पर्वत – राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मुलुकको विकास र समृद्धिका लागि स्थायी सरकार बन्नुपर्ने बताउनुभयो ।
गुप्तेश्वर धार्मिक पर्यटन प्रवद्र्धन संस्था पर्वतको साधारणसभा उद्घाटन समारोहलाई सम्वोधन गर्दै अध्यक्ष तिमिल्सिनाले पाँच वर्षसम्म एउटै सरकारले काम गर्न सक्नेहो भने मात्र विकास निर्माणका कामले पुणर्ता पाउने बताउनुभयो । पटक पटक फेरिने सरकारका कारण मुलुकमा संचालित थुप्रै विकास निर्माणका कामहरु प्रभावित हुने गरेका छन् ।
अध्यक्ष तिमिल्सिनाले भन्नुभयो-‘एउटा सरकारले बजेट छुट्टाएका योजनामा अर्को सरकार आउने वित्तिकै बजेट कटौती हुन्छ’ जसले गर्दा त्यो आयोजना विचमै अलपत्र बन्छ ।’ यस्तै समस्याले नेपालको विकासमा असर परिरहेको उहाँको भनाई रहेको छ । उहाँले कुन दललाई बहुमत दिँदा मुलुकले निकास पाउँछ भनेर अब नागरिकहरु पनि सचेत हुनुपर्ने बेला आएको बताउनुभयो ।
अहिले बनेको सरकार पनि स्थायी प्रकृतिको नदेखिएको बताउँदै जवसम्म कुनैपनि दलको बहुमत वा दिर्घकालीन सरकार बन्दैन तवसम्म मुलुक पछाडि परिरहने बताउँदै जुनसुकै दलको नेतृत्व भएपनि विकासमा एकरुपता हुनुपर्ने उहाँको भनाई थियो ।
पर्वतमा विश्वकै ठुलो शिवपार्वतीको मुर्ति सहित, शिश महल, धार्मिक आश्रम निर्माणको योजना बनाएको गुप्तेश्वर पर्यटन प्रवद्र्धन संस्थाको प्रयासले यस क्षेत्रमा आउने धार्मिक पर्यटकका साथै अन्य आन्तरिक तथा बाह्य पर्यटकलाई सुविधा पुग्ने बताउनुभयो । उहाँले भारत र चीन जोड्ने सवैभन्दा छोटो कालीगण्डकी करिडोर सँगै जोडिएको यस स्थानको विकासका लागि राज्यले पनि विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो । उहाँले यस क्षेत्रको विकासका लागि आवश्यक पहल गर्ने प्रतिवद्धता जनाउनुभयो ।
पछिल्लो समय शाहसिक खेल तथा शाहसिक पर्यटकीय गन्तव्यको रुपमा विकास हुँदै गएको पर्वत सदरमुकाम कुश्माबजारमा विश्वकै अग्लो शिव पार्वतीको मुर्ति निर्माण भएपछि अझै धेरै पर्यटकको आवागमन बढ्ने तिमिल्सिनाले बताउनुभयो । यस क्षेत्रलाई मुक्तिनाथ र मानसरोवरसँग जोडेर विकास गर्नुपर्ने उहाँको भनाई रहेको छ ।
कार्यक्रममा प्रतिनिधि सभा सदस्य तथा एमाले केन्द्रीय सदस्य पदम गिरीले पर्यटनको दृष्टिकोणले पर्वत जिल्ला मुलुकभित्र मात्र नभई अन्तर्राष्ट्रिय रुपमा पनि परिचित हुँदै गएको बताउनुभयो । उहाँले यस क्षेत्रमा रहेको विश्वकै दोस्रो अग्लो बन्जी र दोस्रो लामो जीपलाईन लगायतका पर्यटकीय पूर्वाधारले पर्यटकहरु उल्लेख्य मात्रामा तान्न थालेको बताउँदै अझै नयाँ नयाँ संरचनाहरुको निर्माणमा जोड दिनुपर्ने बताउनुभयो । उहाँले यस क्षेत्रका विकासका लागि आफुले संघीय सरकारमार्फत निरन्तर पहल गर्ने बताउनुभयो ।
कार्यक्रममा संस्थाका प्रमुख संरक्षक पण्डित इश्वरकृष्णजी महाराज, कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशी, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटा, पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष गोपि अधिकारी, समाजसेवी लोकनाथ आचार्य लगायतले बोल्नुभएको थियो । संस्थाका अध्यक्ष पृथ्वीनारायण शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत उपाध्यक्ष केदारनाथ शर्मा, सचिब अच्युत तिवारीकमो संचालन र कोषाध्यक्ष कमलनाथ पोखरेलले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो ।






