पर्वत – नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा पूर्व मन्त्री महेश बस्नेतले नेपाली काँग्रेस कमजोर फिरादी बनेको बताउनुभएको छ ।
दक्षिण पर्वतको विहादी गाउँपालिकामा राष्ट्रिय युवा संघको प्रथम गाउँपालिका अधिवेशनको शनिवार उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको छ । जसरी अदालतमा कमजोर फिरादीले धेरै साक्षी राख्छ त्यस्तै नेपाली काँग्रेस पनि एक्लै निर्वाचनमा जान डराएर गठवन्धन बनाएर जान थालेको आरोप लगाउनुभयो । उहाँले नेकपा एमालेको मुख्य प्रतिस्पर्धि पार्टी नेपाली काँग्रेसनै रहेको बताउँदै एमाले काँग्रेससँग स्वच्छ प्रतिस्पर्धा गर्न चाहेको नेता बस्नेतले बताउनुभयो । ‘जो कमजोर र झुठा विवरण जनतालाई दिन्छ उसेले धेरै साक्षी राख्नु पर्छ, तर नेकपा एमाले सहि र सत्य पार्टी भएकोले कोहि कसैको साथ नलिई एक्लै अगाडि बढ्न सक्छ बस्नेतले भन्नुभयो ।’ काँग्रेसले कम्युनिष्ट भनाउँदा दलहरुसँग अपवित्र सहकार्य गरेर एमालेलाई परास्त गर्न खोजेपनि कुनै उपाय नलाग्ने उहाँले बताउनुभयो ।
नेता बस्नेतले प्रचण्ड र माधव नेपाललाई जुन थालमा खायो त्यहि थालमा फोहोर गर्ने व्यक्तिको संज्ञा समेत दिनुभएको छ । एमालेकै साथ र आड लगाएर ल्याएका धेरै सिट देखाएर ब्लाकमेलिङ गरेको बताउँदै अबको निर्वाचनपछि उनिहरुका सपना चकनाचुर हुने दावी समेत नेता बस्नेतले गर्नुभयो । एमालेकै कारण प्रचण्डका ५३ सिट आए, माधव नेपालले पार्टीलाई टुक्राएर लगेर अहिले काँग्रेससँग टाँसिएर फुर्ति लगाउँदै हिडेको बताउँदै खोलो तरेर लौरो बिर्सनेहरुलाई फेरी अर्को खोला आउँछ भन्ने हेक्का राख्न समेत चुनौती दिनुभएको छ ।
मदन भण्डारीको पालादेखि केपी शर्मा ओलीको पालासम्म नेकपा एमालेले मुलुकमा गरेका जनमुखि कामवाट गठवन्धन अत्तालिएको बताउँदै आगामी निर्वाचनवाट छिन्नभिन्न हुने समेत उहाँको दावी छ । नेता बस्नेतले अबको स्थानीय तहको निर्वाचनमा अघिल्लो पटक भन्दा पनि बढि तहमा एमालेले बिजयी हासिल गर्ने भन्दै त्यसका लागि तल्लो तहसम्म पुगेर पार्टीको प्रचार गर्न कार्यकर्तालाई निर्देशन समेत दिनुभयो ।
कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य कल्पना चापागाई जिल्ला अध्यक्ष राजु पौडेल लगायतले सम्वोधन गर्नुभएको थियो ।
पोलिटव्यूरो सदस्य बस्नेतले आजै पर्वतको फलेवास नगरपालिकामा राष्ट्रिय युवा संघको नगर अधिवेशन समेत उद्घाटन गर्नुभएको थियो ।






