पर्वत- पर्वतको कुश्मा नगरपालिकामा क्षमता अभिबृद्धि तालिम शुरु भएको छ । दुई दिन सम्म सञ्चालन हुने तालिममा कुश्मा नगरपालिकाका वडाध्यक्ष, कार्यपालिका सदस्य, शाखा प्रमुख र वडासचिवको सहभागिता रहेको छ ।
तालिमको उद्घाटन गर्दै कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले तालिमले जनप्रतनिधि र कर्मचारीहरुको क्षमता बृद्धि गरि कार्यसम्पादनमा नयाँपन आउने अपेक्षा गर्नुभयो । उहाँले तालिम मार्फत नगरपालिकालाई थप उर्जाशिल बनाउन मद्धत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

तालिम उद्घाटन कार्यक्रममा बोल्दै उपप्रमुख स्वस्थानी रिजालले सिकाई कहिल्यै पनि पूणर् नहुने भन्दै यो तालिम मार्फत सीपमा पुनर्जागरण आउने बताउनुभयो । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको स्थानीय विकास प्रशिक्षण प्रतिस्ठानले तालिमको आयोजना गरेको हो ।
तालिमको सहजीकरण मन्त्रालयका सहसचिव रुद्रसिँह तामाङ, महानिर्देशक कुमार दहाल, निर्देशक जयकृष्ण श्रेष्ठ, सूचना अधिकृत बुद्धिप्रसाद सुबेदी र अधिकृत हरिकृष्ण कोईरालाले गर्नुभएको छ । तालिम उद्घाटन कार्यक्रमको स्वागत तथा सञ्चालन कुश्मा नगरपालिकाका प्रमुख प्रसासकीय अधिकृत कुमानसिँह गुरुङले गर्नुभएको थियो ।






