पर्वत- पर्वत जिल्लामा प्रतिनिधीसभा तथा प्रदेशसभाको निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ ।
पर्वतमा कुल खसेको ६६ हजार २ सय ७३ मत मध्ये विहान ६ बजे सम्म ६३ हजार भन्दा बढि मत गणना गरिएको छ । जस अनुसार एमालेका उम्मेदवार पदम गिरीले १ हजार ९ सय ९ मतले अग्रता लिनुभएको छ । उहाँलाई गठबन्धन तर्फका कांग्रेसका उम्मेदवार अर्जुनप्रसाद जोशीलाई पछ्याईरहनुभएको छ । गिरीले २९ हजार ३८ मत पाउँदा जोशीले २७ हजार १ सय २९ मत प्राप्त गरेका छन् । आज दिउँसो १० बजेसम्म सवै मतपरिणाम आईसक्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयका प्रवक्ता राजु ढुंगानाले जानकारी दिनुभयो ।
यता प्रदेश सभातर्फ निर्वाचन क्षेत्र नं. २ मा नेकपा एमालेका उम्मेदवार मित्रलाल बस्यालले गणना गर्न बाँकी रहेका मत भन्दा दोब्बर मतले अग्रता लिनुभएको छ । बस्यालले कुल खसेका २८ हजार ३ सय १६ मत मध्ये १३ हजार ७ सय ४८ मत प्राप्त गर्नुभएको छ भने गठबन्धन तर्फका नेपाली कांग्रेसका ऋषिकेश तिवारीले ११ हजार ८ सय ५४ मत प्राप्त गर्नुभएको छ ।
अब ९ सय २९ मत मात्रै गणना गर्न बाँकी रहँदा बस्याल १ हजार ८ सय ९४ को फराकिलो मतान्तरले अगाडि हुनुहुन्छ । प्रदेश सभा क्षेत्र नं. १ तर्फ पनि नेकपा एमालेका उम्मेदवार भक्त कुँवरकै पल्ला भारी रहेको छ । जम्मा खसेको ३७ हजार ९ सय १० मतमा एमालेका कुँवरले १५ हजार ५ सय ३४ मत प्राप्त गर्नुभएको छ भने गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार सुदिप कुँवरले १३ हजार ४ सय ६० मत प्राप्त गर्नुभएको छ । २ हजार ७ सय ७० मत गणना गर्न बाँकी रहेका छन् भने एमालेका कुँवरले २ हजार ७४ मतान्तरले अग्रता लिनुभएको छ ।






