सहकारीको ऋण तत्काल चुक्ता गर्न कुश्मा नगरपालिकाको ताकेता - News site from Nepal
सहकारीको ऋण तत्काल चुक्ता गर्न कुश्मा नगरपालिकाको ताकेता

पर्वत २१ जेठ : पर्वतको कुश्मा नगरपालिकाले आफ्नो कार्यक्षेत्रभित्र सञ्चालित सहकारी संस्थाबाट ऋण लिएर लामो समयदेखि साँवा तथा ब्याज नतिर्ने सदस्यलाई तत्काल ऋण चुक्ता गर्न ताकेता गरेको छ ।

नगरपालिकाले एक सूचना जारी गर्दै ऋण असुलीमा देखिएको समस्याका कारण बचतकर्ताको रकम फिर्ता गर्न समेत कठिनाइ उत्पन्न भएकोले तत्काल साँबा ब्याज भुक्रानी गर्न भनेको हो ।

नगरपालिकाका अनुसार कतिपय ऋणी सदस्यले पटक–पटक ताकेता गर्दा पनि ऋणको साँवा तथा ब्याज भुक्तानी नगरेको र भाखा नाघेका ऋणको संख्या बढ्दै गएको छ । यसले सहकारी संस्थाको वित्तीय अवस्था कमजोर हुनुका साथै बचतकर्ताको रकम फिर्ता गर्ने प्रक्रियामा समेत असर परेकोले यस्तो ताकेता गरिएको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत किरण पौडेलले जानकारी दिनुभयो ।

सूचनामा सहकारी ऐन, २०७४, कुश्मा नगरपालिकाको सहकारी ऐन, २०७५ तथा प्रचलित कानुनअनुसार ऋण लिएका सदस्यले तोकिएको समयमै ऋण चुक्ता गर्नु कानुनी तथा नैतिक दायित्व भएको उल्लेख गरिएको छ । ऋण सम्झौता अनुसारको दायित्व पूरा नगर्ने सदस्यविरुद्ध कानुनबमोजिम आवश्यक प्रक्रिया अगाडि बढाइने नगरपालिकाले चेतावनी समेत दिएको छ ।

नगरपालिकाले हालै जारी भएको सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३ ले सहकारी क्षेत्रको सुधार, बचतकर्ताको रकम सुरक्षासहित ऋण असुली प्रक्रियालाई थप व्यवस्थित र कडा बनाएको जनाएको छ । नयाँ कानुनी व्यवस्थाअनुसार ऋण नतिर्ने ऋणी र जमानी बस्ने व्यक्तिसमेत बैंक खाता, राहदानी तथा अन्य सरकारी सेवा–सुविधामा प्रतिबन्ध, सम्पत्ति रोक्का तथा लिलामीजस्ता कारबाहीको दायरामा पर्न सक्ने नगरपालिकाले जनाएको छ ।

यस परिस्थितिमा सहकारी संस्थाबाट ऋण लिएका सदस्यलाई सम्बन्धित संस्थामा सम्पर्क गरी कर्जा नियमित गर्न, नवीकरण गर्न वा किस्ता बुझाई ऋण व्यवस्थापन गर्न नगरपालिकाले आग्रह गरेको छ । अन्यथा प्रचलित कानुनबमोजिम प्रक्रिया अघि बढाइने स्पष्ट पारिएको छ ।

नगरपालिकाले सहकारी क्षेत्रको स्थायित्व, बचतकर्ताको हित संरक्षण तथा वित्तीय अनुशासन कायम गर्न सबै पक्षलाई जिम्मेवार बन्न समेत आग्रह गरेको छ । कुश्मा नगरपालिकामा झण्डै ८० वटा सहकारी संस्था सक्रिय रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!