पर्वत २८ कात्तिक – नेकपा एमाले जिल्ला कमिटि पर्वतले शुक्रवार कुश्मामा बृहद जनसभा तथा विशाल र्याली प्रदर्शन गरेको छ । कुश्माको बडागाउँवाट शुरु भएको र्यालीले बजार परिक्रमा गरी मैत्रीचोकमा पुगेर जनसभामा परिणत भएको थियो ।
जनसभालाई सम्वोधन गर्दै नेकपा एमालेका केन्द्रीय सदस्य तथा पुर्व मन्त्री पदम गिरीले जेनजी पुस्ताको भविष्य निर्माणका एमालेले काम गरिरहेको बताउनुभएको छ । आज कक्षा १२ पास गरेपछि रोजगारीका लागि विदेश भौतारिनुपर्ने जेनजी पुस्तालाई मुलुकमै रोजगारी सिर्जना गर्ने प्रयास एमालेले गरिरहेको बताउनुभयो ।
उद्योग कलकारखाना खोल्ने, विभिन्न खानीहरु उत्खनन् गर्ने र सडक, सिंचाई, स्वास्थ्य, शिक्षाको क्षेत्रमा आमुल परिवर्तन आउनेगरी एमाले र एमाले नेतृत्वको सरकारले काम गरेको बताउनुभयो । उहाँले जेनजी पुस्ताले राखेका मागहरु अत्यन्तै सकारात्मक रहेको भएपनि विभिन्न देशि विदेशी प्रतिकृयावादी शक्तिको घुसपैठका कारण आज मुलुक संकटमा फसेको बताउनुभयो । नेता गिरीले मलुकको भविष्य निर्माणको जिम्मेवारी लिएको नेकपा एमालेमाथि चौतर्फि रुपमा आक्रमण भैरहेको बताउँदै एमाले बिनाको नेपालको परिकल्पना नगर्न चुनौती दिनुभएको छ ।
मुलुकमा शुशासन कायम गर्ने, नातावाद कृपावादको अन्त्य गर्ने, भ्रष्टाचार न्यूनिकरण गर्ने जस्ता कामहरु एमाले आफैले अघि सारिरहेको बताउँदै मुलुक समृद्ध बनाउने एमालेको पहल देखेर अवसरवादीहरुले अबरोध सिर्जना गरेको बताउनुभयो ।
आज जेनजी पुस्ताको आन्दोलनको भरमा बनेको अहिलेको सरकार झन बढि भ्रष्ट र कुशासन सिर्जना गर्न अग्रसर बनेको बताउनुभयो । सरकारकै विभिन्न मन्त्रीहरुको एक पछि अर्का भ्रष्टाचार र गैरकानूनी कामको पर्दाफास हुन थालेको बताउँदै शुशिला कार्की नेतृत्वको सरकारले कुनैपनि काम गर्न नसक्ने ठोकुवा गर्नुभयो ।
आज मुलुकको पहिलो शक्ति नेकपा एमाले र एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई स्थानहद तोकेर यो सरकारले कस्तो खालको निर्वाचन गर्दैछ भन्ने कुरा स्पष्ट देखिएको बताउँदै एमाले बिनाको निर्वाचन गरेर देखाउन चुनौती दिनुभएको छ । नेकपा एमालेले मुलुकभरी गर्भ गर्न लायक काम गरेको बताउँदै तल्लो तहसम्म एमालेका कामको प्रचारप्रसार गर्न समेत कार्यकर्ताहरुलाई आग्रह गर्नुभएको छ ।

गिरीले एमालेका नेताहरुमाथि छानविन गर्ने र कारबाही गर्न यो सरकारलाई चुनौती दिनुभएको छ । हिम्मत छ भने एमालेका नेताहरुको एक एक गरी छानविन गरोस यो सरकारले उहाँले भन्नुभयो हामी डराउनेवाला छैनौ, किनकी हामीले सियो धागो समेत बद्मासी गरेका छैनौ । आज नागरिकहरु सुरिक्षत हुन नसकेको परिस्थितिमा कसरी यो सरकारले निर्वाचन गर्न सक्छ उहाँले भन्नुभयो अहिलेको सरकारको कुनै तुक छैन । संसद पुर्नस्थापना जुनसुकै हालतमा गर्नुपर्दछ ।
जनसभामा बोल्दै नेकपा एमालेका केन्द्रीय सदस्य मनोहर बि पौडेलले नेकपा एमालेनै यो मुलुकको भविष्य निर्माण गर्ने एकमात्र पार्टी रहेको बताउँनुभयो । उहाँले एमालेले मात्रै मुलुकको विकास र समृद्धि हासिल गर्न सक्ने दावी गर्नुभयो ।
नेकपा एमाले प्रदेश कमिटि उपसचिब मन्जु अधिकारीले एमालेमाथि भैसकेको आक्रमणकौ कडा प्रतिवाद गर्नुपर्ने बेला आएको बताउनुभयो । उहाँले राज्यका सार्वजनिक सम्पत्ती र ब्यक्तिका घरमा आगो झोस्नेहरुलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताउनुभयो ।
नेकपा एमाले जिल्ला कमिटि पर्वतका अध्यक्ष गोबिन्द पहाडीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष बिमल लामिछाने र संचालन सचिब सुवासचन्द्र पौडेलले गुर्नुभएको थियो । जनसभामा हजारौ नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।






