पर्वत-काठमाडौं सम्पर्क मञ्चको चुनाव केन्द्रित छलफल -६ हजारभन्दा धेरै मतान्तरले चुनाव जित्छौं: उम्मेदवार गिरी - News site from Nepal
काठमाडौं – नेकपा (एमाले), पर्वत-काठमाडौं सम्पर्क मञ्चको आयोजनामा चुनाव केन्द्रित छलफल सम्पन्न भएको छ।
काठमाडौंको बालाजुस्थित गोर्खा प्यालेसमा आयोजना भएको कार्यक्रमलाई एमालेबाट पर्वतको प्रतिनिधि सभा उम्मेदवार रहनुभएका केन्द्रीय सदस्य पदम गिरी भर्चुअल माध्यमबाट सम्बोधन गर्नुभएको थियो।
पर्वतबाट काठमाडौंमा बसोबास गर्ने पर्वत-काठमाडौं सम्पर्क मञ्चमा आबद्ध, पार्टी शुभेच्छुक तथा समर्थक सहभागी कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार गिरीले पर्वतमा ६ हजारभन्दा धेरै मतान्तरले चुनाव जित्ने दाबी गर्नुभयो।
चुनावी अभियानका क्रममा जिल्लामै घरदैलो तथा भेटघाटमा रहनुभएका गिरीले पर्वतका मतदातामा एमाले र यसको नेतृत्वले मात्रै देश र जनताका लागि काम गर्ने विश्वास रहेको जानकारी गराउनुभयो।
`हामीले २०७४ मा चुनाव जितेपछि गरेका काम, एमालेले अगाडि सारेको योजनाका कारण पर्वतका मतदाताले एमालेका उम्मेदवारलाई फेरि चुनाव जिताउनुपर्छ भन्निरहनु भएको छ,´ उहाँले भन्नुभयो, `त्यसकारण पर्वतबाट प्रतिनिधिसभा तथा प्रदेश सभाका दुबै क्षेत्रबाट एमाले सानदार मतका साथ विजयी हुन्छ।´
पर्वतमा एमालेबाट प्रतिनिधि सभामा गिरी, प्रदेश सभा १ मा भक्त कुँवर तथा प्रदेश सभा २ मा मित्रलाल बस्याल उम्मेदवार हुनुहुन्छ।
कार्यक्रम उम्मेदवार गिरीले काठमाडौं तथा देशका विभिन्न स्थान र अनुकूल मिलेसम्म विदेशमा रहनुहुने मतदातालाई मंसिर ४ गते पर्वत आएर आफ्नो मताधिकार प्रयोग गरी पर्वतलाई समृद्ध बनाउन सक्षम नेतृत्वलाई मतदान गर्न आह्वान गर्नुभयो।
उहाँले काठमाडौंबाट आउने मतदातालाई जिल्लासम्म ल्याउन आवश्यक सहजिकरण तथा समन्वय गर्न सम्पर्क मञ्चलाई आग्रह गर्नुभयो।
कार्यक्रममा बोल्दै सम्पर्क समन्वय कमिटी संयोजक श्याम बस्नेतले चुनावमा एमालेका उम्मेदवारलाई विजयी गराउन दिनरात खट्न आग्रह गर्नुभयो। उहाँले काठमाडौं रहनुभएका जिल्लाका मतदानलाई जिल्ला जान आह्वान गर्नुभयो।
मञ्चका अध्यक्ष शिव पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रम उपाध्यक्ष भरत पौडेलले सञ्चालन गर्नुभएको थियो। सो क्रममा बोल्दै अध्यक्ष पौडेलले सूर्यध्वजाबाहक उम्मेदवारलाई विजयी गराउन सम्पर्क मञ्च दिनरात नभनी जिल्ला र काठमाडौं खटिरहेको जानकारी गराउनुभयो।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!