पर्धाबाट फाइदा उठाउन सक्ने सम्भावना देखिन्छ । विशेष महाधिवेशनपछि कांग्रेसभित्र बढेको ध्रुवीकरणले गर्दा विगतको आफ्नै मत सुरक्षित गर्न कांग्रेसलाई चुनौती बढेको छ भने जेनजी आन्दोलनले खोजेको परिवर्तनलाई चुनौती दिँदै आएको एमालेलाई आफ्नो सोही धारणाको पक्षमा मतदातालाई मोड्न उत्तिकै ठुलो चुनौती देखिएको छ ।

लामो समय नेकपा संयोजक पुष्पकमल दाहल ‘प्रचण्ड’सँग नजिक भएर काम गरेका मनहरि पनि प्रचण्डसँग काम गर्दा पर्वतको विकासमा योगदान गरेको भन्दै मतदाताको विश्वास जित्न प्रयासरत छन् । यद्यपि, कमजोर संगठन उनका लागि पनि चुनौती बन्ने देखिएको छ ।

०७९ को निर्वाचनमा संगठन विना नै प्रत्यक्षतर्फ चार हजारभन्दा बढी र समानुपातिकतर्फ ९ हजारभन्दा बढी मत हासिल गरेको रास्वपा अहिले परिवर्तनको लहरलाई फैलाएर नतिजा आफ्नो पक्षमा पार्ने दाउमा छ । रास्वपाप्रति युवा पुस्ताको बढ्दो ‘क्रेज’ पुराना दलहरूका लागि चुनौती बनेको छ ।

लामो समय चुनाव बहिष्कार गर्दै आएको विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले पनि पर्वतमा उम्मेदवारी दिएको छ । सो पार्टीबाट कृष्णबहादुर विक उम्मेदवार छन् । विकलाई विभिन्न वामपन्थी पक्षधर नेताले साथ दिन सक्ने देखिन्छ ।

त्यस्तै राष्ट्रिय जनमोर्चाका भीमलाल न्यौपाने, उज्यालो नेपाल पार्टीका यमबहादुर चोचांगी पुन, राप्रपाका दुर्गाबहादुर मल्ल, नेपाल मजदुर किसान पार्टीका ऐलिना सुवाल, आम जनता पार्टीकी पवित्रा मल्ल पनि चुनावी मैदानमा छन् ।

यस्तो छ २०७९ को स्थानीय तह निर्वाचनको परिणाम

दुई नगरपालिका र चार गाउँपालिका रहेको पर्वतमा कुश्मा नगरपालिका, फलेबास नगरपालिका, जलजला गाउँपालिका, पैयुँ गाउँपालिका, विहादी गाउँपालिका नेपाली कांग्रेसले जितेको छ भने महाशिला, मोदी गाउँपालिका नेकपा एमालेले जितेको छ ।

१४ वडा रहेको कुश्मा नगरपालिकामा वडा नम्बर १, २, ४, ५, ७, ८, ९, १४ नेपाली कांग्रेसले, वडा नम्बर ३, ६, १०, ११ र १३ एमालेले र वडा नम्बर १२ स्वतन्त्रले जितेको थियो ।

११ वडा रहेको फलेबास नगरपालिकामा वडा नम्बर १, ३, ४, ६, ९, १० नेपाली कांग्रेसले, वडा नम्बर २, ५, ७, ८ र ११ एमालेले जितेको छ ।

९ वडा रहेको जलजलामा वडा नम्बर ६ र ८ नेपाली कांग्रेसले, १, २, ३, ४, ५ नेकपा एमालेले र वडा नम्बर ७ र ९ माओवादी केन्द्र (हाल नेपाली कम्युनिस्ट पार्टी)ले जितेको छ ।

७ वटा वडा रहेको पैयुँ गाउँपालिकामा वडा नम्बर १ र ७ नेपाली कांग्रेस, वडा नम्बर २, ३, ४, ५ र ६ एमालेले जितेको छ ।

६ वटा वडा रहेको महाशिला गाउँपालिकामा वडा नम्बर ५ नेपाली कांग्रेसले जितेको छ भने वडा नम्बर १, २, ३, ४ र ६ एमालेले जितेको छ ।

८ वडा रहेको मोदी गाउँपालिकामा वडा नम्बर ४, ५, ६ नेपाली कांग्रेस र वडा नम्बर १, २, ३, ७ र ८ एमालेले जितेको छ ।

६ वडा रहेको विहादी गाउँपालिकामा वडा नम्बर २ र ४ वडा नम्बर नेपाली कांग्रेस, १, ३, ५ एमाले र वडा नम्बर ६ माओवादी केन्द्रले जितेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!