पर्वत- राष्ट्रिय प्रजातन्त्र पार्टी पर्वतकाका युवा नेता राजन गुरुङ गण्डकी प्रदेश सभाको समानुपातिक तर्फको बन्द सुचिमा पर्नुभएको छ । राप्रपाको प्रदेश कार्यसमितिले उहाँलाई समानुपातिक तर्फ बन्द सूचिमा समावेश गरेको हो । उहाँ आदीवासी जनजाती कोटाबाट बन्द सूचिमा पर्नुभएको हो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीमा स्थापना कालदेखिनै सक्रिय युवा नेता गुरुङ व्यावसायिक, सामाजिक तथा धार्मिक क्षेत्रमा समेत सक्रिय रहँदै आउनुभएको छ । गुरुङ विगत १५ वर्षदेखि निरन्तर रुपमा पर्वत उद्योग बाणिज्य संघको नेतृत्वमा रहँदै आउनुभएको छ भने अहिले सचिब रहनुभएको छ । त्यसैगरी राप्रपाको प्रदेश क को सचिब समेत रहनुभएका गुरुङ आदीवासी जनजाती महासंघको सल्लाहाकार समेत रहनुभएको छ । त्यसैगरी कुश्मा कालीका मन्दिरका सचिब तथा गुप्तेश्वर गुफाको आजीवन सदस्य समेत रहनुभएका गुरुङ धर्म संस्कृतिको संरक्षणमा समेत सक्रिय रहँदै आउनुभएको छ ।
राप्रपामा निरन्तर लागेर पार्टीको हितमा गरेको योगदानको कदर भएको भन्दै उहाँले खुसि व्यक्त गर्नुभएको छ । उहाँले आफु प्रदेश सभामा गएपछि हिन्दु धर्मको संरक्षणमा सक्रिय भएर लाग्ने बताउनुभएको छ । राप्रपा मुलुकको वैकल्पिक शक्तिको रुपमा उदाउँदै गएको बताउँदै गुरुङले मुलुकमा धर्मसंस्कृतिको संरक्षण र वेतिथि र भ्रष्टाचार विरुद्ध आवाज उठाउन राप्रपामा गोलवन्द हुन समेत आग्रह गर्नुभएको छ । राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले बरु नष्ट हुन्छौ, भ्रष्ट हुँदैनौ भन्ने भनाईलाई आत्मसाथ गर्दै आफु वेथिति र अनियमितता तथा भ्रष्टाचारको विरुद्धमा सक्रिय रहदै आएको पनि उहाँको भनाई छ ।






