आचासंहिता उल्लंघन गर्ने फलेवासका शिक्षकसँग स्पष्टिकरण माग - News site from Nepal

पर्वत- निर्वाचन आचारसंहिता विपरित सामाजिक संजालमा सामग्री पोष्ट तथा सेयर गरेका एक शिक्षकसँग जिल्ला निर्वाचन कार्यालयले पर्वतले २४ घण्टा भित्र स्पष्टिकरण पेश गर्न निर्देशन दिएको छ ।
प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ को सन्दर्भमा निर्वाचन आचारसंहिता लागू भएपछि पर्वतको फलेवास नगरपालिका वडा न. ४ स्थित वाल प्राथमिक विद्यालयका प्रधानाध्यापक छविलाल तिवारीसँग स्पष्टिकरण माग गरेको छ ।
आचारसंहिता विपरित सामाजिक संजालमा राजनीतिक दल तथा उम्मेदवारको पक्ष विपक्षमा प्रचार प्रसार सामग्री पोष्ट तथा सेयर गरी भोट मागेको पाईएपछि उनिसँग स्पष्टिकरण माग गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मुख्य निर्वाचन अधिकृत आनन्द श्रेष्ठको संयोजकत्वमा बसेको जिल्ला आचारसंहिता अनुगमन समितिको आजको बैठकको निणर्य बमोजिम शिक्षक तिवारीलाई निर्वाचन आचारसंहिता, २०७९ को दफा ४६ तथा निर्वाचन आयोग ऐनको दफा ३ अनुसार कारवाही किन गर्न नपर्ने हो, २४ घण्टा भित्र जिल्ला निर्वाचन कार्यालय पर्वत मार्फत जिल्ला आचारसंहिता अनुगमन समिति समक्ष स्वयं आफै उपस्थित भई स्पष्टिकरण पेश गर्न भनिएको छ ।
तोकिएको समयमा स्पष्टिकरण पेश नगरेमा कारवाही प्रकृया अगाडी बढाइने चेतावनी समेत मुख्य निर्वाचन अधिकृत आनन्द श्रेष्ठले जानकारी दिनुभयो ।
साथै पर्वतमा आचारसंहिता विपरित हुनेगरी संघ, प्रदेश तथा स्थानीय तह अन्तर्गतका निकायहरु र सोमा कार्यरत कर्मचारी तथा शिक्षकले कुनैपनि राजनीतिक दल वा उम्मेदवारको पक्ष विपक्षमा प्रचार प्रसार गर्ने, मत माग्ने जस्ता कार्यहरू नगर्नुहुन तथा सामाजिक संजालहरूमा कुनैपनि दल तथा उम्मेदवारको पक्ष विपक्षमा प्रचारप्रसार सामग्री शेयर, कमेन्ट नगर्नु नगराउनुहुन समेत आग्रह गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!