लोकतन्त्र अनलाईन

Advertisment

SKIP THIS
किन भइरहेछ जंगलबाट धमाधम चुत्रो र गुरजोगानोको संकलन ? - News site from Nepal
किन भइरहेछ जंगलबाट धमाधम चुत्रो र गुरजोगानोको संकलन ?

पर्वत — जलजला गाउँपालिकास्थित शालिजाका शेरबहादुर पुन हिजोआज घरछेउछाउको जंगलतिर बाक्लै भेटिन्छन् । काठ दाउरा खोज्न वा स्याउलापातका निम्ति उनी जंगल पसेका हैनन् । उनी त गुरजोगानो र चुत्रो संकलन गर्न जंगल छिरेका हुन् । जंगलबाट संकलन गरिएको चुत्रो प्रतिकेजी २५ र जरा ४० रुपैयाँ र गुरजोगानोको प्रतिकेजी २० रुपैयाँमा बेच्न सकिने भएपछि शेरबहादुर जस्तै स्थानीयहरु हिजोआज जंगलतिर भेटिन थालेका छन् ।

कुश्मा नगरपालिका–५ जलकेनीमा गत मंसिरमा चिनीयाँ कम्पनी छिफु वायोटेक्नोलोजी प्रालि स्थापना भएपछि स्थानियहरु यसरी चुत्रो र गुरजोगानो खोज्न जंगल पस्न थालेका हुन् । उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालय अर्न्तगत उद्योग विभागमा २०८१ मा दर्ता भएको यो कम्पनीले गुरजोगानो र चुत्रोलाई प्रशोधनगरी धुलो बनाएर चिन पठाउन तयारी थालेको छ ।

रोमनियाको भिसा पर्खेर बसेका शेरबहादुर घरमा खाली बस्न भन्दा जंगलतिर पसे धेरथोर भएपनि कमाई हुने बताउँछन् । उनले भने, ‘मैले दुई हप्ताजसोमा पन्ध्र/सोह्र सय किलो चुत्रो र गुरजोगानो बेच्दा ५५ हजार रुपैयाँजती कमाए । घरखर्च त राम्रै चल्ने नै भयो, विदेश जान भनेर लिएको साहुको ऋणको ब्याज पनि तिरिसकेँ ।’ उनले घरनजिकैको तारे बन पुगेर संकलन गरेको गुरजोगानो र चुत्रो जिपमै लोड गरेर कम्पनीसम्म पुर्याएको बताए ।

शेरबहादुर जस्तै कुश्मा नगरपालिका–४ की नन्दा दर्जीले पनि स्थानीय वनहरुमा पुगेर गुरजोगानो संकलन गरी विक्री गरेको बताइन् । उनी २६ हजार रुपैयाँ कमाएपछि दङ्ग छिन् । उनले दुई महिनाको अवधिमा आम्दानी गरेको र अहिले पनि खोज्न वनतिर जानेगरेको सुनाइन् ।

जंगलमा पुगेर जथाभावी जडीबुटीहरु संकलन हुँदा समेत सम्बन्धित निकायले चासो नदेखाएकोप्रति नागरिक स्तरबाट भने विरोध सुरु हुन थालेको छ । कुश्माका स्थानिय युवराज शर्मा जंगलबाट जथाभावी रुपमा जडिवुटीको संकलन हुनु चिन्ताको बिषय भएको बताउँछन् । उनले भने, ‘अहिले मान्छेहरु उज्यालो हुननपाउँदै जंगल पुग्छन् । उनीहरुले जरा नै नरहने गरी चुत्रो र गुरजोगानो उत्खन्न गर्छन् । केही पैसाको लोभमा जडीबुटी विदेशी कम्पनीलाई दिएर निमिट्यान्न पारिॅदैछ ।’ उनले जथाभावी हुने यस्तो संकलनले चाहिएका बेला आफैले जडिबुटी नपाउने अवस्था सिर्जना हुने तर्क सुनाए ।

शर्माले चिन्ता जनाएपनि स्थानिय जनप्रतिनिधीहरु भने यो बिषयमा विभाजित देखिन्छन् । एकथरी मौन छन भने एकथरीले जथाभावी संकलन रोक्नुपर्ने बताउन थालेका छन् । गत फागुन २८ मा कुश्मास्थ्ति काँग्रेसको पार्टी कार्यालयमा आएका गण्डकी प्रदेशका वन तथा वातावरण मन्त्री भेषबहादुर पौडेललाइ केही जनप्रतिनिधीहरुले सामुदायिक र सरकारी वनहरुबाट जथाभावी चुत्रो र गुजरगानो चोरी निकासी भएको भन्दै यसलाई रोक्नुपर्ने बताएका थिए । कुश्मा नगरपालिका–४ का वडा अध्यक्ष दिनेस श्रेष्ठले आफुहरुले यो कुरा मन्त्रीसमक्ष राखेको बताउँदै भने, ‘जंगलमा हुलकाहुल मान्छे पसेर जरै नरहने गरी उत्खन्न गर्दै जाने र कहीँकतैबाट नियमन नगरी लापरबाह छोड्ने कुराले भोली सामाजिक र पर्यावरणमा असन्तुलन नआउँला भन्न सकिन्न ।’

औषधिजन्य वनस्पति संकलन र ओसारपसारको यो कामको विरोध केही स्थानियहरुले सामाजिक संजालबाट पनि गरिरहेका छन् । विरोधको स्वर वढन थालेपछि गत फागुन ५ मा डिभिजन वन कार्यालय पर्वत, जिल्ला प्रशासन कार्यालय पर्वत र जिल्ला समन्वय कार्यालय पर्वतको संयुक्त टोलीले उद्योगको स्थलगत अनुगमन समेत गरेको थियो । वन कार्यालयले अनुगमनपछि कम्पनीले आवश्यक कानुनी प्रक्रिया नपुर्‍याएको भन्दै पत्रचार नै गरी तत्काल संकलन कार्य रोक्न आदेश दिएको डिभिजन वन अधिकृत झ्यामनारायण सापकोटाले बताए ।

वन कार्यलयले कम्पनीलाई पठाएको पत्रमा वातावरण संरक्षण ऐन, २०७६ तथा नियमावली, २०७७ बमोजिम कम्पनीले प्रारम्भिक वातवरणीय परीक्षण (आईई) नगरेको उल्लेख छ । यही कारण देखाउँदै कार्यालयले तत्काल भइरहेको कार्यलाई रोक्न आदेश दिएपनि यसको कम्पनीले स्थानियबाट संकलन गरेको चुत्रो र गुरजोगानो किनीरहेको छ ।

वातावरण संरक्षण ऐन, २०७६ तथा नियमावली, २०७७ बमोजिम उद्योगले प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन तयार पारेर सम्बन्धित सरकारी निकायमा स्वीकृत गरिसकेपछि मात्र परियोजना, उद्योग वा व्यवसाय सञ्चालन गर्न पाइन्छ । यस प्रक्रियाले वातावरणीय सन्तुलन जोगाउने, पारिस्थितिक प्रणालीमा पर्ने प्रभावलाई न्यून गर्ने र दिगो विकासलाई प्रवर्द्धन गर्ने उद्देश्य राख्छ । तर यस विदेशी कम्पनीले प्रारम्भिक वातवरणीय परीक्षण नगरिकनै परियोजना सञ्चालन गरिरहेको देखिन्छ ।

एकातिर डिभिजन वन कार्यालय पर्वतले पत्रचार गरेर यो बिषयमा आफनो सरोकार देखाएजस्तो गरिरहेको छ भने अर्कोतिर डिभिजन बन कार्यलयले भने व्यक्तिको दर्ता श्रेस्ता कायम भएका नम्बरी आवादीमा रहेका बनबाट जडीबुटी संकलन तथा ओसारपसारका लागि अनुमति दिन परिपत्र जारी गरिरहेको छ । कार्यालयले गण्डकी प्रदेश वन नियमावली २०८१ को अनुसुची १६ मा कायम गुरजोगानो र चुत्रो संकलन तथा ओसारपसार गर्नलाई अनुमति प्रदान गरिएको बताएको छ ।

वन कार्यालय पर्वतका डिभिजन वन अधिकृत सापकोटाले व्यक्तिगत वनबाट ल्याउने कुरालाई आफुहरुले रोक्न नमिल्ने बताए । उनले भने, ‘कृषकले मेरो वनमा भएको चुत्रो र गुरजोगानो बेच्न पाऊँ भनेर प्रक्रिया पुरा गरेर आएपछि इजाजत अनुमति दिनुपर्ने हुन्छ ।’ उनले सामुदायिक वनका अध्यक्ष, वडाका अध्यक्ष कसैले पनि सामुदायिक र सरकारी वनबाट चोरी निकासी भएको बारेमा कार्यलयलाई जानकारी नगराएको बताए ।

कार्यलयका अनुसार पर्वतबाट यही पुष माघ महिना देखि गुरजोगानो १० हजार ५ सय केजी र चुत्रो ३ हजार केजी मात्र संकलन भएको छ । वनका अनुसार फलेवास नगरपालिका र पैयुँ गाउँपालीकाबाट मात्रै गुरजोगानो र चुत्रो संकलन भएको छ । कार्यलयले कति जनाले चुत्रो र गुरजोगानो संकलन गर्न र ओसरपसार गर्न छोडपूर्जी लिए भन्ने संख्या भने आफुसँग नरहेको बतायो ।

छिफु कम्पनी प्रा.लिका व्यवस्थापक तथा सूचना अधिकारी हरिकुमार श्रेष्ठले भने प्रारम्भिक वातवरणीय परीक्षण प्रतिवेदन स्वीकृती नभइसकेको तर अन्तिम प्रक्रियामा रहेको स्विकार गरे । उनले थोरै परीक्षणका लागि सुरु गरौँ भनेर तयारी थाल्दा एक्कासी किसानहरुले चुत्रो र गुरजोगानो बढी परिणाममा ल्याएपछि वन कार्यालयले रोकेको बताए । उनका अनुसार अहिले पनि परीक्षणकै काम भइरहेको बताउँदै केही समयमा नै प्रारम्भिक वातवरणीय परीक्षण प्रतिवेदन स्वीकृत भएपछि कम्पनीले बढी परिणाममा काम गर्ने बताए ।

‘राज्यलाई अहिले संकलित जडीबुटी बापतको राजश्व तिरेका छौँ । किसानले निजी वनबाट ल्याएको भन्ने प्रमाणित इजाजत–पत्र देखाएपछि सामान खरिद गर्ने गरेका छौँ । आफैले बोकेर ल्याउने किसानहरुको चाहिँ मानवियताको नाताले इजाजत बिनै खरिद गर्देका छौँ ।’, उनले भने, ‘हामीले त वनको इजाजत–पत्र हेरेर खरिद गर्ने हो, ल्याउनेले सामुदायिक वनबाट ल्याउँछ कि, सरकारी वनबाट, त्यो चाहिँ थाहा हुने विषय भएन ।’

उनले वार्षिक ७ सय ३० मेट्रिकटन चुत्रो र गुरजोगानो संकलन गर्ने लक्ष्य रहेपनि अहिलेसम्म २० टनभन्दा बढीको काम हुन नसकेको बताउँदै उनले बहिर हल्ला गरेजस्तो वनै सक्यो भन्ने खालको स्थित नभएको तर्क सुनाए ।

कालीगण्डकी नदीको किनारमा ८ करोड लगानीमा साढे ४२ रोपनी जमिन भाडामा लिएर कम्पनी सञ्चालन भएको यस कम्पनीमा ३ चिनियाँ र ३१ नेपाली कार्यरत छन् । कम्पनीका व्यवस्थापक तथा सूचना अधिकारी श्रेष्ठले स्थानीय सरकारले आफुहरुलाई कुनै सहयोग नगरेको गुनासो गर्दै भने, ‘ठुलो लगानीका साथ विदेशी कम्पनी आफ्नो ठाउँमा आएको छ, तर हामीलाई दिनुपर्ने सेवासुविधा दिनु त परैको कुरा वास्ता समेत गरिएको छैन ।’

पैयुँ गाउँपालिकाले फागुन २७ मा चुत्रो र गुरजोगानो संकलन कार्य रोक्न सुचना नै जारी गरेको थियो । प्रमुख प्रशासकीय अधिकृत जिवन गैरेले गाउँपालिकाले अहिले पूर्ण रुपमा संकलन कार्यमा बन्देज लगाएको बताए । उनले भने, ‘पहिले वनहरुबाट चुत्रो र गुरजोगानो संकलन भए होलान्, अहिले त्यसतो गतिविधि भएको छैन ।’

फलेवास नगरपालिकाका नगरप्रमुख गंगाधर तिवारीले भने आफ्नो पालिकामा यस्ता गतिविधिहरु नभएको बताए । ‘हाम्रोमा चुत्रो र गुरजोगानो खोज्नेहरु छैनन् जस्तो लाग्छ ।’, उनले भने, ‘बरु विहादी र पैयुँ गाउँपालिका तिरबाट आउने दुईतीनवटा जिपमा चुत्रो र गुरजोगानो बोकेर ल्याएको मैले नै देखेको थिएँ ।’

आयुर्वेदमा चुत्रो र गुरजोगानोलाई महत्वपूर्ण जडीबुटी मानिन्छ । चुत्रो विशेषगरी जण्डिस र लिभर सम्बन्धी बिरामीलाई उपयोगी हुने प्रदेश आयुर्वेद चिकित्सालय फलेवासका सूचना अधिकारी चन्द्रप्रसाद आचार्यले बताए । त्यस्तै आँखा रोग र पाचन सम्बन्धी समस्यामा काम आउने आचार्यले बताए । उनका अनुसार गुरजोगानोले छालासम्बन्धी, पखाला लग्दा आमाको स्तनलाई शुद्ध बनाउन र शारीरिक दुखाइलाई कमगर्न उपयोगमा ल्याइन्छ ।

डिभिजन वन कार्यालय पर्वतले गैरकाष्ठ वन पैदावारअन्तर्गत पर्ने चुत्रो र गुरजोगानो पहाडी भेगमा सबैजसो ठाउँमा पाइने बताएको छ । कम्पनीले पर्वत, म्याग्दी, बाग्लुङ, कास्की, लमजुङ, अर्घाखाँची, गुल्मी स्याङ्जालगायतका जिल्लाहरुलाई केन्द्रित गरेर प्रशोधन उद्योग सञ्चालन गरेको बताएको छ । संकलित जडीबुटीको जरा, हाँगा र डाँठलाई प्रशोधन गरी धुलो बनाइएर औषधिको कच्चा पदार्थको रुपमा प्रयोग गर्न चिन पठाइने कम्पनीले बताएको छ ।

ekantipur.com

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!