‘गाउँ फर्क प्याराप्यारी कार्यक्रम’–महाशिलामा १५ परिवार गाउँ फर्किएर  - News site from Nepal
पर्वत-  बढ्दो बसाईसराई रोक्नका लागि पर्वतको महाशिला गाउँपालिकाले नयाँ जुक्ति अपनाएको छ ।
बसाईसराई रोक्न र गाउँ फर्कन प्रोत्साहन गर्ने उद्धेश्यले बसाई सरेर गाउँ आउनेलाई आर्षित गर्न ‘गाउँ फर्क प्याराप्यारी’ कार्यक्रम संचालन गरेको छ । अघिल्लो आर्थिक वर्षदेखि शुरु भएको कार्यक्रम अन्तर्गत हालसम्म १५ जना परिवार गाउँ फर्किएका छन् । उनिहरुलाई  रु. एक लाख रुपैया अनुदान र शुरुको छ महिनाका लागि आवश्यक खाद्यान्न दिने गरिएको छ । बढ्दो बसाईसराईका कारण गाउँहरु रित्तिनुका साथै जग्गा जमिन बाँझिदै गएपछि यो कार्यक्रम अन्तर्गत अनुदान दिन थालिएको गाउँपालिकाका अध्यक्ष इश्वरीप्रसाद भुसालले जानकारी दिनुभयो । यो खबर हिजो बुधवारको धौलागिरि सञ्चार साप्ताहिकमा प्रकाशित छ ।
गाउँपालिकाले गत आर्थिक वर्ष वि.सं. २०८१/८२ देखि यस्तो कार्यक्रम लागु गरेको हो । महाशिला गाउँपालिकाका ६ वटै वडाबाट बसाई सरेर जाने क्रम पछिल्लो एक दशक यता ह्वात्तै बढेको छ । गाउँका अधिकांस घरहरु खाली हुन थालेका छन् भने खेतीयोग्य जमिन बुट्यान र झाडीले भरिएको छ ।
गाउँमा सडक, खानेपानी, बिजुली, स्वास्थ्य सेवा लगायतको पहुँच बढ्दै गएपनि बसाईसराई गरेर जाने क्रम नरोकिएपछि गाउँ फर्काउनका लागि अनुदान दिने कार्यक्रम लागु गरिएको अध्यक्ष भुसालले बताउनुभयो । उक्त रकम घर बनाउनका लागि अनुदान दिईएको हो । ‘जसको घर छैन, वा जीर्ण बनेको छ, त्यस्तालाई घर मर्मत गर्न वा नयाँ बनाउनका लागि प्रति परिवार रु. एक लाख रुपैया अनुदान दिन थालिएको हो’ उहाँले भन्नुभयो ।
त्यसैगरी बसाई सराई सरेर गाउँ आईसकेपछि उसले गरेको खेतीवालीवाट उत्पादन लिन कम्तिमा छ महिनाको समय लाग्दछ । छ महिना पछि आफैले उत्पादन गरेको अन्नवालीले खान पुग्ने भएपनि उत्पादन नहुने बेला सम्मका लागि गाउँपालिकाले नै खाद्यान्न उपलव्ध गराउँदै आएको छ । परिवारको संख्या अनुसार चामल, दाल, तेल, तरकारी लगायतका आवश्यक खाद्यान्नका लागि समेत सहयोग गर्ने गरिएको प्रमुख प्रशासकिय अधिकृत देबेन्द्र पाण्डेयले जानकारी दिनुभयो । उक्त अनुदानले सहज रुपमा गाउँमा जीवनयापनको शुरुवात गरोस् भन्ने पालिकाको उद्धेश्य रहेको पाण्डेयले बताउनुभयो । यो खबर हिजो बुधवारको धौलागिरि सञ्चार साप्ताहिकमा प्रकाशित छ ।
पालिकाका अनुसार लामो समयदेखि बसाई सरी गएकाहरुले पनि गत वर्षदेखि गाउँ फर्केर फलफुल खेती गर्न थालेका छन् । बाँझो जमिन उपयोग गर्ने उद्धेश्यले गण्डकी प्रदेश सरकार र प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाको सहयोगमा निशुल्क विरुवा सहित बिरुवा रोप्ने खर्च समेत उपलव्ध गराएपछि उनिहरु गाउँ फर्किएर फलफुल खेती गरेका हुन् ।
महाशिलाका अधिकांस नागरिक पोखरा, चितवन, नवलपुर, भैरहवा लगायतका ठाउँमा बसाई सरेर गएका छन् । पालिकाले उक्त कार्यक्रम लागु गरेपछि १५ घरपरिवार गाउँ फर्केर आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!