पर्वत – पर्वतबाट प्रतिनिधीसभाका लागि गठबन्धनको तर्फका उम्मेदवार अर्जुनप्रसाद जोशीले जनताको मनमुटुमा बस्ने गरि काम गर्ने बताउनुभएको छ ।
असम्भव सपनाका पोका बाँडेर आफुले जनतालाई नझुक्काउने जोशीले बताउनुभयो । चुनाव जितेपछि प्रत्येक घरघरमा पुगेर गरेको बाचा पुरा गर्ने जोशीले प्रतिबद्धता व्यक्त गर्नुभयो । पर्वतको फलेवास नगरपालिका ३ शंकरपोखरीका रुग्दी, पुर्कोट, मैदान र पोखराचौरमा घरदैलो संगै भएको कोणसभामा बोल्दै जोशीले जनताको आँखामा छारो हालेर चुनाव जित्ने र चुनाव जितेपछि फर्किएर गाउँमा नजानेहरुलाई चिन्न पनि जोशीले आग्रह गर्नुभयो । आफुले पर्वतमा २०७० साल भन्दा अगाडी नै हरेक गाउँमा कच्चि सडक पुराएको, खानेपानी, विद्युत सेवा विस्तारमा भूमिका खेलेको जोशीले स्मरण गर्नुभयो ।
पूर्वाधारको विकास संगै सामाजिक तथा आर्थिक विकास पनि हुनुपर्नेमा उहाँले जोड दिनुभयो । रेल, पानीजहाज, घरघरमा ग्याँसको पाईप जस्ता सपना बाँडेर एमालेले वहुमत ल्याएपनि त्यो दिगो हुन नसकेर सरकार नै ढलेको जोशीले दाबी गर्नुभयो ।
कार्यक्रममा प्रदेशसभा ‘ख’ का उम्मेदवार ऋषिकेश तिवारीले गाउँमा पूर्वाधारको विकास संगै आर्थिक विकास गर्ने एजेण्डा लिएर चुनावी मैदानमा रहेको बताउनुभयो । पर्वतका सबै गाउँ कुनै न कुनै संभावना भएको गाउँ रहेको चर्चा गर्दै तिवारीले संभावनाको पहिचान गरेर त्यहि अनुसारका योजना बनाउने बताउनुभयो ।
आफुले अहिलेसम्म समाजसेवा र राजनीतिमा धेरै अनुभव बटुल्दै आएको र त्यसलाई व्यवहारमा उतार्न उम्मेदवार बनेको तिवारीले बताउनुभयो । मुलुक गठबन्धनले बचाउने र विकासका कामहरु धमाधम अगाडी बढाउने उहाँले बताउनुभयो । कार्यक्रममा नेकपा एकिकृत समाजबादीका केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष मोतीप्रसाद पौडेल, संविधानसभाका सदस्य गुणाखर बस्याल, महाधिवेशन प्रतिनिधि तथा चुनाव परिचालन समितिका उपसंयोजक राजेन्द्र तिवारी, नेकपा माओबादीका नेता प्रेमवहादुर राना, नेकपा एकिकृत समाजबादीका प्रदेश सदस्य बैकुण्ठ भुसाल, पर्वत जिल्ला सचिव विराज हमाल,नेपाली काँग्रेस फलेवास नगर समिति सभापति हिरामणी सापकोटा, नेकपा एकिकृत समाजबादीका फलेवास नगर अध्यक्ष कृष्णप्रसाद लम्साल, नेकपा माओबादी फलेवास नगर उपाध्यक्ष कमल भुसाल, काँग्रेस नेता टिकाराम गौँडेल, एकिकृत समाजबादी शंकरपोखरीका अध्यक्ष नारायण भुसाल, जिल्ला सदस्य खेम सुनार, नेपाल भूपू सैनिक संघका जिल्ला अध्यक्ष खड्कबहादुर कार्कि, अनेमसंघका धनकुमारी सुबेदी लगायतले बोल्नुभएको थियो । कार्यक्रम चुनावप्रचारप्रसार समिति शंकरपोखरीका संयोजक गिरीजाप्रसाद तिवारीको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन नेपाली काँग्रेस फलेवास ३ का सचिव शिवप्रसाद तिवारीको सञ्चालनमा सम्पन्न भएको थियो ।
यसैबिच प्रदेशसभा ‘क’ का गठबन्धनका साझा उम्मेदवार सुदिप कुँवरको टोलीले मोदी गाउँपालिकाका विभिन्न वडामा घरदैलो र भेटघाट गर्ने शिलशिलामा आज मोदी गाउँपालिका ४ क्याङमा घरदैलो गरेको छ ।
क्याङको हलहलेमा पुग्नुभएका उम्मेदवार कुँवर सहितका नेतालाई स्थानीयबासिन्दाले स्वागत गर्दै गठबन्धनलाई अत्यधिक मत सहित विजयी गराउने बताउनुभयो । कुँवरले स्थानीय संग घरघरै पुगेर भेट गरि त्यहाँका समस्याका बारेमा छलफल गर्नुभएको छ । प्रतिनिधीसभा र प्रदेशसभाका उम्मेदवारहरु संग देशको संविधान र व्यवस्था जोगाउने तथा जिल्लाको विकास गर्ने एजेण्डा रहेको भन्दै कुँवरले मतदान गर्न आव्हान गर्नुभयो ।
क्याङका बासिन्दाका समस्याका बारेमा आफु अवगत रहेको उल्लेख गर्दै उम्म्ेदवार कुँवरले जनता संग गरेका बाचा शिरोपर गरेर काम गर्ने प्रतिबद्धता जनाउनुभयो । स्थानीयले गाउँमा सहज सडकको सुविधा, खानेपानीको उचित व्यवस्थापन, आर्थिक उपार्जनका कार्यक्रममा जोड दिन माग गरेका थिए । नेपाली काँग्रेस, नेकपा माओबादी, नेकपा एकिकृत समाजबादी लगायतका दलका नेताहरु पनि कार्यक्रममा सहभागी भएर यूवा नेता कुँवरलाई प्रदेशसभामा र प्रतिनिधीसभामा नेता अर्जुनप्रसाद जोशीलाई जिताउन आग्रह गरेका थिए ।






