पर्वत- आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनको मिति नजिकिदै गर्दा पर्वतका राजनीतिक दलहरु सक्रिय रुपमा प्रचार प्रसारमा जुटेका छन् । नेकपा एमाले पर्वतको चुनावी सभा शनिवार फलेवास नगरपालिका वडा नं. ९ भँगरा र वडा नं. ७ लिमिठाना र वडा नं. ९ ठानामौलामा सम्पन्न भएको छ । एमालेवाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार पदम गिरी र प्रदेश सभा ख का उम्मेदवार मित्रलाल बस्याल सहित केन्द्र, प्रदेश, जिल्ला र नगरस्तरका नेताहरुले भँगरा, ठानामौला र लिमिठानाका विभिन्न टोल र बस्तीमा पुगेर टोलसभा तथा घरदैलो गर्नुभएको छ ।
सो अवसरमा बोल्दै प्रतिनिधि सभा सदस्यका उम्मेदवार पदम गिरीले पर्वत जिल्लालाई समृद्ध बनाउने योजना एमालेसँग मात्र भएको बताउनुभयो । उहाँले नेकपा एमालेले विगतमा सरकार चलाउँदा होस् या प्रदेश र स्थानीय सरकारमा रहँदा पनि जिल्लाको समग्र विकासमा धेरै काम अघि बढाएको बताउँदै गठवन्धन दलसँग ठोस एजेण्डा समेत नभएको बताउनुभयो । उहाँले आफुले विगत पाँच वर्षको कार्यालयमा जिल्लाको भौतिक पूर्वाधार विकासको क्षेत्रमा धेरै काम अघि बढाएको बताउँदै केहि अधुरा कामहरु अब जितेर गैसकेपछि पुरा गर्ने बताउनुभयो ।
कार्यक्रममा प्रदेश सभा ख का उम्मेदवार मित्रलाल बस्यालले नागरिकका थुपै्र आवश्यकताहरु पुरा गर्न बाँकी रहेको बताउँदै चुनावपछि एमालेको नेतृत्वमा बन्ने सरकारले ती सवै पुरा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले आगामी निर्वाचनमा सुर्य चिन्हमा मतदान गरी जिल्लाको भविष्य निर्माणमा योगदान गर्न आव्हान गर्नुभयो । चुनावी अभियानमा केन्द्रीय सदस्य कल्पना चापागाई, जिल्ला अध्यक्ष राजु पौडेल, गण्डकी प्रदेश सचिबालय सदस्य मेघनाथ सुवेदी, जिल्ला उपाध्यक्ष पदमपाणी शर्मा लगायतका नेताहरुको उपस्थिति रहेको छ ।
यसैगरी नेकपा एमाले प्रदेश सभा क का उम्मेदवार भक्त कुँवरको चुनावी कार्यक्रम जलजला गाउँपालिका वडा नं. ९ बनौमा सम्पन्न भएके छ । बनौमा आयोजित चुनावी सभामा बोल्दै उम्मेदवार कुँवरले नेकपा एमालेको सरकारले वितग पाँच वर्षमा बनौसम्मको सडक कालोपत्रे गरिसकेको बताउँदै अव यस क्षेत्रको खानेपानीको समस्यामा समधान गर्न पहल गर्ने बताउनुभयो । साथै उहाँले बनौ क्षेत्रको समग्र विकासका लागि कृषि, लघउद्यम, फलफुल उत्पादन लगायत पर्यटकीय क्षेत्रको विकासका लागि आफु जितेर गैसकेपछि विशेष अभियाननै संचालन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
यता सत्ता गठवन्धनका उम्मेदवार अर्जुनप्रसाद जोशी र सुदिप कुँवरको चुनावी कार्यक्रम महाशिलाको भोक्सिङमा सम्पन्न भएको छ । दुवै वडाका विभिन्न बस्तीमा पुगेर उहाँहरुले घरदैलो र कोणसभा गर्नुभएको थियो । संविधानको रक्षा र गठवन्धनलाई निरन्तरता दिनका लागि दुवै उम्मेदवारले मत माग्नुभएको थियो ।






