पर्वत – पर्वतमा प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनको मतगणना जारी छ ।
सोमवार साँझदेखि शुरु भएको मतगणनामा अहिलेसम्म झण्डै १८ हजार मत गणना भएको छ । शुरुवातदेखि सार्वजनिक भएका मतपरिणामहरु अनुसार पर्वतमा प्रतिनिधि सभाका उम्मेदवार अर्जुनप्रसाद जोशी र एमालेका पदम गिरीबीच कडा टक्कर देखिएको छ । शुरुवातदेखिनै लगातार अग्रता लिएका जोशीले हरेक परिणाममा दुई सय देखि पाँच सय सम्मको अग्रता लिईरहेका छन् । हरेक पटक सार्वजनिक भएको परिणाममा उनले आफ्नो एकनाशको अग्रतालाई निरन्तरण दिएका छन् ।
अहिलेसम्म एमालेक गिरीले अग्रता लिन सकेका छ्रैनन् । अहिलेसम्म गठवन्धनकै पकड भएका जिल्लाको जलजला गाउँपालका र पैंयु गाउँपालिकाको मतगणना सकिएको छ भने दुवै पक्षको बराबरी जस्तै मानिएको विहादी गाउँपालिका र फलेवास नगरपालिकामा पनि दुवै उम्मेदवारको आधा/आधाको आँकलन गरिएको छ । अहिले कुश्मा नगरपालिकाको गणना जारी छ । त्यसैगरी एमालेको पकड मानिएका महाशिला र मोदी गाउँपालिकाको गणना गर्न बाकी छ । एकैनाशको मतान्तरलाई एमालेका पदम गिरीले पछ्याईरहनुभएको छ । दुवै पक्षले आ-आफ्नो जीत हुने दावी गरेका छन् ।
अहिलेसम्म झण्डै १८ हजार मत गणना हुँदा ५ सय ५२ मतले काँग्रेका उम्मेदवार जोशी अगाडि रहनुभएको छ भने एमालेका पदम गिरीले पछ्याईरहनुभएको छ । जोशीले ८ हजार ८ सय २३ ल्याउँदा पदम गिरीदे ८ हजार २ सय ७२ ल्याउनुभएको छ भने तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीका जालबहादुर पुनले १ हजार ५ सय २७ मत पाउनुभएको छ । मतपरिणामलाई लिएर भैरहेका विभिन्न आँकलनमा पनि कसेको जित हुन्छ भनेर ठोकुवा गर्न सकिएको छैन । गिरी र जोशी मध्य जुनले जितेपनि १ हजार देखि २ हजार भित्रको हाराहारीमा जित्ने आँकलन गरिएको छ ।
यता प्रदेश सभातर्फ पनि दुवै क्षेत्रमा एमालेले जित्ने अड्कलवाजी हुन थालेका छन् । प्रदेश सभा ख मा एमालेका उम्मेदवार मित्रलाल बस्यालले १ हजार ८ सय १८ मतले अग्रता कायम गर्नुभएको छ । बस्यालले ८ हजार ६७ मत प्राप्त गर्दा निकटतम प्रतिद्धन्द्धी नेपाली काँग्रेसका ऋषिकेश तिवारीले ६ हजार २ सय ४९ मत प्राप्त गर्नुभएको छ । अब फलेवास नगरपालिकाको मत मात्र गणना हुन बाँकी रहेको छ ।
त्यसैगरी प्रदेश सभा क तर्फ एमालेका उम्मेदवार भक्त कुँवरले अग्रता लिनुभएको छ । एमालेका उम्मेदवार भक्त कुँवरले ८ हजार ६ सय २० मत ल्याउँदा गठवन्धनवाट माओवादी केन्द्रका उम्मेदवार सुदिप कुँवरले ८ हजार ५ सय ३३ मत प्राप्त गर्नुभएको छ । पर्वतमा ६६ हजार २ सय ७३ मत खसेको थियो ।






