पर्वत- आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनको मिति नजिकिदै गर्दा पर्वतका राजनीतिक दलहरु सक्रिय रुपमा प्रचार प्रसारमा जुटेका छन् ।

प्रचार प्रसार गर्न अब २ दिनमात्र बाँकी रहेका बेला दलहरु बढि भन्दा बढि वडाहरुमा पुगिरहेका छन् । नेकपा एमाले पर्वतको चुनावी सभा मंगलवार कुश्मा नगरपालिका १०, पिपलटारी, वडा नं. १२ ठुलीपोखरी र वडा नं. १३ खौलालाकुरीमा सम्पन्न भएको छ । एमालेवाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार पदम गिरी र प्रदेश सभा क का उम्मेदवार भक्त कुँवर सहित केन्द्र, प्रदेश, जिल्ला र पालिका स्तरका नेताहरुले तीनवटै वडाका विभिन्न टोल र बस्तीमा पुगेर टोलसभा तथा घरदैलो गर्नुभएको छ ।
सो अवसरमा बोल्दै प्रतिनिधि सभा सदस्यका उम्मेदवार पदम गिरीले निर्वाचनपछि अझै बढि विकासको बाढी लिएर आउने बताउनुभयो । विगत पाँच वर्षमा जिल्लाको समग्र सडक, खानेपानी, स्वास्थ्य, शिक्षा लगायतका पूर्वाधारमा उल्लेखनिय प्रगति भएको बताउँदै निर्वाचनपछि आउने एमाले सरकारले अझै धेरै विकास गर्ने बताउनुभयो ।
नेकपा एमाले नै यो मुलुकको विकास गर्ने पार्टी हो भन्ने इतिहासले देखाईसकेके बताउँदै पर्वतको विकास निर्माणलाई गति दिन पुन नेकपा एमालेले जित्नुपर्नेमा जोड दिनुभयो । पर्वत जिल्लालाई समृद्ध बनाउने योजना एमालेसँग मात्र भएको उहाँको भनाई रहेके छ । उहाँले अघिल्लो कार्यकालमा साईकलचोक ठुलीपोखरी सडक खण्डको डाँडाघर सम्म कालोपत्रे गर्नसफल भएको र अर्जिकोट तर्फको अर्को सडक समेत कालोपत्रेको चरणमा रहेको बताउँदै साईकलचोकदेखि पञ्चासे भन्ज्याङ सम्मको सडक आफ्नै कार्यकालमा कालोपत्रे गर्ने प्रतिवद्धता जनाउनुभयो ।

कार्यक्रममा प्रदेश सभा क का उम्मेदवार भक्त कुँवरले यो मुलुकको विकास र समृद्धि एमालेबिना सम्भव नभएको बताउनुभयो । उहाँले नागरिकका सानादेखि ठुला आवश्यकता पुरा गर्न पनि एमालेकै नेतृत्वमा मुलुक अगाडि बढ्नुपर्ने बताउँदै मंसिर ४ गते सुर्य चिन्हमा मतदान गरी समृद्धिमा एकतावद्ध हुन आग्रह गर्नुभयो । उहाँले आफुले जितेर गैसकेपछि नागरिकहरुका हरेक आवश्यकताहरु एक एक गरी पुरा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य कल्पना चापागाई, प्रदेश कमिटि सचिबालय सदस्य मेघनाथ सुवेदी, मनोहर वि पौडेल, जिल्ला अध्यक्ष राजु पौडेल, समानुपातीक उम्मेदवार कमला पन्त लगायतले सम्वोधन गर्नुभएको थियो ।






